मुगु । छाँयानाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरेसम्म आफन्तले शव नबुझ्ने अडान कायमै राखेका छन्।
शवको पोष्टमार्टम भएको चारदिन बितिसक्दा पनि आफन्तले बुझ्न मानेका छैनन्।
सामूहिक हत्या भएको एक हप्ता भइसकेको छ। प्रहरीले हालसम्म घट्नामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। मृतकहरूको शव पोष्टमार्टमका लागि कार्तिक ११ गते जिल्ला अस्पताल ल्याएका थिए।
कार्तिक १२ र १३ गते शवको पोष्टमार्टम भइसकेको छ। शव तत्काल नउठाए अस्पताल क्षेत्र नै दुर्गन्धित हुने जिल्ला अस्पातका चिकित्सक अर्जुन भामले जानकारी दिए ।
कार्तिक ८ गते एकै परिवारका २८ वर्षीया श्रीदेवी बोहोरा,सात महिने छोरा रहर ८ वर्षीया छोरी अप्सरा बोहोरा र ११ वर्षीय छोरा मनोजको धारिलो हतियार प्रयोगबाट हत्या भएको थियो।
ुशवहरू अस्पातालमा छन्। आफन्तहरूले अहिलेसम्म खान र सुत्न समेत पाएका छैनन्। प्रहरीले ढिलो चाँडो भएपनि घटनामा संलग्न व्यक्ति समातेर कानुनी प्रक्रियामा ल्याउँछौं भनेर आश्वासन दिएको छ,ुपीडितका आफन्तले भने।
घट्नामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने पीडित पक्षले अडान लिएपछि शव नउठेको छाँयानाथ रारा नगरपालिका(६ का वडा अध्यक्ष मृतक श्रीदेवीका काका खेम रावलले बताए।
कार्तिक ११ गते नेपालगञ्जबाट तालिम प्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको छ।
घटना भएको सिंगो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिए तापनि घटना घटेको हप्ता दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन।
अनुसन्धानका क्रममा एकजनालाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
ढिलो सूचनाले दोषी पत्ता लगाउन समस्या
घटनाको सूचना ढिला पुग्नु, फोन, नेटले भनेको वेला काम नगर्नु र भौगोलिक कठिनाइका कारण अनुसन्धानमा केही ढिलाइ भइरहेको प्रहरी आफैँले बताउँदै आएको छ।
घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल दुई फोन सेटमध्ये एक सेट भेटिए पनि अर्को भिजोबल स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्यले हत्या भएको हुन सक्ने अनुमान गरी प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरे पनि हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न सकेको छैन।
कुनै क्लु नभेटाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई मुगु झिकाउनु भनेको समय खेर फाल्नु रहेको प्रनाउ वीरेन्द्र थापाले बताए। उनका अनुसार अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइबी टोली पनि मुगु आउन सक्छ।