काठमाडौं । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । अमेरिकाको १ सय वर्षको इतिहासमा आगलागीबाट भएको यो सबैभन्दा ठूलो मानवीय क्षति हो ।
सरकारी अधिकारीहरूले मृत्युको संख्या अझै बढ्नसक्ने आकलन गरेका छन् । माउई टापुको लाहैना सहरमा उद्धारकर्मीहरू अहिले पनि खटिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोले ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । १२ हजारभन्दा बढी मानिसको बसोबास रहेको सहर भग्नावशेषमा परिणत भएको छ । जहाँ रहेका होटल र रेष्टुरेन्टहरू खरानीमा परिणत भएका छन् ।
डढेलोमा परी हरेक दिन मृत्यु हुनेको संख्या बढिरहेको भन्दै स्थानीय अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताएका छन् । कतिपय मानिसहरू बेपत्ता हुनुका साथै हजारौं मानिसहरू विस्थापित भएका छन् ।
कतिपयले यसलाई अमेरिकाको सय वर्षको इतिहासमा सबैभन्दा ठूलो प्राकृतिक विपत्तिको रुपमा व्याख्या गरेका छन् ।
यसअघि २०१८ मा क्यालिफोर्नियाको प्याराडाइज सहरमा आगलागीमा परी ८५ जनाको मृत्यु भएको थियो । जुन क्षतिको तुलनामा अहिलेको डढेलोको क्षति बढी छ । साथै १९१८ मा भने मिनेसोटा र विस्कान्सिनमा भएको आगलागीबाट ४ सय ५३ जनाको ज्यान गएको थियो ।
संघीय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार लाहैनाको पुनर्निर्माणको लागत ५।५ बिलियन अमेरिकी डलर अनुमान गरिएको छ । जवकि २ हजार २ सयभन्दा बढी संरचनाहरू क्षतिग्रस्त र नष्ट भएका छन् । जहाँ ८ सय ५० हेक्टरभन्दा बढी जमिन जलेको छ ।
सरकारी अधिकारीहरूले भने अहिले क्षतिग्रस्त स्थानका मानिसहरूको पुनर्वास गराउनु प्रमुख दायित्व भएको बताएका छन् । उनीहरूको बसोबास प्रबन्ध गर्नुका साथै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु प्राथमिकता भएको उनीहरूले बताएका छन् ।
यसैबीच स्थानीय अधिकारीहरूले घर गुमाएका मानिसहरूका लागि १ हजारवटा होटेलका कोठाहरू भने सुरक्षित राखिएको बताएका छन् । साथै उनीहरूलाई तत्कालका लागि निस्शुल्क रुपमा बसोबासको प्रबन्ध लगाइने बताएका छन् । हाल १ हजार ४ सय मानिसहरूलाई आपतकालीन आवासको बन्दोबस्त गरिएको पनि बताइएको छ ।