सिमकोट । गाउँपालिकाका बाढी प्रभावितहरुका लागि हुम्लाको अदानचुली गाउँपालिकाले राहत वितरण गरेको छ ।
गएको असोज ४ गते अविरल वर्षासँगैको बाढीले जनधनको क्षती गरेका घर परिवारका लागि राहत स्वरुप खाद्यन्न र नगद सहयोग वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया (सुधार)ले जानकारी दिनुभयो ।
अदानचुली ३ का रवि भियाललाई वेपत्ता हुने गरी गएको बाढीले गाउँपालिकाका ६ वटै वडामा करोडौंको मुल्यमा धनमाल र बारीमा लगाएको बालीमा क्षती गरेको थियो ।
‘गाउँ कार्यपालिकाको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार हामीले बाढी प्रभावित घरधुरीलाई राहत स्वरुप खाद्यन्न वितरण गरेका हौं’, उपाध्यक्ष रोकायाले नेपालवोटसँग भन्नुभयो, ‘बाढी क्षती गरेको प्रहरी मुचुल्का र वडाको सिफारिसका आधारमा पालिकाले बनाएको मापदण्डमा रहेर आज (मंगलबार) राहत वितरण गर्ने काम भएको हो ।’
पालिका उपाध्यक्ष रोकायाको नेतृत्वमा अदानचुली ३, ४ र ५ नम्बर वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित पालिकाका कर्मचारीको उपस्थितीमा राहत वितरण गर्ने काम भएको गाउँपालिकाका प्रवत्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले जानकारी दिनुभयो ।
वर्षासँगैको बाढीले क्षती गरेको घरपरिवारलाई राहत दिनका लागि गाउँपालिकाले १५ लाखको कोष विनियोजन गरेको थियो । उक्त कोषबाट प्रभावित घरधुरीका लागि खाद्यन्न सहयोग गरिएको प्रवक्ता छत्यालले बताउनुभयो । अदानचुलीले बाढीबाट भत्केका भौतिक संरचनाको पुनःनिर्माण तथा मर्मत तथा सम्हार गर्न १ करोेड ६८ लाख ५३ हजारको बजेट विनियोजित गरेको छ ।
गएको असोज २४ गतेको बैठकले राहत वितरणका लागि विनियोजित रकमबाट प्रति घरधुरी ३० केजी चामल उपलब्ध गराउने, भैसी राँगा मरेका भए ५ हजार, खसी, बाख्रा, गाइगोरु, कुखुरा फर्म बगाएको भए ३।३ हजारको दरले रकम उपलब्ध गराउने र पूर्णरुपमा घर क्षेती भएकालाई पाल उपलब्ध गराउने निर्णय गरेको थियो ।
बाढिले बेपत्ता भएका अदानचुली गाउँपालिका ३ का रबि भियालको घरपरिवारलाई किरिया खर्चबापत ५० हजार रुपैया उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको उपाध्यक्ष रोकायाले बताउनुभयो ।