जाजरकोट । बाँचेकाहरूलाई परिवारका सदस्य गुमाउँदाको अपूरणीय क्षतिले बेचैन बनाएको छ । तर, मरेका आफन्तको शवसँगै उभिएर शोकको यो घडीमा पनि राज्यलाई प्रश्न गर्नुपरेको छ– हामी कसरी बाँच्ने रुजाजरकोटको भेरी नगरपालिका– १ रावत गाउँ (कोलचौर)का मोहन विकले भूकम्पमा परिवारका ६ जना गुमाए । बुबा, छोरी, दुई भाइबुहारी र दुई भतिजा–भतिजीको मृत्यु भएको हो । घाइते आमाको उपचार भइरहेको छ । श्रीमती र सन्तान गुमाएका दुई भाइ विदेशमा छन् । उनीहरूले आफूहरू नआउन्जेल सद्गद् नगर्न भनेका कारण सबै मृतकको शव स्वास्थ्य सेवा कार्यालय जाजरकोटमै छ ।
परिवारकै ६ जनाको प्राण गएपछि मोहनलाई एक्लै कोलचौर घर जान मन छैन । ‘एउटा पालसम्म कसैले दिएको छैन, भग्नावशेषमा परिणत भएको घर गएर के गर्नु रु’ उनले भने, ‘प्रहरी टोली पठाएर सामान झिकिदिन भन्दा सुनुवाइ भएको छैन, न बस्ने ठाउँ छ, न खाने अनाज ? कसरी बाँच्ने ?’ उनकी श्रीमतीको पनि यसअघि नै रोगले निधन भएको थियो ।
रावत गाउँकै उर्मिला रावतले भूकम्पमा दुई छोरा गुमाइन् । यत्रो भयानक शोकमा पनि उनले प्रश्न गर्नुपरेको छ– त्रिपाल खोइ ? घर पूर्ण रूपमा क्षतिग्रस्त भएकाले उनको बस्ने ठाउँ छैन । उनलाई सम्झाउने आफन्तहरू पनि पुरानै त्रिपालमा छन् । ‘दुई छोरा गुमाएर उहाँ विक्षिप्त हुनुहुन्छ । शरीर कमजोर भएका वेला ओत लाग्ने गतिलो त्रिपालसम्म छैन । पुरानै त्रिपालमुनि बस्नुपरेको छ,’ छिमेकी रामकला रावतले भनिन्, ‘मर्ने त मरिसके, बाँचेका कसरी बाँच्ने भने अर्को चिन्ता थपिएको छ ।’
रामकला बोलिरहँदा छेवैमा चन्द्रकला रावतको गहभरि आँसु थियो । उनले पनि एक छोरा र एक छोरी गुमाएकी छिन् । मकै कुट्न घट्ट गएकाले भूकम्पबाट उनी त जोगिइन्, तर मुटुका टुक्रा गुमाइन् । उनले पनि अहिलेसम्म कुनै राहत नपाएको बताइन् । ‘छोराछोरी सम्झिँदा भक्कानो छुट्छ । यसो फर्किएर घर हेर्यो, झन् मर्माहत बनाउँछ,’ उनले पीडा पोखिन्, ‘यस्तो वेलामा पनि एउटा त्रिपालसमेत पाइएको छैन । बाँचेकाहरू पनि मर्नुपर्ने अवस्था छ ।’ जाजरकोट सदरमुकामकै शिवकुमार शाहको घर भूकम्पले क्षतविक्षत बनाएको छ । उनकी बुहारी गर्भवती छिन् । धुरी फाटेको घरमा बस्न मिल्ने अवस्था छैन । ६ जनाको परिवार वास नपाएर बेचैन छ । ‘नजिकै प्रहरी चौकी छ, खाली जग्गा पनि छ,’ उनले भने, ‘खाली जग्गामा पाल टाँगेर बसौँ भन्दा पनि प्रहरीले दिँदैन ।’
रावत गाउँ शोकमग्न
रावत गाउँमा मात्रै ३१ जनाको मृत्यु भएको छ । गाउँभरका १ सय ५० घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त छन् । सबै परिवार घरबाहिर छन् । रावत गाउँ शोकमग्न छ । पीडाको दुई दिनसम्म गाउँमा राहत पनि पुगेको छैन । जब कि उक्त गाउँ सदरमुकामबाट दूरीमा नजिकै छ । आइतबार दिउँसो मात्र राहत दिनका लागि टोली पुगेको र अब वितरण हुने स्थानीय अभियन्ता झलक बुढाले बताए ।
जाजरकोटमा मात्रै १ सय १ जनाको मृत्यु १ सय १२ घाइते
शुक्रबार राति ११स्४७ बजे ६।४ रेक्टरको भूकम्प गएको जाजरकोटमा पाँच पालिकाका १ सय १ जनाको मृत्यु भएको छ । बारेकोट, नलगाड, भेरी, कुशे र छेडागाडमा गरी १ सय १ को मृत्यु भएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए । दिउँसोसम्म १ सय ५ जनाको विवरण थियो, तर केही मृतकहरूको संख्या दोहोरिएको रहेछ,’ उनले भने ।
राहतमा एकद्वार प्रणाली, तर वितरणमा ढिलाइ
