केशवप्रसाद पाण्डे
काठमाडौं । १४औँ महाधिवेशनलगत्तै सभापतिसहितका पदाधिकारी कम्तीमा तीन दिन पार्टी कार्यालयमै भेटिने व्यवस्था गर्नेबारे नेताहरूबीच छलफल भएको थियो । सभापति देउवाले पनि आफू तयार रहेको बताएका थिए । तर, कार्यान्वयन त पर, त्यसबारे अचेल चर्चासमेत हुँदैन ।
१४ सदस्यीय पदाधिकारी, एक सय ५७ केन्द्रीय सदस्य, साढे आठ लाख क्रियाशील सदस्य, १८ लाख साधारण सदस्य र गत मंसिरको संघीय निर्वाचनमा समानुपातिकतर्फ २७ लाख मत ल्याएको दल कांग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति हो । यस हिसाबले कांग्रेस केन्द्रीय कार्यालयमा शीर्ष नेता र कार्यकर्ताको आवतजावत बाक्लो हुनुपर्ने हो । तर, सानेपास्थित मुख्यालय बैठक र औपचारिक कार्यक्रमबाहेक अरू दिन सुनसानजस्तै हुन्छ, पदाधिकारी पनि विरलै भेटिने गर्छन् ।
बुधबारदेखि कांग्रेस मुख्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । १९ चैतमा कार्यसम्पादन समिति बैठकपछि पदाधिकारीसहितका केन्द्रीय सदस्यहरू कार्यालयमा जम्मा हुँदै छन् । को–को पदाधिकारी, कहिले–कहिले आए भन्ने सम्पूर्ण विवरण केन्द्रीय कार्यालयमा समेत छैन ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार १४औँ महाधिवेशनपछि ६ पटक केन्द्रीय कार्यसमिति बैठक बसेको छ । जुन १४ दिन बसेको थियो । यसबाहेक २१ पटक कार्यसम्पादन समिति बैठक बसेको छ । यी सबै बैठक सानेपामा नै बसेका हुन् ।
यी बैठकमा पदाधिकारी उपस्थित भए पनि अरू वेला कार्यालयमा भेट्न सहज छैन । सभापति शेरबहादुर देउवादेखि वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र इतर समूहको नेतृत्व गरिरहेका नेता डा। शेखर कोइरालासम्म केन्द्रीय कार्यालय जान जाँगर गर्दैनन् । नेताहरू कार्यालयमा नभेटिने भएपछि कामका लागि नेता–कार्यकर्ता घरघरमै धाउन बाध्य छन् । केन्द्रीय कार्यालय सुनसान र नेतानिवासमा भिड देखिने कांग्रेसभित्र परम्पराजस्तै भएको छ ।
केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा। प्रदीप पराजुली पार्टी बैठकबाहेक पनि पदाधिकारी कार्यालयमा आउजाउ गर्ने गरेको दाबी गर्छन् । पार्टी कामकै सिलसिलामा नेताहरू जिल्ला–जिल्ला जाने भएकाले सधैँ कार्यालयमा भेटिन सम्भव नहुने उनको तर्क छ । ‘पार्टी बैठकबाहेक सम्भव भएसम्म सभापतिसहित पदाधिकारी कार्यालय आउने गर्नुहुन्छ,’ उनको दाबी छ, ‘तर, को कतिपटक आउजाउ गर्नुभयो भन्ने विवरण नै त छैन ।’
औपचारिक विवरण नभए पनि बैठकबाहेक नेताहरू केन्द्रीय कार्यालय गएका कमै उदाहरण छन् । सभापति देउवालाई बैठकबाहेकका वेला कार्यालयमा भेट्न दुर्लभ जस्तै छ । १४औँ महाधिवेशनअघि पार्टीका बैठक या त सभापति देउवानिवास बुढानीलकण्ठमा भए, या त प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसे । त्यसवेला बैठकका एजेन्डाबारे छलफलका लागि पदाधिकारी बालुवाटार धाउनुपर्थ्यो ।
२९ असार ०७८ मा प्रधानमन्त्री नियुक्त भएपछि सभापति देउवा झन्डै पाँच महिनापछि २१ मंसिर ०७८ मा मात्रै पार्टी कार्यालय सानेपा पुगेका थिए । जतिवेला कांग्रेस महाधिवेशनको चटारो थियो । त्यसवेला उनी महाधिवेशन तयारीका लागि गठन भएका समितिका कामबारे जानकारी लिन कार्यालय पुगेका थिए ।
