सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो पटक अहिलेसम्मकै सर्वाधिक ठूलो राशिको पुरस्कार गरेको फुटबल प्रतियोगिता शुरु भएको छ ।
हुम्ला गोल्ड कप नाम दिइएको उक्त प्रतियोगिता हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको हो ।
हुम्ला जिल्ला स्तरीय फुटबल प्रतियोगीताको बिजेताले रु. दुई लाख एक सय एघार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु बहादुर रावतले बताउनुभयो ।
‘हुम्लाको प्रतियोगिताको इतिहाँसमा हालसम्मकै सर्वाधिक बढि पुरस्कार राशिको प्रतियोगिता आज ४ मङ्सिर ४ बाट शुरु भएको छ’, अध्यक्ष रावतले नेपालवोटसँग भन्नुभयो, ‘हुम्ला गोल्ड कप बिजेता टिमले दुई लाख १ सय ११ रुपैयाँ पुरुस्कार, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख १ सय ११ रुपैयाँ नगद प्राप्त गर्ने भएका छन् ।’
प्रतियोगिताका लागि १ मङ्सिरदेखि ३ गते साँझ ४ बजेसम्म टिम दर्ता गरिएको थियो । मङ्सिर २ गतेबाट सञ्चालन हुने भनिएको भएपनि विभित कारणले ४ गतेबाट शुरु भएको हो । ‘खेल मैदानको केही मर्मत गर्नुपर्ने भएपछि दुई अघि हुने भनिएको भएपनि मङ्सिर ४ गतेबाट सञ्चालन गर्ने गरी मिति सारिएको छ । खेल मैदानमा खाल्डाखुल्डी भएको र त्यसलाई मिलाउनुपर्नेका साथै प्रतियोगितामा सहभागिता जनाउने क्लबहरूले पनि केही तयारी गर्न बाँकी रहेका कारण खेलको मिति सरेर ४ गतेबाट शुरु भएको हो । प्रतियोगितामा जिल्लाका १२ वटा क्लबले टिम दर्ता गराएका छन्’ उहाँले थप्नुभयो ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ भने प्रत्येक प्रतिगोगितामा म्यान अफ द म्याचको व्यवस्था पनि गरिएको छ । यो प्रतियोगिता सञ्चालन गर्न २० लाख लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।