भूकम्पपीडितहरूका लागि भनेर विभिन्न संघसंस्थाले जाजरकोटमा राहत पुर्याएका छन् । दाल, चामल, त्रिपाल, कम्बललगायतका समानहरू लिएर पुगेका संघसंस्था र सरकारले समेत राहत वितरणलाई तीव्रता दिएको छ । जाजरकोटको त्रिभुवन माविमा राहतलाई एकद्वार प्रणालीमार्फत राखिएको छ । अत्यावश्यक परेका स्थानहरूमा स्थानीय पालिका र वडाका जनप्रतिनिधिहरूले उपलब्ध गराएको विवरणका आधारमा तत्कालै पठाउने भनिए पनि वास्तविक समस्या भएका पीडितसम्म राहत पुग्न नसकेको गुनासो आएका छन् ।
राहत वितरण प्रभावकारी बनाउन टोली निर्माण गरिएको र वडा तथा पालिकाको सिफारिसका आधारमा आएका निवेदनअनुसार तत्कालै राहत पु¥याउने काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए ।
‘हामी पीडितको घरसम्म छिटोभन्दा छिटो राहत पठाउने काममा जुटेका छौँ । पहिलो जिम्मेवारी मृतक र घाइतेहरूको उद्धार तथा उपचार थियो, त्यो सकिएको छ । अब पीडितहरूमा केन्द्रित हुन्छौँ । आइतबारदेखि राहत पुर्याउने काम सुरु भएको छ,’ उनले भने । विभिन्न संघसंस्थाले भने प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिरहेका छन् ।
तथ्यांक संकलनमा विलम्ब हुँदा राहत वितरणमा ढिलाइ
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत वितरणमा ढिलाइ भएको छ । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेकामा क्षतिको तथ्यांक संकलनमा ढिलाइ हुँदा राहत वितरण हुन नसकेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पालिकाबाट तथ्यांक प्राप्त भएपछि सबै क्षेत्रमा राहत पुग्ने बताए । ‘पालिकाले राहत वितरणमा तदारुकता नदेखाउँदा ढिलाइ भएको छ,’ उनले भने ।
जिल्ला विपत् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरे पनि पीडित परिवारको तथ्यांक संकलन नहुँदा राहत वितरणमा अलमल भएको भेरी नगरपालिका– ५ का मनबहादुर रावतले बताए । भूकम्पपीडितका लागि सरकारी तथा गैरसरकारी संस्थाले दिएको राहत एकद्वार प्रणालीबाट वितरण गर्नका लागि पीडितको रेकर्ड नहुँदा राहत वितरणमा समस्या भएको छ ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले क्षतिको विवरण संकलन भइरहेको र अब प्रभावितलाई अस्थायी बसोवासका लागि त्रिपाल, ओढ्ने ओछ्याउने, भाँडाकुँडा, खानेकुरा र अस्थायी आवासको काम रहने बताए । कर्णाली सरकारले भूकम्प प्रभावित क्षेत्रमा आर्थिक मामिला तथा योजनामन्त्री वेदबहादुर सिंह र आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलाई खटाएको छ । ‘उहाँहरूले त्यहाँको वस्तुस्थिति बुझेर समन्वयकारी भूमिका निर्वाह गर्नुहुनेछ,’ मुख्यमन्त्री शर्माले भने ।
मृत्यु भएकामध्ये १२० जनाको शव आफन्तले बुझे
भूकम्पका कारण मृत्यु भएका एक सय ५७ मध्ये एक सय २० जनाको शव आफन्तले बुझेका छन् । भूकम्पबाट जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा एक सय २० जनाको शव आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुकुम पश्चिममा मृत्यु भएका सबै ५२ शव आफन्तले बुझिसकेका छन् । जाजरकोटमा मृत्यु भएकामध्ये ६८ जनाको शव परिवारलाई जिम्मा लगाइएको छ ।
राहत नपुग्दा रातमा आहत
भूकम्पपछिका दुई दिनसम्म पनि खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू आहत बनेका छन् । ढलेका घरभित्रै खाद्यान्न र लत्ताकपडा पुरिएपछि बढ्दै गरेको चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ । पातला प्लास्टिकका पालमुनि पराल ओछ्याएर दुई रात गुजारिसकेका पीडितहरूले राज्यलाई प्रश्न गर्न थालेका छन् ।
‘दिनमा त घाम लाग्छ, अरू गाउँलेहरूसँग दुःख पोखेर मन शान्त पार्छु, चिसो रात कटाउन निकै समस्या छ, न ओढ्ने छ, न ओछ्याउने, न त खाने नै केही छ,’ रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १, चाइनाबगरकी पदमकला बुढाले गुनासो गरिन्, ‘अहिलेसम्म कतैबाट केही राहत पाएको छैन । राज्य कहाँ छ देखेको छैन रु’ घरनजिकै पाल टाँगेर बसेको छ उनको सातजनाको परिवार । व्यथा सबैको उस्तै छ । सानीभेरी– १, रजेलाकी काली दमाईंको परिवार पनि घरबाहिरै छ ।घरनजिकै छाप्रो बनाए पनि चारैतिरबाट छिर्ने चिसो थेग्न नसकिएको उनले बताइन् । ‘भएको जति सबै घरमै पुरियो, निकालेर प्रयोग गर्न मिल्ने छैन । ज्यान जोगाउन जसोतसो घरबाहिर निस्किँदा लगाएको एकसरो कपडाबाहेक केही छैन । ह्वांगै रहेको छाप्रोमुनि रात काट्न समस्या भइरहेको छ । पेटभरि खान पनि पाएको छैन,’ उनले भनिन्, ‘राहत आउँछ त भन्छन्, तर कहिले हो थाहा छैन ।’
शनिबार साँझसम्म उद्धार सकिएपछि आठबिसकोट नगरपालिकामा भने कर्णाली प्रदेश सरकारले सेनाको हेलिकोप्टरमा सुर्खेतबाट पठाएको राहत पुगेको छ । आइतबारदेखि राहत वितरण सुरु भए पनि थोरै परिमाणमा मात्रै भएकाले अधिकांशले भेटेका छैनन् । पहिलो चरणमा १३ पेटी बिस्कुट, २४ पेटी चाउचाउ, ५१ थान त्रिपाल, २० थान ठूलो टेन्ट, १८ थान पी फम आएको नगरपालिकाका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले बताए । त्यस्तै, नगरपालिकाले दाल, चामल, नुन, तेललगायत आवश्यक सामग्री तयार गरेर भूकम्प प्रभावित क्षेत्रतिर लैजान सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । पहिलो चरणमा २८ घरपरिवारलाई राहत सामग्रीसँगै बस्नका लागि त्रिपाल वितरण गरिने योजनाअन्तर्गत आइतबार ११, १२, १३ र १४ नम्बर वडाका भूकम्पपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको उनले बताए ।
तर, १४ नम्बर वडा छेपारेका नरे कामीले आइतबार साँझसम्म राहत फेला नपारेको बताए । ‘घर पूर्ण रूपमा ध्वस्त भइसकेको छ, जे थियो सबै घरमै पुरियो,’ उनले भने, ‘खाने, लाउने कसैले दिएको छैन । घरनजिकै सानो छाप्रो बनाएका छौँ, तर नजिकै बग्ने भेरी नदीबाट छुटेको सिरेटोले लुगलुग पार्छ । खै हामीले त कतैबाट केही पनि राहत भेटेको छैन ।’दुई दिन कटिसक्दा पनि राहत नआएकोमा स्थानीय तह रुष्ट छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले आइतबार साँझसम्म पनि कतैबाट राहत प्राप्त हुन नसकेको बताए । केही व्यक्तिबाट प्राप्त भएको र गाउँपालिका आफैँले सामान्य राहतको व्यवस्थापन गर्ने प्रयास गरेको भए पनि संघ र प्रदेश सरकारबाट कुनै पनि राहतको व्यवस्था नगरिएको उनले बताए ।
‘शनिबार प्रधानमन्त्री आउनुभयो, आइतबार रक्षामन्त्री, कर्णाली प्रदेशका मुख्यमन्त्री पनि आउनुभयो, तत्कालै राहत उपलब्ध हुने भन्नुभयो, तर अहिलेसम्म हामीले राहत पाउन सकेका छैनौँ,’ उनले भने, ‘भूकम्पपीडित भोकभोकै चिसोमा रात कटाइरहेका छन्, तत्कालै नदिने हो भने राहतको के अर्थ भयो र रु ढिलो आउने राहत चाहिन्न ।’
