दैलेख । लोपोन्मुख राउटे समुदायकी १२ वर्षीया बालिका दुर्गा शाहीको बिहीबार राति निधन भयो। झन्डै एक महिना अघिदेखि उनी बिरामी थिइन्। उनी हरिबहादुर शाही र जीवन शाहीको छोरी हुन्। पछिल्लो पटक राउटे बस्ती बसेको भैरवी–४ गडाजिउँलामा उनको निधन भएको राउटे परियोजनामार्फत राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीले बताए।
बिरामी परेपछि दुर्गालाई औषधि सेवनसँगै खानपानमा विशेष ध्यान पुर्याउन आग्रह गरिएको थियो। तर, माघे संक्रान्तिमा असन्तुलित खानपानका कारण बिमारले थप च्यापेको हुन सक्ने खत्रीको भनाइ छ। ‘राउटे समुदायका मुखिया सूर्यनारायण शाहीलगायतले दुर्गाको बिहीबार मध्यरातमा निधन भएको भन्नुभएको छ। उनको निधनबारे हामीले शुक्रबार बिहानमात्रै थाहा पायौैं, खत्रीले भने। दुर्गाको निधनपछि राउटे समुदायको बस्ती भैरवी गाउँपालिकाबाट सरेको छ। चामुण्डाविन्द्रासैनी–४ सुइयाँतडामा बस्ती सरेको हो। परिवारका सदस्यको निधन भए राउटे समुदायले बस्ती नै सार्ने चलन छ।
दुर्गाको निधनपछि समुदायको जनसंख्या १ सय ३७ मा झरेको छ। जेठसम्म राउटेको जनसंख्या १ सय ४२ थियो। त्यसयता समुदायका ५ जनाले ज्यान गुमाइसकेका छन्। जेठ २३ गते समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीका ९१ वर्षको उमेरमा निधन भएको थियो। दैलेखको गुराँस गाउँपालिकाले उपलब्ध गराएको परिचयपत्रमा उनको जन्म १९८९ वैशाख १२ उल्लेख छ। त्यसयता समुदायका तुल्सी शाही, शान्ति शाही, महामुखिया ६६ वर्षीय महिनबहादुर शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँचमहिने शिशु बालकुमारी शाही, एकमहिने शिशु भैरव शाहीको निधन भएको शिक्षक दुर्गा खत्रीले जानकारी दिइन्। अस्वस्थकर खानपान, अत्यधिक मदिरा सेवन, कुपोषण र चिसोलगायतका कारण यो समुदाय उच्च जोखिममा छ। यो समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या पनि उच्च छ। हाल चिसो बढेसँगै राउटे समुदायमा स्वास्थ्य समस्या पनि बढ्दै गएको छ। काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धा थप जोखिममा छन्।
दक्षिण एसियाकै एकमात्र फिरन्ते जाति राउटेले नेपाललाई विश्वमा चिनाएको छ। नेपालको सांस्कृतिक विविधता झल्काउन पनि यो जातिको भूमिका महत्त्वपूर्ण छ। विशेषगरी कर्णालीका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलमा बसोबास गर्ने यो समुदाय मुलुकको सम्पदा र कर्णालीको गहनाको रूपमा चिनिन्छ। आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन्।
कुनै समय यो समुदायको जीविकोपार्जनको मुख्य स्रोत सिकार गर्नु, काठका सामान निर्माण गरी खाद्यान्नसँग साट्नु थियो। वनजंगलमा गिठाभ्याकुर, तरुल, च्याउलगायतका कन्दमूलको भरमा उनीहरू जीविकोपार्जन गर्थे। जथाभावी सडक विकासले वन उजाड बन्दै गएको छ। पानीका मुहान सुक्न थालेका छन्। त्यसको प्रत्यक्ष प्रभाव राउटे समुदायमा परेको छ। जंगलका छेउछाउ, पहाडको खोंच तथा टाकुरा र नदीकिनारमा बसाइँ सरिरहने यो समुदायले पछिल्ला केही वर्षयता कन्दमूलहरू गिठा, भ्याकुर, च्याउलगायतका जंगली जडीबुटीहरू पर्याप्त मात्रामा पाउँदैनन्। उनीहरू जहाँ–जहाँ बसाइँ सर्छन्, त्यहाँ–त्यहाँ खानेपानीको जोहो गर्नै सकस छ। उनीहरूको जीविकोपार्जनको मुख्य स्रोतसमेत गुम्दैछ। सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन धानिरहेको राउटे समुदायका नागरिक बताउँछन्।
यो समुदायलाई नजिकबाट नियाल्नेहरू राउटे नागरिकहरू जलवायु परिवर्तनको प्रत्यक्ष मारमा पनि पर्न थालेको बताउँछन्।