नरजन तामाङ
सिमकोट । जिल्ला बाहिर आवतजावत वगर्ने हुम्लाका नागरिकलाई अहिले पनि टिकटको राजनीतिले छोडेको छैन् ।
सडक सञ्जालको राष्ट्रिय पहुँचमा नजोडिएको हुम्ला सदरमुकाम सिमकोटमा भएको विमानस्थलबाट जिल्लाबाहिर जाने हुम्ली नागरिकले सधैँ सास्ती खेप्नुपर्छ।
पहुँचका भरमा मनपरी टिकट वितरण हुँदा सर्वसाधारण विमानस्थल धाइरहन्छन्। टिकट नपाएर खालीहात घर फिर्ता हुन्छन्।
राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको हुम्ली नागरिकले जिल्लाबाहिर जान सास्ती खेप्दै आएका हुन्। निजी एयरलाइन्सले मनपरी र पहुँचका भरमा टिकट वितरण गर्दै आएपछि सर्वसाधारण नागरिकहरूले सास्ती खेप्न बाध्य छन्।
दसैँ सकिएलगतै जिल्लाबाहिर नेपालगन्ज, सुर्खेत, बुटवल, पोखरा, काठमाडौंलगायतका सहरमा अध्ययन तथा व्यापार–व्यवसायले जाने नागरिकलाई सधैँ यस्तै सास्ती खेप्नुपरेको छ।
मंगलबार सीता एयरको जहाजले दुई फ्लाइट उडान भरे पनि टिकट पहुँचवालालाई मनपरी वितरण गरेको यात्रुहरूको गुनासो छ। एयरलाइन्सका कर्मचारीहरूले फोन, फेसुबक म्यासेज र भनसुनकै भरमा कर्मचारीहरूले टिकट वितरण आरोप छ।
दुई दिन लगातार जहाजको टिकटका लागि विमानस्थल धाउँदासम्म जहाजको टिकट नपाएको यात्रु राजबहादुर परियारको दुःखेसो छ। ‘निजी एयरलाइन्सहरूले भनसुन र चिनजान टिकट वितरण गरेपछि नेपालगन्ज झर्न पाएका छैनौँ। होटेलमा वास बस्दा र खादा दुई–तीन हजार खर्च भइसक्यो,’ उनले भने।
१८ कात्तिक हुन लागेको अध्ययापन अनुमतिपत्रको परीक्षा दिन कर्णाली प्रदेशको राजधानी सुर्खेत झर्ने विद्यार्थीसमेत प्रत्यक्ष मर्कामा परेका छन्। खार्पुनाथ गाउँपालिका– ३ की हस्ता रावल सिमकोट विमानस्थल धाउन थालेको तीन दिन भइसकेको बताइन्। निजी एयरलाइन्सका कर्मचारीहरूले सर्वसाधारणको कुरासमेत नसुनेको उनको भनाइ छ।
नियमित उडान हुँदैन
नेपालगन्जबाट हुम्लाका लागि समिट एयरले दैनिक एक–दुई उडान भरे पनि निजी एयरलाइन्सका जहाज सीता, तारा एयरले नियमित उडान नभरेपछि सकस भएको हो। विदेशी नागरिक बोक्न सीता, तारा एयरको जहाज हाल पूर्वतर्फ केन्द्रित छन्। समिट एयरलाइन्सले दसैँ अवधिभर नियमित उडान गर्दा जिल्ला भित्रिने र जिल्लाबाहिर जाने यात्रुलाई केही सहज भएको छ।
जहाज टिकट महँगो
सिमकोटबाट नेपालगन्जसम्म पुग्न निजी एयरलाइन्स कम्पनीहरूले प्रतिव्यक्ति नौ हजार एक सय २० रुपैयाँ लिने गरेका छन् भने सुर्खेतका लागि सात हजार एक सय १५ रुपैयाँ असुल गर्दै आएका छन्।
महँगो मूल्यको जहज टिकट भएपछि सर्वसाधारण नागरिकले सहजै टिकट पाउँदैन। सरकारी स्वामित्वको नेपाल एयरलाइन्स आफ्नो सेड्युलअनुसार उडान भरेको छ।
होटेलमै सकिन्छ जहाजभाडा
जहाज टिकट भनेको समयमा नपाउँदा होटेलमा खाँदै सकिने गरेको छ। बिहान–बेलुका खाना र वासमा जहाजभाडा सकिने गरेको सिमकोट गाउँपालिका– ८ कृष्णबहादुर शाहीले जानकारी दिए। ‘खानासँग मासु खान मन लागिहाल्छ, ३५० बिहान ३५० बेलुका गर्दा भाडा होटेलमै तिर्नुपर्छ,’ शाहीले भने ।
चंखेली गाउँपालिका– १ का तिलक बोहोराले कहिले पुग्ला हुम्लामा गाडी कहिलेसम्म हुम्लीले दुःख पाउने ? भन्दै प्रश्न गरे। जिल्लाबाट बाहिर जान सधैँ सकस मात्रै हुने गरेको उनले बताए।
नयाँपत्रिकाका लागि तयार पारिएको रिर्पोट