काठमाडौं । करिब एक वर्षपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा जारी छ। मंगलबार प्रस्तुत भएका अजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका छन्।
बुधबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गरे। सँगसँगै सभापति शेरबहादुर देउवाको बचाउ पनि गरे।
'दोष जति सभापतिलाई थुपारेर पन्छिन मिल्दैन'
कांग्रेस केन्द्रीय सदस्य गोविन्द शाहले दोष जति सबै सभापतिलाई थुपारेको भन्दै आक्रोश व्यक्त गरे। उनले निर्णय प्रक्रियामा कांग्रेस पदाधिकारी र कार्यसम्पादन समिति समेत रहेको उल्लेख गर्दै देउवाको बचाउ गरे।
उनले भने, ‘संगठनलाई चुस्तदुरुस्त बनाउनेभन्दा पनि अनिर्णयको बन्दी बनाउने कुरामा खाली सभापतिलाई मात्रै दोष दिनेरु दोष दिएर मुक्त हुँदैनौँ। यसको जिम्मेवारी पदाधिकारी र कार्यसम्पादन समितिले लिनुपर्छ। काम कर्तव्यप्रति हेक्का राखौँ।’
'सभापति व्यक्ति होइन, संस्था'
केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी सभापति देउवा एक व्यक्ति नभएर संस्था भएको दाबी गरिन्। उनले भनिन्, ‘नेपाली कांग्रेसलाई कमजोर बनाउने छुट कसैलाई छैन। सभापति व्यक्ति होइन, संस्था हो। सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुन्छ। त्यसो गर्ने छुट कसैलाई छैन।’
देउवाबाट पार्टी चल्दैन पनि भन्ने र देउवाबाटै सिकेको हुँ भन्ने भन्दै महामन्त्री थापाप्रति कटाक्ष गरिन्। केही दिनअघि थापाले संसदीय दलको नेता परिवर्तनको विषयलाई देउवाबाटै सिकेको बताएका थिए।
देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव राखिन्। कोषाध्यक्ष भने महिलालाई बनाउनुपर्ने उनको जोड छ।
महामन्त्रीको विकल्प खोज्ने चेतावनी
पार्टी सभापति देउवाले मनोनित गरेकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय थापा र शर्माको विकल्प खोज्न सक्ने बताइन्। उनले महामन्त्रीहरुलाई दायरा फराकिलो बनाउन आग्रह गरिन्।
खतिवडाले भनिन्, ‘दुई वटै महामन्त्रीज्यूलाई विनम्रतापूर्वक आग्रह छ( कांग्रेस बलियो बनाउने उद्देश्यका साथ, एक ढिक्का र सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरु हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नुहोला। तपाईंहरुले दायरा फराकिलो बनाउनु भएन भने, जसरी तपाईंहरु अरु कसैको विकल्प खोज्छौँ भन्दै हुनुहुन्छ। तपाईंहरुको पनि हामीहरुले विकल्प खोज्न नपरोस्।’
खतिवडाले सभापति संस्था भएकोले सभापतिबाहेक हामी मात्रै असल हौँ भन्ने दाबी हास्यापद भएको बताइन्। उनले सबै दोष सभापतिलाई लगाएर उन्मुक्ति नपाइने तर्क गरिन्।
उनले भ्रष्टाचार अभियोगमा पूर्व गृहमन्त्री बालकृष्ण खाण समातिँदा कांग्रेसको एउटा समूह गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गर्न गएको भन्दै असन्तुष्टि जनाइन्। उनले अभियोग लागेको अमुक पार्टीका बारेमा नबोलेको भन्दै आरोप लगाइन्।
मन्त्री केन्द्रित बजेट विनियोजन भएकोप्रति असन्तुष्टि
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सरकारको आलोचना समेत भएको छ। सत्तारुढ दल समेत रहेको कांग्रेसले अर्थ मन्त्रालय समालेको भए पनि बजेट विनियोजनप्रति नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले भने, ‘नेता र मन्त्रीको ठाउँमा मात्रै बजेट विनियोजन भएको छ। विभेदकारी बजेट विनियोजन भयो।'
