काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल दुबइको अल माक्तोउम रङ्गशालामा नेपाली समयअनुसार विहीबार राती साढे ९ बजे सुरु हुनेछ ।
नेपालले झण्डै ४ दशक पछि यूएईसँग खेल्न लागेको हो । सन् १९८४ मा भएको एसिया कपमा नेपाल ११–० ले पराजित भएको थियो । नेपालका मूख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताका लागि आफुहरुले राम्रो तयारी गरेको र यूएईसँग नडराएको बताउनुभएको छ ।
बुधबार भएको ‘प्रि–म्याच कन्फरेन्स’ मा उहाँले यूएर्ई बलियो टोली भए पनि नेपालले पनि राम्रो तयारी गरेकाले राम्रो नतिजा निकाल्ने बताउनुभयो । नेपालले यूएईसँग काठमाडौँमा पनि खेल्नेछ ।
नेपाल रहेको समूह एचमा यूएईसहित बहराईन र यमन छन् । नेपालले लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो ।
नेपाली टोली:
गोलकिपिङ: किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल ।
डिफेन्स: सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ ।
मिडफिल्ड : लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल ।
फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार ।