सुर्खेत । जाजरकोटकी मनसरा शाही (नाम परिवर्तन) र बैतडीका भूपेन्द्र ठगुन्नाको सामाजिक सञ्जाल टिकटककै माध्यमबाट चिनजान भएको थियो । उनीहरूको टिकटकबाट सुरु भएको कुराकानी फेसबुक, ह्वाट्सएप हुँदै फोन नम्बर सााटासाटसम्म पुग्यो । कुराकानी बाक्लिँदै गएपछि उनीहरू बिहे गर्नेसम्म कुरा हुन थाले । मनसरालाई भूपेन्द्रले काठमाडौंमा भेट्न आग्रह गरे ।
मनसरा भूपेन्द्रको आग्रह मान्दै गत वर्ष मंसिर १५ गते सुर्खेतबाट काठमाडौं पुगिन् । नेपाल प्रहरीका जागिरे भूपेन्द्रको ड्युटी छ सर्वोच्च अदालतमा । काठमाडौं पुगेपछि मनसरा गाउँकै साथीको कोठामा बस्ने गरिन् । केही दिनपछि भूपेन्द्रकै आग्रहमा बागबजारमा कोठा भाडामा लिएर बस्न सुरु गरिन् । बिहे गर्ने आश्वासनमा उनी तीन महिना सँगै बसिन् ।
‘विवाहको प्रलोभन देखाउँदै मलाई निरन्तर उसले (भूपेन्द्र) शारीरिक सम्बन्ध राख्यो,’ उनले भनिन्, ‘गर्भ रहेपछि मलाई गाउँमा जान दबाब दियो ।’ दबाब सहन नसकेपछि उनी गाउँ फर्किइन् । ‘बच्चा खेर जाँदा भूपेन्द्रले मलाई बिहेपछि बच्चा जन्माउला चिन्ता नगर भनेर फकाए । बच्चा खेर जाँदा म धेरै बिरामी भएर अस्पताल भर्ना हुँदा मलाई फोनबाट ब्लक गरे,’ उनले भनिन् ।
वैशाख १ गते भूपेन्द्र १५ दिनको बिदा स्वीकृत गराएर नयाँ वर्षको दिन सुर्खेत पुगे । मनसरा लोक सेवाको तयारीका लागि केही महिनायता वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएकी थिइन् । भूपेन्द्र दुई दिन मनसरासँगै कोठामा बसे । उनी त्यताबाट सुदूरपश्चिम लागेका थिए । त्यहीबेला मनसराको पेटमा गर्भ रहन गयो । ‘मेरो पेटमा बच्चा बसेको थाहा हुनासाथ उहाँले मेरो फोन ब्लक गर्नु भएछ,’ उनले भनिन्, ‘पछिल्लो समय त भूपेन्द्रले मात्रै होइन्, उहाँका आफन्त, दिदी–बहिनीले पनि भूपेन्द्रबाट टाढा रहन भन्दै धम्की दिन्छन् ।’
भूपेन्द्रले वास्ता नगरेपछि मनसराले भूपेन्द्रविरुद्ध मंसिर १५ गते जाहेरी लिएर सुर्खेत जिल्ला प्रहरी कार्यालय पुगिन् । प्रहरीले आफ्नै कर्मचारीविरुद्ध आएको जाहेरी लिन मानेन । प्रहरीले जाहेरी दर्ता नगरेपछि मनसरा जिल्ला सरकारी वकिल कार्यालय पुगिन् । दुई दिनपछि सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्नु भन्दै प्रहरीलाई पत्र पठायो । प्रहरीले सरकारी वकिल कार्यालयको पनि पत्रलाई मानेन ।
प्रहरी र सरकारी वकिल कार्यालयबाट राम्रो सहयोग नपाएपछि मंसिर ३० गते राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पुगिन् । आयोगले जिल्ला प्रहरी कार्यालयलाई तत्काल मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि बल्ल प्रहरीले मुद्दा दर्ता गर्यो गरेर अदालत पुर्यायो । मनसराले भनिन्, ‘भूपेन्द्र प्रहरी कर्मचारी भएकाले होला मलाई मुद्दा फाँटका प्रहरीले केही रकम लिएर मिल्न निकै दबाब दिए ।’ मनसराले आफू पीडित भए पनि प्रहरी गाडी पठाएर आफूलाई दिनदिनै प्रहरी कार्यालयमा बोलाएर मिल्न दबाब दिएको बताइन् ।
‘मसँग भएका म्यासेज, अडियो रेकर्डलगायतका प्रमाण वकिललाई दिँदासमेत अदालतमा पेस गरेकाले म बाध्य भएर तरकारीमा प्रयोग हुने विषादी खाएकी हुँ,’ उनले भनिन् । भूपेन्द्रले न्यायाधीशकै अघि गालीबेइज्जती गरेको पनि मनसराले बताइन् । अदालतले भूपेन्द्रलाई धरौटीमा छोड्ने निर्णय सुनाएपछि उनले अदालत परिसरभित्रै विष सेवन गरिन् । प्रहरीले तत्कालै कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो । मनसरा ५ दिनपछि डिस्चार्ज भएकी मनसरा अहिले पनि न्यायको खोजीमा भौँतारिरहेकी छन् ।