अन्य सांसदहरुमा किन बजेट विनियोजन भएन। उनले मन्त्री नै वडा र पालिका केन्द्रित भएकाले कांग्रेसको साझा मन्त्री बन्न नसकेको आरोप लगाए। ललिता निवास र भुटानी शरणार्थीमा दोषीले उन्मुक्ति र निर्दोष फस्न नहुनेमा जोड दिए।
त्यसैगरी नेता दिलमान पाख्रिनले स्थानीयदेखि केन्द्रसम्मका मन्त्रीहरुले आफू केन्द्रित बजेट आएको भन्दै आपत्ति जनाए। भदौको १५ गतेभित्र भातृ संगठनले पूर्णता नपाएको अवस्थामा के हुन्छरु भन्दै प्रश्न गरे।
'भ्रातृ संगठन नेताहरुको छोराछोरी राख्ने अखडा'
महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा थप २२ सहित ७० वटा विभाग बनाउने कार्यतालिका पेस गरेका थिए। नेताहरुले भने पहिलेकै विभागहरुले पूर्णता नपाएको भन्दै नयाँ विभागहरुले भदौ १५ गते पूर्णता पाउने कुरामा आंशका व्यक्त गरेका छन्।
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले भातृ संगठन नेताहरुका आफ्ना छोराछोरीहरु राख्ने अखडा भएको बताए। उनले भने, ‘भ्रातृ संगठन कोसँग सल्लाह गरेर बनाउनु भयोरु यो भ्रातृ संगठनमा सबैले आफ्ना छोराछोरी हालेका रहेछन्। मेरो छोरा पनि हाल्दिनुपर्यो। त्यसमा महिला संगठन बनाउनुहुन्छ भने मेरो श्रीमती पनि राखिदिनुहोस्।’
भ्रातृ संगठन काठमाडौंमा बस्ने गणेश प्रवृत्ति भएकाहरुले जिम्मेवारी प्राप्त गरेको भए पनि गाउँघरमा बसेर संगठन निर्माण गर्नेहरुले अवसर नपाएको भन्दै कटाक्ष गरेका छन्। त्यसैगरी केन्द्रीय सदस्य मानबहादुर नेपाली विभागहरु थप्ने कुरामा शहीदहरुको परिवारलाई समेत समेट्नुपर्ने बताए। उनले भने, ‘संगठनलाई क्रियाशील गर्ने कुरा व्यक्तिले हो। धेरै कार्यकर्ता गाउँमा बसेका छन्। सुविधा सम्पन्न काठमाडौंमा बस्ने व्यक्तिबाट मात्रै कांग्रेस चल्छ भन्ने भ्रम हो।’
दुई महिनाको अन्तरालमा बैठक बस्ने कुराको स्वागत
केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक हुने कुरा स्वागतयोग्य भएको बताएका छन्। उनले महामन्त्रीले प्रस्तुत गरेको कार्यपत्रको कार्यान्वयन भएको अवस्थामा कांग्रेस स्वर्णिम युगमा प्रवेश हुन दाबी गरे। उनले २०७० सालपछि दोस्रो पटक पहिलो पार्टी बनेको बताउँदै केही समय गठबन्धन जोगाउन नसकेको र पुनः गठबन्धन ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले गुटलाई प्रश्रय दिनु राम्रो नभएको भन्दै महामन्त्री र सभापतिलाई गाली गर्दैमा कांग्रेस राम्रो नहुने जिकिर गरे।
गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड
कांग्रेस केन्द्रीय सदस्य कल्याणी रिजालले पार्टीको क्रियाशीलको संख्या खहरे खोला जस्तो भएको बताउँदै त्यसबारे पूनर्विचार गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘पार्टीको क्रियाशील सदस्यको संख्या खहरे खोला जस्तो छ। अन्तर्घात र गुट(उपगुटको अन्त्य हुनुपर्छ।’
त्यसैगरी केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले कांग्रेसले भ्रष्टाचारीलाई जोगाउन नहुनेमा जोड दिए। उनले भने, ‘भ्रष्टहरुलाई जोगाउन हुँदैन। कांग्रेसले विश्वास गुमाएको छ। हाम्रो निष्क्रियताले नै यो अवस्था आएको छ। पालिकामा निर्वाचिन पदाधिकारीहरु पार्टीको वास्ता गर्दैन। यस विषयमा गम्भीर हुनुपर्छ। वडादेखि क्षेत्र पालिका, प्रदेशसम्मका संगठन कमजोर भएका छन्।’
उनले कांग्रेस गुटका कारण विभाजित भएको बताउँदै नेताहरु गुट त्याग्नुपर्नेमा जोड दिए।