खलंगा । जाजरकोटको जानकी फाउण्डेशनले भुकम्प पिडितहरुका लागि ५ लाख बाराबरका न्यानो कपडा र खाद्य सामाग्री वितरण गर्ने भएको छ ।
गएको कार्तिक १७ गतेराति ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प पिडितहरुलाई खुला आकाशमा हिउँदो जाडोले समस्या पारेपछि फाउण्डेशनले ब्लांकेट, जकेट, सल, मास्कलगायतका सामाग्री वितरण गर्न लागेको फाण्डेशनका संरक्षक तथा नेकपा (एमाले) केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिनुभयो ।
‘भुकम्प गएको तिन साता बितिसक्दा समेत पिडित नागरिकहरुको खोज, उद्वार, उपचार, राहत र पुनःस्थापनाका कामहरु चलिरहे पनि हिउँदको जाडोमा त्रिपाल भित्र कष्टकर जीवन बिताउनु परेको अवस्थालाई मध्यनजर गर्दै फाउण्डेशनले भुकम्प पिडितहरुका लागि २५० उनी सल, २५० ज्याकेट, ७०६ उनी टोपी, एक हजार मास्क लगायतका सामाग्री वितरण गर्न थालेको हो’, एमाले केन्द्रीय सदस्य सिंहले थप्नुभयो, ‘पिडिंतलाई हिउँदको जाडोबाट बचाउनका लागि हामीले अन्य सहयोग पनि जुटाइरहेका छौं ।’
एकछाक खाना नखाउ, पुरानै कपडा लगावौं तर नागरिकको पिडामा थोरै भयपनि मलम लगाउन पाऊँ भन्ने आफ्नो अपेक्षा पूरा गर्न अष्ट्रेलियामा अस्थायी व्यवसाय गरेर बसेका रमेश सिंहले २ हजार, कन्चन गुरुङ सिंहले १ हजार ५ सय, दिपेन्द्र थापाले २ सय ५०, अशोक चन्दले २ सय, सन्तोष केसिले १ सय ५०, मन्जित घिमिरे (शुसन)ले एक सय, रिता गुरुङ (श्रेष्ठ)ले एक सय, रिबिसा गुरुङले एक सय, प्रस्तुति गुरुङले एक सय अष्ट्रेलियन डलर सहयोग गरेको रकमले न्यानो कपडा वितरण गर्न लागेको नेता सिंहले बताउनुभयो ।
केन्द्रीय सदस्य सिंहले ०७२ सालको भुकम्पको महाविपत्तिमा आप्mनो धर्मपत्नीको नाममा सामाजिक सेवा गर्ने उद्देश्यले जानकारी फाउण्डेशन स्थापना गर्नु भएको थियो । २०७२ मा काठमाडौंका भुकम्प पिडितहरुका लागि फाउण्डेशनका तर्फबाट खाद्यन्य सहयोग गर्नु भएका सिंहले यो पटक आप्mनो गृह जिल्ला जाजारकोटका भुकम्प पिडितहरुका लागि न्यानो कपडा सहयोग गर्न लाग्नु भएको हो ।
काठमाडौंमा खरिद गरेर प्रभावित क्षेत्रमा पठाइएको सहयोग सामाग्री केहि दिनपछि स्थानीय तहको रोहबरमा जाजारकोटका भुकम्प पिडितहरुलाई वितरण गरिनेछ ।
भुकम्पबाट जाजरकोटका नलगाड, भेरि, कुसे र छेडागाडमा १०१ जना, रुकुम पश्चिमको आठबिसकोट र सानोभेरीमा ५४ जना नागरिकले ज्यान गुमाएका छन् भने जाजरकोटमा मात्र ३५ हजार बढि घरपरिवार त्रिपाल मुनि बस्न बाध्य छन् ।