ऐजेन्सी। मोरक्कोको पहाडी इलाका एटलसमा स्थानीय समय अनुसार शुक्रबार अबेर राति गएको शक्तिशाली भूकम्पमा कम्तिमा ८०० जनाको मृत्यु भएको तथा अन्य सयौ मानिस घाइते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। यो साठी वर्ष यता आएको सबै भन्दा डरलाग्दो भूकम्प हो।
यो भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स हो। पहिले ६.८ म्याग्निट्यूडको भनिए पनि अहिले यो भूकम्प ७।२ म्याग्निट्यूडको भएको जनाइएको छ।
भूकम्पबाट घरहरू ध्वस्त भएका छन् र सहरका बासिन्दाहरू घरबाट बाहिर निस्किएका छन्। परकम्पका कारण उनीहरू घरभीत्र पस्न डराएका छन्।
मोरक्कोको गृह मन्त्रालयले अहिलेसम्म मृतकको संख्या ८०० बताए पनि एक सरकारी अधिकारीले अहिलेसम्म विकट पहाडी क्षेत्रमा पुग्न नसकेकाले त्यहाँको खबर आएपछि मृतकको संख्या बढन सक्ने बताएका छन्।
मोरोक्कोको भूगर्भ विभागले जनाए अनुसार भूकम्प राती ११ बजेभन्दा पछि आएको हो। भुकम्पको केन्द्र नजिकका बासिन्दा एक जना शिक्षक हमिद अफ्करका अनुसार भूकम्पले २० सेकेण्ड जति हल्लाएको थियो।
यो सन् १९६० भन्दा पछि आएको भूकम्प पछिको सबैभन्दा खतरनाक भूकम्प हो। त्यतिबेला मोरोक्कोमा भूकम्पका कारण १२ हजार मानिस मारिएका थिए।
अहिलेको भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स हो। यो माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। अमेरिकी जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ।
स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको थियो। त्यसको १९ मिनेटपछिको परकम्प ४.९ म्याग्निट्यूडको मापन गरिएको छ। गृह मन्त्रालयले अहिलेसम्म दिएको जानकारी अनुसार भूकम्पले २९६ जनाको ज्यान लिएको र १५३ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको छ।
मोरोक्कोको प्रमुख मध्येको शहर माराकेशमा ठूलो क्षति भएको र कतिपय परिवार भत्केका घरभीत्र पुरिएका हुनसक्ने बताइएको छ। माराकेश शहरमा अवस्थित राष्ट्रसङ्घ सम्पदा सूचीमा परेको मेडिनाका केही हिस्सामा क्षति पुगेका जनाइएको छ।
सामाजिक सञ्जाल एक्समा राखिएका भिडिओमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ। धुलोको मुस्लोहुँदै मानिसहरू हिँडिरहेको र केही मानिसहरू भागिरहेको पनि देख्न सकिन्छ।
माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएको एक जना स्थानीय बासिन्दाले रोयटर्स समाचार संस्थालाई बताएका छन्। शक्तिशाली परकम्प आउनसक्ने डरले मानिसहरूले आफ्ना घर बाहिर बसिरहका छन्। भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्सको दुर्गम क्षेत्रमा भएको भएपनि कम्पनहरू राजधानी रुबात अनि कासाब्लाङ्का र सुइरासम्म महसुस गरिएका थिए। भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ।