काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठकको कामकारबाही अवरुद्ध गरेको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार साढे १२ बजेसम्मका लागि स्थगित भएको छ ।
एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको भन्दै राजीनामा दिनुपर्ने बताए । 'प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । आज फेरि पनि हामी कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौं बाध्य छौं । स्वाधिन राष्ट्रलाई आँच आउने कुरा हुन्छ भने सह्य हुँदैन,' श्रेष्ठले भने ।
श्रेष्ठले प्रधानमन्त्री कहाँबाट परिचालित छन् भनेर पनि प्रश्न गरेका थिए । 'देशको हितअनुकूल हुने गरी बोल्नुपर्नेमा हाम्रो देशको प्रधानमन्त्री कसबाट परिचालित हुनुहुन्छ ?,उनले प्रश्न गरे । 'प्रधानमन्त्री दाहालले पटकपटक भारतको निर्देशन, सल्लाह, सुझाव चाहिन्छु भनिरहेको पनि सांसद श्रेष्ठको दाबी थियो ।
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रिय सभाको कामकारबाही अगाडि बढाउन नहुने सांसद श्रेष्ठको भनाइ थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने बजेटमाथिको छलफल अगाडि बढाउने वातावरण बनाउन आग्रह गरेका छन् । उनले संवादबाट सबै विषय समाधान गर्न तथा प्रधानमन्त्रीले संसद्मा आएर आफ्ना कुरा राख्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शिर्षकहरूमध्ये अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजनमा छलफल गर्ने कार्यसूची थियो । बैठकको सुरुमै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० सभामा पेस गर्ने कार्यसूची रहेको थियो ।
नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभामा बुधबारदेखि राजीनामा मागेको हो । राष्ट्रिय सभाको बुधबारको बैठक पनि एमालेले अवरुद्ध गरेको थियो ।