काठमाडौं । दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव पहिचान भएको छ । यसअघि चारजना विद्यार्थीको शव स्वदेश ल्याएर दाहसंस्कार भइसकेको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले आइतबार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको जानकारी दिएको छ । यसअघि ५ कात्तिकमा नेपाली विद्यार्थीहरू नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट, गणेशकुमार नेपाली र आशिष चौधरीको शव नेपाल ल्याइएको थियो ।
उनीहरूको अन्त्येष्टि भइसकेको छ । मृतकमध्ये धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको शव पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।
बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजीकार्य जारी
नेपाली दूतावासले उपलब्ध सम्पूर्ण संयन्त्र माध्यमहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा प्रयास केन्द्रित गरेको जनाएको छ । उनी २० असोजदेखि बेपत्ता छन् । उनीसँगै रहेका विद्यार्थीहरूले उनलाई हमास समूहले कब्जामा लिएर गएको बताउँदै आएका छन् ।
नेपाल भ्रमणमा रहेका संयुत्तः राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको गाजा क्षेत्रमा मानवीयताका आधारमा तत्काल युद्धविराम गर्नसमेत आह्वान गरेका छन् । उनले इजरायलमाथि हमासको हमला र गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै सर्वसाधारणको सुरक्षाका लागि चिन्ता व्यक्त गरे । ‘हामी कठिन र तनावपूर्ण समयमा बाँचिरहेका छौँ । मलाई थाहा छ– मध्यपूर्वको द्वन्द्व हजारौँ माइल टाढा भए पनि यो नेपालका जनताको घरमै पुगेको छ,’ इजरायलमा नेपालीहरूको मृत्यु, घाइते र बेपत्ता भएको घटनातर्फ लक्षित गर्दै महासचिव गुटेरेसले भने ।
उनले २० असोजमा इजरायलमा हमासले गरेको आतंककारी हमलामा मारिएका १० नेपाली विद्यार्थीका परिवारप्रति गहिरो समवेदना व्यक्त गरे । साथै उनले हमासको आक्रमणपछि उनीहरूको कब्जामा रहेको भनिएका नेपाली विपिन जोशीसहित सबैलाई मुक्त गर्न आह्वान गरे । ‘बेपत्ता विपिन जोशीको सुरक्षित फिर्ताको कामना गर्दछु,’ गुटेरेसले भने । उनले आफू अन्तर्राष्ट्रिय मानवीय कानुनको स्थापित सिद्धान्त र नियमको कडाइका साथ पालनाका लागि आफूले गरेको आह्वानमा अडिग रहेको बताए । ‘नागरिकको सुरक्षा सर्वोपरि छ,’ उनले भने ।