सिमकोट । बिहान ६ बजेदेखि परेको वर्षासँगै काठसेरा खोलामा आएको बाढिले अदानचुली ३ काठेसेराका रवि भियाल बेपत्ता भएका छन् ।
घरमा बसेका अवस्थामा बिहान अचानक आएको वर्षासँगैको बाढिले भैसो चराउन गएका भियाल बेपत्ता भएको श्रीनगर प्रहरी चौकी गलफागर्डलाई उदृत गर्दै अदानचुली १ का दत्त महताराले जानकारी दिए ।
‘घरभन्दा नजिकै भैसी चराई रहेका अवस्थामा खोलाले ढिस्को भत्काएपछि भैसीसहित भियाल बेपत्ता भएको खबर आएको छ’ धान काट्न गल्फागाड खोलामा गएका महताराले भने, ‘खोलाको खोलामा आएको बाढिले हुम्ला कर्णालीको बहावलाई रोकेको छ । खोलाका दुई तर्फको कृषि योग्य जमिन कटान गरेर ठूलो क्षती गरेको छ । भित्र्याउन तयार भएको धानबाली पूर्णरुपमा नष्ट हुनुका साथै खेत समेत कटान गरेर लिएको छ ।’
बाढिले कर्णाली कोरिडोर अन्तरगत गल्फागाड खोलामा लगाएको बेलिब्रीज समेत उच्च जोखिममा छ । रोड भन्दा पानीकोबहाव माथि गएपछि डोप्का ज्यूलातर्फको पिपलको बोट नजिकै भएको अदानचुली २ का कन्न महतारा (दोकानी)को घर कटान गरिरहेको छ । बिहान ६ बजेदेखि निरन्तरको बाढीले खोलाको दुवै किनाराका घरहरु उच्च जोखिममा रहेको अदानचुली २ का बुधे भण्डारीले जानकारी दिए । नेकपा एमाले अदानचुली गाउँकमिटिका अध्यक्ष समेत रहेका भण्डारीका अनुसार अहिले गल्फागार्ड खोलामा अनपेक्षित रुपमा आएको बाढिले आसपासका अधिकांश परम्परागत घट्ट, घर बगाइरहेको छ ।
‘गल्फागाड खोला मुहानदेखि नैं हेर्न र पार गर्न सकिने अवस्था छैन्’ उनले थपे, ‘हुम्ला कर्णाली भन्दा ठूलो रुपमा गल्फागाड खोलाको भएकाले पनि निकै धेरै क्षती भएको देखिन्छ ।’
निरन्तरको वर्षासँगैको बाढिले कालागाड आसपासका घर टहरा र बाटोघाटोहरु बगाउनुका साथै आवतजावतमा निकै समस्या भएको वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताए । ‘बाढिले के कती क्षति गर्यो भनेर सबै विवरण अहिले नैं आउने अवस्था छैन्’ अध्यक्ष छत्यालले नेपालवोटसँग भने ‘खोलामा बाढि र पाखोमा पहिरोको उच्च जोखिम भएकाले म पनि अहिलेसम्म घरबाट बाहिर निस्कन सकिरहेको छैन् ।’
बाढिले अदानचुली ३ थपाली स्थित बुढाबाडाको ज्युलो, गोरपाली घर ज्युलो नाम निसान मेटाएको छ भने उता गल्फागाडमा भएका अदानचुली २ का हरी भण्डारी र किष्ण भण्डारीको घट्ट बगाएको छ भने मसानघाट स्मा बनाइएको प्रतिक्षालयपनि बगाएको छ । खोलामा बाढि अहिले पनि बढ्दो क्रममा भएकाले क्षती अँझ बढ्ने देखिन्छ ।