०७८ पुसमा १४औँ महाधिवेशनबाट पुनः सभापति निर्वाचित भएपछि पनि देउवाको शैलीमा कुनै फेरबदल भएन । १० पुस ०७९ मा कांग्रेस सरकारबाट बाहिरिएपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरे । यसपछि पनि नेता÷कार्यकर्ताले उनलाई भेट्न घरमै धाउनुपर्ने अवस्था छ । आवश्यक परेमा देउवाले पदाधिकारी र नेतालाई निवासमै बोलाएर छलफल गर्छन् । आक्कल झुक्कल सानेपा पुगे पनि छोटो समय बसेर फर्कने गरेका छन् ।
देउवा प्रधानमन्त्री रहेको समयमा बालुवाटारमा नै पार्टी बैठक बस्ने गरेका थिए । यसको विशेष गरी इतर समूह र महामन्त्री गगन थापाले पार्टीको बैठक प्रधानमन्त्रीनिवासमा र बालुवाटारको खर्चमा पार्टी बैठक गर्न नहुने भन्दै आलोचना गर्दै आएका थिए । तर, पार्टीका महत्वपूर्ण छलफलका लागि सभापतिले निवासमै पदाधिकारी बैठक राख्दा महानमन्त्रीलगायत सहमहामन्त्रीहरू धुम्बाराही पुग्ने गरेका छन् । यसरी बसेका पदाधिकारी बैठक कांग्रेसको रेकर्डमा भने छैन । कांग्रेस विधानले पदाधिकारी बैठकलाई चिन्दैन । जसकारण छलफल र परामर्श भए पनि निर्णय सभापति देउवाले या कार्यसम्पादन र कार्यसमिति बैठकबाट हुँदै आएको छ ।
पार्टी निर्णयको कार्यान्वयन र कार्यालय सञ्चालनको जिम्मेवारीमा रहेका महामन्त्रीद्वय पनि कमै समय कार्यालयमा भेटिनेमा पर्छन् । पछिल्लो समय भने महामन्त्री गगन थापा सदस्यता वितरण डिजिटल बनाउने कामका लागि सानेपामा नै बसेर काम गरिरहेका छन् । क्रियाशील सदस्यताको काम सँगसँगै अन्य कामका लागि अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि पछिल्लो समय कार्यालयमा नै भेटिनेमा पर्छन् । महामन्त्रीहरूलाई कार्यालय व्यवस्थापन र पार्टी निर्णय कार्यान्वयनको जिम्मेवारी रहने गर्दछ । तर, उनीहरू पनि पर्याप्त समय कार्यालयमा नभेटिने गरेको नेता कार्यकर्ताले गुनासो गर्ने गरेका छन् ।
उपसभापतिद्वय पूर्णबहादुर खड्का रक्षामन्त्रीको जिम्मेवारी र धनराज गुरुङ कानुनमन्त्रीका रूपमा सरकारमा रहेकाले पनि कार्यालयमा भेटिनेमा पर्दैनन् । मन्त्री बनेपछि छोटो समय मात्रै सानेपा पुगेर फर्केका छन् । यसबाहेकका आठ सहमहामन्त्री पनि कार्यालयमा भेटिँदैनन् । सहमहामन्त्रीको कार्यविभाजन नहुँदा पनि समस्या परेको उनीहरूको गुनासो छ । सहमहामन्त्रीमा सबैभन्दा बढी भीष्मराज आङदेम्बे कार्यालयमा भेटिनेमा पर्छन् ।
शेखर पनि भेटिँदैनन् सानेपामा
महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा दोस्रो मत पाएका डा। शेखर कोइरालाका लागि कांग्रेस कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । सात महिनाअघि नै उनका लागि कोठाको व्यवस्था गरिएको हो । तर, कोइराला पनि पार्टी बैठकको समयमा बाहेक कार्यालय गएर लामो समय व्यतीत गर्नेमा पर्दैनन् । यसअघि वरिष्ठ नेताका रूपमा रहेका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित पौडेलका लागि छुट्याइएको कोठा पूर्वपदाधिकारीका लागि छुट्याइएको छ । तर, पूर्वपदाधिकारी पनि कार्यालयमा भेटिनेको सूचीमा पर्दैनन् ।
कांग्रेस महाधिवेशनलगत्तै कांग्रेसमा सभापतिसहित पदाधिकारी कम्तीमा तीन दिन पार्टी कार्यालयमा नै भेटिने अवस्था बनाउनेबारे नेताहरूबीच छलफल भएको थियो । कांग्रेस कार्यालय सचिव प्रेम केसीका अनुसार पदाधिकारीहरूको छलफलका विषयमा सभापति देउवाले पनि आफू तयार रहेको जनाउ दिएका थिए । तर, त्यसपछि यो विषय चर्चामा छैन ।
केसीका अनुसार त्यसलगत्तै तीन तहको निर्वाचनलगायतले यो विषय ओझेलमा पर्यो । उनी संसद्को भूमिकालगायतले पनि यो सम्भव नभएको बताँउछन् । तर, संसद्को बर्खे अधिवेशनपछि फेरि यसबारे छलफल हुने तयारी रहेको बताए । ‘अनुकूल हुँदा आउनु नै हुन्छ । हप्तामा तीन दिन पार्टी कार्यालय आउनेबारे छलफल भएको हो । तर, निर्वाचनलगायतले यो सम्भव भएन । संसद्को अधिवेशनपछि फेरि यसको पहल हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।
सहमहामन्त्री आङदेम्बे भन्छन्– कम्तीमा एक पदाधिकारी केन्द्रीय कार्यालयमा भेटिने बनाउँछौँ
सहमहामन्त्री भीष्मराज आङदेम्बे धेरै नेता–कार्यकर्ता भएको पार्टीको कार्यालयमा कर्मचारी मात्रै भेटिने र सुनसान हुने अवस्थाले शोभा नदिएको स्विकार्छन् । यो गुनासो आफूहरूले महसुुस गरेको र प्रत्येक दिन कम्तीमा एक पदाधिकारी केन्द्रीय कार्यालयमा भेटिने अवस्था बनाउने तयारी भइरहेको दाबी गरे । ‘यति धेरै नेता–कार्यकर्ता भएको पार्टीको कार्यालयमा कर्मचारी मात्रै भेटिने र सुनसान हुने अवस्थाले राम्रो सन्देश दिएको छैन । पदाधिकारी कमै मात्रामा भेटिने गुनासो महसुस गरेका छौँ । संसद् र अन्य राजनीतिक जिम्मेवारीका कारण पनि पदाधिकारीहरू कार्यालयमा नै बसिरहने भन्ने सम्भव हुँदैन । तर, व्यवस्थापन गर्नैपर्नेछ । कम्तीमा एक पदाधिकारी केन्द्रीय कार्यालयमा उपलब्ध भइरहने अवस्था बनाउन छलफल गरिरहेका छौँ,’ उनले भने ।
केन्द्रीय समितिको एजेन्डा आजै तय हुने, एक साता लामो बैठकको सम्भावना
केन्द्रीय समिति बैठकका एजेन्डा पदाधिकारी बैठकले टुंग्याउने भएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार केन्द्रीय समिति बैठकअघि सानेपामा पदाधिकारी बैठक बस्नेछ । उनले बैठक करिब एक साता चल्ने बताए । ‘एजेन्डाबारे पदाधिकारी तहमा छलफल भइरहेको छ । तर, एजेन्डा बैठकअघि पदाधिकारी तहबाट टुंगो लाग्छ,’ उनले भने । कार्यसमितिमा आधाजसो सांसद छन् । ‘संसद्मा पनि सहभागी हुनुपर्ने हुन्छ, त्यसै आधारमा बैठक व्यवस्थापन हुन्छ, बैठक एक साताभन्दा बढी चल्ने सम्भावना छ,’ उनले भने । झन्डै एक वर्षको अन्तरमा बस्न थालेको बैठकमा कसरी प्रस्तुत हुने भनेर संस्थापन र इतर समूहका आ–आफ्ना तयारी छन् । बैठक नबस्दा समसामयिक विषयमा छलफल र रणनीति तय हुन सकेको छैन । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित इतर समूहले नेृतत्वको कार्यशैलीसहितका विषय उठाउने तयारीमा छन् । तेस्रो पुस्ताका नेताले चलाएको रूपान्तरण अभियानले पनि तल्लो तहबाट आएका सुझावलाई एजेन्डा बनाउन दबाब दिइरहेका छन् ।
नयाँपत्रिकाका लागि तयार