जिल्ला प्रशासन कार्यालयले भने राहत उपलब्ध हुने क्रम सुरु भएको जनायो । आइतबार साँझसम्म जिल्लामा केन्द्र र प्रदेश सरकार तथा विभिन्न दातृ निकाय र संघसंस्थाबाट खाद्य, गैरखाद्य र औषधिजन्य राहत उपलब्ध भएको कार्यालयले जनाएको छ । चामल, दाल, नुन, तेल, टेन्ट, त्रिपाल, स्लिपिङ ब्याग, कम्बल, ब्लयांकेट, लत्ताकपडा, सुरक्षा निकायका लागि आवश्यक सामग्री, हस्पिटल बेड, पानी, पी फम, दालमोठ, चाउचाउ, बिस्कुटलगायतका तयारी खाना, म्याट, झोला, पानी शुद्धीकरण गर्ने पियूष, बाल्टिन, स्लाइनपानीलगायतका सामग्री उपलब्ध भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उक्त सामग्री केही सम्बन्धित ठाउँमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको उनको भनाइ छ ।
आठबिसकोटका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक महिनाको तलब भूकम्पपीडितलाई दिने
आठबिसकोट नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको तलब भूकम्प प्रभावितका लागि सहयोग गर्ने भएका छन् । शनिबार बसेको नगर कार्यपालिका बैठकले भूकम्पपीडितको राहत तथा पुनस्र्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख रवि केसीले जानकारी दिए ।
त्यस्तै, नगरपालिकाले तत्कालका लागि मृत्यु भएका परिवारलाई २५ हजारका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ । नगरपालिकामा भूकम्पमा परी ४२ जनाको मृत्यु भएको छ । त्यस्तै, सानीभेरी गाउँपालिका– ६ घर भई अमेरिकामा रहेका मनराज देवकोटाले आफ्नो पालिकालाई विभिन्न प्रकारका राहतका सामग्री उपलब्ध गराएका छन् । त्यस्तै, बाँफीकोट गाउँपालिकाका हरि खत्रीले रुकुम पश्चिम र जाजरकोटका पीडितका लागि पाँच लाखबराबरका राहत सामग्री सहयोग गरेका छन् । उक्त सामग्री सम्बन्धित जिल्ला र पालिकालाई हस्तान्तरणको काम भइरहेको छ ।
खुला आकाशमुनि पीडित
घर भत्किएपछि पाल टाँगेर बसिरहेको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ रजेलाकी काली दमाईंको परिवार । भूकम्पपछिका दुई दिनसम्म पनि खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू आहत बनेका छन् । ढलेका घरभित्रै खाद्यान्न र लत्ताकपडा पुरिएपछि बढ्दै गरेको चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ । पातला प्लास्टिकका पालमुनि पराल ओछ्याएर दुई रात गुजारिसकेका पीडितहरूले राज्यलाई प्रश्न गर्न थालेका छन् । ‘भएको जति सबै घरमै पुरियो, निकालेर प्रयोग गर्न मिल्ने छैन । ज्यान जोगाउन जसोतसो घरबाहिर निस्किँदा लगाएको एकसरो कपडाबाहेक केही छैन । ह्वांगै रहेको छाप्रोमुनि रात काट्न समस्या भइरहेको छ । पेटभरि खान पनि पाएको छैन,’ काली दमाईंले भनिन्, ‘राहत आउँछ त भन्छन्, तर कहिले हो थाहा छैन ।’
पीडितको घरसम्म छिटोभन्दा छिटो राहत पठाउने काममा जुटेका छौँ
हरिश्चन्द्र शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, जाजरकोट
पीडितको घरसम्म छिटोभन्दा छिटो राहत पठाउने काममा जुटेका छौँ । पहिलो जिम्मेवारी मृतक र घाइतेहरूको उद्धार तथा उपचार थियो, त्यो सकिएको छ । अब पीडितहरूमा केन्द्रित हुन्छौँ । आइतबारदेखि राहत पुर्याउने काम सुरु भएको छ ।
उद्धार र उपचारपछि राहत वितरण सरकारको प्राथमिकतामा
पीडितलाई तीन दिनभित्र राहत सामग्री उपलब्ध गराउने, मृतकका परिवारलाई संघ र प्रदेश सरकारबाट दुई–दुई लाख तत्काल उपलब्ध गराइने