काठमाडौं । अझै चार दिनसम्म तराईमा 'लू' जारी रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार तातो दिन तथा लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै देशका तराई भूभागहरूमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने जानकारी दिएको हो।
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने देखिनुका साथै बागमती प्रदेशको तराईका भूभाग र मधेस प्रदेशको पश्चिमी भूभागमा थोरै तापक्रम घटे तापनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ।
मधेस प्रदेशको पूर्वी भूभागमा तापक्रम केही धट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना रहनुका साथै देशको पश्चिमी पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको हुनाले ती भूभागहरूमा पनि गर्मीको सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ।