काठमाडौं । शुक्रबार मध्यरात जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएयता मात्र ४ सय ३९ पटक परकम्प गएका छन् ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसमध्ये ४ म्याग्निच्युडभन्दा माथिका १० वटा परकम्प गएको छ । जसमा सबैभन्दा ठूलो परकम्प सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको थियो ।
सामान्यतः परकम्पहरू प्रमुख भूकम्पभन्दा १ इकाइ कम हुने गरेको छ । तर सोमबारको परकम्प त्योभन्दा ठूलो थियो ।
मंगलबार दिउँसो बाजुरालाई केन्द्रबिन्दु बनाए ४ म्याग्निच्युडको परकम्प गए पनि त्यो जाजरकोट भूकम्प नभई एक महिनाअघि गएको बझाङ भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए । ‘ठूलो भूकम्प भएपछि स–साना परकम्प जाने गरेका छन् । अन्यत्र त्यसले जोखिम न्यूनीकरण गर्छ । तर पश्चिम नेपालमा त्यस्तो अवस्था छैन,’ भट्टराईले भने, ‘मंगलबार बाजुरामा गएको भूकम्प जाजरकोटको नभई गत महिना बझाङमा गएको भूकम्पको परकम्प हो ।’
सामान्यतया साना भूकम्प र परकम्पले भूगर्भमा लामो समयदेखि सञ्चित इनर्जी बाहिरिने र तत्काल ठूला भूकम्पको जोखिमलाई कम गर्ने वैज्ञानिकहरू बताउँछन् । तर, भट्टराईले पश्चिम नेपालमा सयौं वर्षदेखि ठूलो भूकम्प नगएका कारण स–साना परकम्प जाँदैमा महाभूकम्पको जोखिम कम भएको ठान्न नहुने बताए । उनका अनुसार ५ म्याग्निच्युडका ३२ वटा भूकम्प गयो भने ६ म्याग्निच्युडका भूकम्प बराबरको इनर्जी बाहिरिन्छ । त्यसैगरी ७ म्याग्निच्युड बराबरको इनर्जी बाहिरिन ५ म्याग्निच्युडका हजार वटा भूकम्प जानुपर्दछ । शनिबार मात्रै ४.२ म्याग्निच्युडका दुई, ४.३, ४.५ र ४.६ म्याग्निच्युडका गरी ५ वटा परकम्प गएको थियो । त्यसैगरी आइतबार ४ र ४.१ म्याग्निच्युड र सोमबार ५.८ तथा ४.५ म्याग्निच्युडका दुई वटा परकम्प गएका थिए । सबै परकम्पको केन्द्रबिन्दु रामीडाँडा नजिकै रहेका छन् ।
सन् १५०५ यता पश्चिम नेपालमा ठूला भूकम्प नगएका कारण जुनसुकै बेला त्यस क्षेत्रमा महाभूकम्प जान सक्ने चेतावनी वैज्ञानिकले दिँदै आएका छन् । ५ सय १८ वर्षअघि पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पले नेपालदेखि तिब्बतको ल्हासा र भारतको दिल्लीमा समेत क्षति पुर्याएको थियो । त्यस समयमा भूकम्पमा परेर तिब्बतको तात्कालीन राजाको समेत मृत्यु भएको इतिहासमा भेटिन्छ । त्यसैगरी दिल्लीको कुतुब मिनारसमेत भत्किएको थियो । सोमबार जाजरकोट रामीडाँडालाई केन्द्रबिन्दु भएको गएको ५.८ म्याग्निच्युडको भूकम्प जाँदा थप १६ जना घाइते भएका छन् । ‘ठूलो भूकम्प गएको समयमा परकम्प गइराख्ने भएकाले चर्किएका र भत्किएका घरमा बस्नु हुँदैन । सानो परकम्पले पनि त्यो भत्काउन सक्छ,’ भट्टराईले भने ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का भूकम्पविद् शिव सुवेदीले परकम्पको चरण केही समय चल्ने बताए । ‘ठूलो भूकम्पको केन्द्रबिन्दु नजिकै परकम्प गइरहेको छ । यो केही समय चल्छ । स्थानीय रूपमै जमिन तलको हलचल हो । सेटलमेन्ट हुन केही समय लाग्छ,’ सुवेदीले भने ।
शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवार घरबारविहीन भएका छन् । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन् । यो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् ।
सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५३ जनाको मृत्यु भएकामा १ सय १ जना जाजरकोटका छन् । यो जिल्लामा १ सय ३३ जना घाइते छन् । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन् । भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्पले क्षति सबै दिशामा उत्तिकै प्रभाव नभएको देखिएको छ । शुक्रबार राति ११ बजेर ५७ मिनेटमा गएको उक्त भूकम्पको धक्का काठमाडौंदेखि भारतको दिल्लीसम्म महसुस गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा पुगेका अध्ययन टोलीले सबै दिशामा उस्तै प्रभाव नपरेको जनाएको छ । ‘समग्रमा क्षति अत्यधिक भए पनि सबै दिशामा उस्तै प्रकारको क्षति देखिएको छैन । हामी पुगेको भूकम्पको केन्द्रबिन्दुभन्दा पूर्वतर्फ जति क्षति भएको छ, पश्चिमतर्फको क्षेत्रमा कम क्षति भएको देखिन्छ । दुवैतर्फका घरहरू ढुंगामाटाकै हुन् र बनाउने तरिका पनि एकै प्रकारको छ ।’ नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान नास्टका भूकम्पविद् शिव सुवेदीले भने, ‘यो गोर्खा भूकम्पजस्तै डिरेक्सनल इफेक्ट पनि हुन सक्छ । गोरखामा पूर्वी जति क्षति भएको थियो, पश्चिमतर्फ जोडिएको जिल्ला लमजुङमा कम क्षति देखिएको थियो ।’