सुर्खेत । जाजरकोट केन्द्र विन्दु भएर गएको भुकम्पमा मृत्यु भएका १३ जनाको सामुहिक अन्त्यष्टी गरिएको छ ।
भुकम्पमा परेर जाजरकोट र रुकुम(पश्चिम)का विभिन्न स्थानमा ज्यान गुमाएकाहरुको आइतबार सामुहिक अन्त्यष्टि गरिएको हो ।
जाजरकोटको रिम्ना, नलगाडदेखि रुकुम पश्चिमको आठबिसकोटसम्म भेरी नदी किनारमा सामूहिक दाहसंस्कारको दारुण दृश्यले कसैका आँखा ओभाना थिएनन् ।
शुक्रबार मध्यरातिको भूकम्पमा ज्यान गएका रुकुम पश्चिम र जाजरकोटमा प्रायः गाउँ भेरी आसपास छन् । भूकम्पले धेरै मानवीय क्षति बेहोरेको गाउँमध्येको जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी टोलका सात परिवारका १३ जनाको आइतबार एकसाथ अन्त्येष्टि गरिएको छ ।
यहाँ एकै घरका चार जनासम्मको पनि ज्यान गएको छ । चिउरी टोलका हिरे कामी र उनकी श्रीमती चन्द्रकलासहित छोरा विमल र सुनिलको एकै चिहान भएको छ । अब उनको परिवारमा एउटी सानी छोरी मात्रै बाँचेको स्थानीय पार्वती चनाराले बताइन् ।
स्थानीय हस्तबहादुर विकले छोरा भीमसेन, बुहारी कमला र सँगै नाति सञ्जयलाई गुमाएका छन् । उनको छिमेकमा आमा मनीषा विक र छोरा विशालको पनि एकसाथ ज्यान गएको छ । ‘एक जनाको मात्रै मृत्यु हुँदा शोकमा डुब्ने बस्तीमा एकसाथ १३ जनाको मृत्युको त कल्पना नै थिएन । यस्तो अवस्थामा कोही सम्हालिन सकेका छैनौं,’ स्थानीय गोविन्द महर भन्छन्, ‘बाँचेकाहरूका पनि केहीका शरीर र सबैका मनमा घाउ लागेको छ । तैपनि आफन्तको लास बोकेर भेरी नझरी नहुने ।’ एकै परिवारका ३–४ जनाको मृत्यु भएको घरमा किरिया बस्नेसमेत कोही नभएको स्थानीय सुनाउँछन् । मलामीमा पनि महिला र बालबालिका नै धेरै थिए ।
स्थानीय कल्पना विकले आफन्त गुमाउनुको पीडासँगै घरबास पनि नरहँदा झनै पीडा भइरहेको बताइन् । ‘मलामीबाट त नफर्की भएन । तर न घर छ न खाने गाँस ।’ मृतकका आफन्त दुई दिनदेखि खुला आकाशमुनि बसिरहेका थिए । आइतबार त्रिपाल टाँगेर भाइको किरिया बसेको आठबिसकोट–१३ का कर्णबहादुर विकले बताए । आठबिसकोटमा ४२ र नलगाडमा ५५ जनाको मृत्यु भएको छ । नलगाड–११ चिउरी टोलमा मात्रै १३ जनाको मृत्यु भएको हो । चिउरी टोलका १ सय ८६ घरमध्ये ५६ ध्वस्त भएका छन् । अन्य धेरैजसो घरमा पनि बस्न नमिल्ने अवस्था रहेको स्थानीय सुरेश विकले बताए । यो टोलका ११ जना घाइते अस्पताल भर्ना भएका छन् । धेरैजसोले घरमा भएको त्रिपाल टाँगेर सामूहिक ओत बनाएका छन् ।