लक्ष्य कामी
सिमकोट । खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयमा चार महिनादेखि खाने पानीको अभाव भएको छ । गत फागुन पहिलो सातादेखि सोही गाउँपालिका–५ को बागेश्वरी आधारभूत विद्यालय ताक्लामा खाने पानीको अभाव भएपछि विद्यार्थी शुद्ध खानेपानीबाट बञ्चित भएका छन् ।
विद्यालयमा खाने पानीको अभाव भएपछि सोही विद्यालयका विद्यार्थी आफैले पानीको नहरमा केही समस्या भएको होकी भन्दै मर्मत गरे पनि पानी उपलव्ध हुन नसकेको छात्रा अस्मिता सुनारले गुनासो गरिन् । उनले पानी नआएको चार महिना भईसक्यो तर त्यस तर्फ कसैको ध्यान नगएको बताइन् ।
खाने पानी उपलव्ध गर्नका लागि जेठ ९ र १० गते १५ जना विद्यार्थीले काम गरे पनि धारामा पानी आएन अर्का छात्र शुरेस बुमीले गुनासो गरे । बुमीका अनुसार विद्यालयका धारामा पानी आउन छोडेदेखि विद्यालयमा पढ्न छोडेर खोलाको धमिलो पानी ल्याउनका लागि आधा घण्टा समय खर्च गर्नु पर्ने बाध्यता छ । त्यस वेलासम्म पढाई समेत छुट्ने गरेको विद्यार्थीहहरूले गुनासो गरेका छन् ।
उक्त खोलाको धमिलो पानीले स्वास्थ्यमा समेत समस्या गर्ने गरेको छात्र हिक्मत सार्कीले बताए । गाउँ र विद्यालयको एउटै खानेपानी लाइन भएकोले गाउँका स्थानीयले पटक पटक पाइपलाइन काट्ने गरेपछि विद्यार्थीहरुलाई पानीको समस्या भएको सोही विद्यालयका प्रधानाध्यापक गणेश शाहीले जानकारी दिए ।
प्रधानाध्यापक शाहीका अनुसार पानी अभावमा विद्यालयका विद्यार्थी र शिक्षकलाई सौच गर्न समेत समस्या हुने गरेको छ । यतिखेर पानी नभएपछि बालबालिकाहरूले विद्यालय परिसर वरिपरी दिसापिसा गरेर विद्यालयनै दुरगन्धित बन्दै गएको छ । हाल सोही विद्यालयका १ सय ६ जना विद्यार्थी अध्यानरत छन । ति सवै खानेपानीबाट बञ्चित हुनु परेको छ ।
विद्यार्थीले खानेपानी ल्याउनलाई नहर खनेर प्रयास गरे पनि पानी नआएपछि आफुले जलस्रोत नामक संस्थालाई खानेपानीको पहल गरेको शाहीको भनाई छ । तर हालसम्म गाउँपालिकालाई भने उक्त कुरा जानकारी नगराएको उनले बताए । गत वर्षमा यही समयमा खार्पुनाथ गाउँपालिकाले खाने पानी निर्माण गरेको थियो ।