दैलेख । देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम अत्खनन्को अन्तिम अन्वेषणको कार्य सुरु हुने भएको छ ।
अन्तिम ड्रिलिङका लागि आवश्यक पर्ने ४५ रोपनी जग्गाको विवाद मिलेपछि अन्वेषणको काम सुरु हुने भएको हो । दैलेखको भैरवी गाउँपालिका–१ खोली बजारका स्थानीयहरूले जग्गा दिन तयार भएसँगै अन्वेषणको काम सुरु गर्ने तयारी थालिएको हो ।
४५ रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने विषयमा केही समय विवाद भएको थियो । कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा जग्गा धनी, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएपछि अन्य प्राविधिक कामहरू तत्कालै सुरु गरिने भएको छ ।
विवाद समाधानका लागि जिल्लाका निर्वाचित जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच भएका विभिन्न छलफल पश्चात् स्थानीयहरूले जग्गा दिन तयार भएको र लगत्तै अन्वेषणको काम सुरु हुने जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
सरकारले ऐनमा उल्लेख गरेअनुसारको घर र जग्गाको मुआब्जा दिने भएको छ । यो सँगै स्थानीयलाई रोजगारीको पहिलो प्राथमिकता, वासस्थानको व्यवस्थापन, नष्ट हुने बालीनालीको क्षतिपूर्ति लगायतका मागहरू पुरा गरिदिनुपर्ने स्थानीयको माग रहेको छ ।
सोही अनुसार सम्झौता गरेपश्चात् स्थानीय बासिन्दाहरू जग्गा दिन तयार भएको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले जानकारी दिए ।
जग्गादाता धिर्जा थापाले भनिन्, ुसरकारलाई हामिले जग्गा दियौँ । सरकारले हाम्रा छोराछोरीहरूलाई रोजगारी देओस् । काम गर्न विदेश जान नपरोस् । हामीलाई राम्रो स्थानमा स्थान्तरण गरियोस् ।ु
पेट्रोलियम पदार्थ भेटिएमा दैलेखको मात्र नभई देशको अवस्था सुधार हुन्छ भनेपछि सरकारले भने अनुसार जग्गा सरकारको नाममा हस्तान्तरण गर्न तयार भएको र स्थानीयले राखेका मागहरू पुरा गरिदिनुपर्ने स्थानीय कृष्णबहादुर थापाको भनाई छ ।
कर्णाली प्रदेशको भविष्य बदल्ने र देशको आर्थिक अवस्था सुधार हुने अन्वेषणको काम जसरी पनि सम्पन्न गर्न भैरवी गाउँपालिकाका जनप्रतिनिधिहरूले जनतासँग सहकार्य गरेको भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले बताइन् । केही माग गाउँपालिकाले नै सम्बोधन गर्छ । केही माग प्रदेश र केन्द्र सरकारले सहजीकरण गरिदिनुपर्ने भण्डारीको भनाई छ ।
४.५ किलोमिटर जमिन मुनि ड्रिलिङ गरिने
दैलेखको भैरवीमा ४।५ किलोमिटर जमिन मुनि ड्रिलिङ गरिने भएको छ । कात्तिक तेस्रो साताबाट ड्रिलिङको काम सुरु गर्ने गरी तयारी थालिएको पेट्रोलियम अन्वेषण परियोजनाका दिनेश कुमार नापितले बताए।
चीनको टोलीले गरेका अन्य अन्वेषणहरूबाट दैलेखकै भू भागमा पेट्रोल र ग्याँसको भण्डारण हुन सक्ने निकै धेरै सम्भावना देखिएकोले अन्तिम अन्वेषणको नजिता सकारात्मक आउनेमा आशावादी रहेको नापितको भनाई छ ।
दैलेखकै भू भागमा पेट्रोल र ग्याँसको भण्डारण भएको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न भएका छन् । अब गरिने सर्वेले कति परिमाणमा पेट्रोलियम पदार्थ छ भनेर पत्ता लाग्ने छ ।