जाजरकोट। फिम खेती वा ओसारपसार गर्नेसम्बन्धी कसुरमा भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका ९ का २० पुरुष जेल परेका छन् ।
अफिम खेती वा ओसारपसार गर्नेसम्बन्धी कसुरमा नलगाड ९ घोरेङ्गा, बाँसकोट र ताँत्रा गाउँका २० युवा जेल परेका हुन् । आर्थिक प्रलोभनमा एक अपरिचित व्यक्तिको अफिम ओसारपसार गर्दा उनीहरू जेल गएका हुन् । २० जना युवालाई ३ वर्षदेखि १० वर्ष सम्मको कैद सजाय तोकिएको छ ।
जसमा १२ जना भारतीय कारागार र पाँचजना जाजरकोट कारागारमा छन् । यस्तै, सुर्खेत, बाँके र काठमाडौं कारागारमा एक÷एकजना रहेका छन् । परिवारका मूल व्यक्ति घरमा कमाउने मान्छे नै जेल गएपछि परिवारको विचल्ली भएको छ । धन कमाउने अभिभावक जेल परेपछि गाउँमा साना बालबालिका, महिला, अपांगता भएका व्यक्ति, दीर्घरोगी र बेसाहारा व्यक्तिहरू मात्रै छन् ।
भूकम्पले चर्किएका घर छोडेर हाल त्रिपालमा बसिरहेका पीडित परिवारलाई खान(लाउनै समस्या भइरहेको छ । काम गर्ने सक्रिय युवाहरू नै जेल परेपछि अस्थायी टहरासमेत निर्माण गर्न नसकिएको स्थानीय लक्ष्मी सिंहले बताउनुभयो । ‘धन कमाउने श्रीमान् जेलमा हुनुहुन्छ । आयस्रोत केही छैन । १० जनाको घर परिवारलाई के खाऊँ रु के लगाऊँ रु भन्ने पिरलो छ,’ उहाँले भन्नुभयो, ‘अर्कोतिर भूकम्पले घर चर्किएपछि अस्थायी टहरासमेत बनाउन सकिएको छैन । त्रिपालमै चिसो रात काट्न बाध्य भएका छौँ । स्वास्थ्य अवस्थासमेत कमजोर बन्दै गएको छ ।’
लक्ष्मी सिंहका तीन छोरा र तीन छोरीसहित घरमा बुढा सासू(ससुरा हुनुहुन्छ । श्रीमान् प्रेम सिंह जेल परेपछि खानाको जोहोका लागि काम गर्नुपर्ने बाध्ययताले जेठो छोराले समेत पढाइ छाडिसक्नु भएको छ । अन्य छोरा(छोरीलाई पनि पढाइ छाड्नुपर्ने बाध्यता आइपरेको छ ।
उहाँजस्तै पीडित सबै परिवारको अवस्था उस्तै छ । कमाएर परिवार पाल्ने श्रीमान् जेल परेपछि परिवारमा मानसिक विचलन आएको सुशीला सिंहले बताउनुभयो । श्रीमान् जेल पर्दा काम गरेर १२ जनाको परिवार पाल्नुपर्ने पीडाले थिचेको उहाँको भनाइ छ । यसैमाथि भूकम्पले दिएको थप पीडाले परिवार विक्षिप्त बनेको उहाँ बताउनुहुन्छ । सुशीलाका चार वर्षदेखि २२ वर्ष सम्मका दुई छोरा र आठ छोरी छन् । काम गर्ने जेठो छोरा र बुहारीसमेत छुट्टिएर अलग बस्न थालेपछि बाँकी परिवार पाल्न उहाँलाई हम्मेहम्मे परेको छ । ‘लोग्ने मान्छे घरमा हुनेहरू त्रिपालबाट टहरामा सरेका छन् । तर, हामीलाई अस्थायी टहरा पनि बनाउन हम्मेहम्मे परेको छ । घर बनाउने कल्पना नै छैन,’ उहाँले भन्नुभयो, ‘पहिले घरमा भेडाबाख्राहरू धेरै थिए । कमाउने श्रीमान् जेल परेपछि सबै बेच्दै खाँदै ग¥यौँ । अब एउटा भैँसी मात्र बेच्न बाँकी छ ।’
घरमा गरिबीले थिच्दै गएपछि सुशीलाका माइलो छोरासमेत कामका लागि पढाइ छोडेर भारत छिर्नुभएको छ । गाउँमा काम पनि नपाइने र पाइएको कामले पनि परिवारलाई खान लगाउन मुस्किल परेको उहाँ बताउनुहुन्छ । घरमा खान(लाउन मुस्किल परेपछि छोराछोरी पढाउन छोडेर काममा लगाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
घरमा कमाउने बुवा कालिबहादुर सिंह जेल परेपछि आफूले पढाइ छोडेर परिवारको आहारा जोहो गर्न बाध्य भएको छोरा राजेन्द्र सिंहले बताउनुभयो । ‘बुढी आमा, श्रीमती र सानो छोराको भोको पेट हेर्न सकिनँ । त्यसैले पढाइ छोडेर ज्यालादारी काममा लागेको छुँ,’ उहाँले भन्नुभयो, ‘त्यसैमा झन्, भूकम्पले पीडा थपेको छ । अस्थायी टहरा पनि बनाउन सकेका छैनौँ ।’
काम गर्ने युवाहरू जेलमा हुँदा गाउँका महिलालाई बच्चा पाल्न नै धौ(धौ परेको स्थानीय महेन्द्र सिंहले बताउनुभयो । उनीहरूको भूकम्पले चर्किएका घरटहरा बनाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । ‘जेल परेका युवाहरूको गलत नियत थिएन । काम गरेर खाने सिधासाधा व्यक्तिहरू आर्थिक प्रलोभनमा फसेका हुन्,’ उहाँले भन्नुभयो, ‘एक अपरिचित व्यक्तिले गाउँमा अफिम संकलन गरेको रहेछ । त्यही अफिम नेपालगञ्ज पु¥याइदिएबापत प्रतिकिलोको आठ(१० हजार रकम दिने भनेपछि ओसारेका रहेछन् ।’
लागुऔषधसम्बन्धी कसुरको सजायअन्तर्गत २५ बोेटभन्दा बढी अफिम वा कोकाको खेती गर्नेसम्बन्धी कसुरका आधारमा अफिम वा कोकाको खेती गर्ने, वा कसुरको गम्भीरता, कसुरदारको दोषीपना कसुरबाट पुगेको क्षति तथा कसुरबाट भएको वा हुनसक्ने जोखिम समेतलाई आधार मानी कानुनअनुसार २० जना युवालाई तीन वर्षदेखि १० वर्षसम्मको कैद सजाय तोकिएको छ ।
सहयोग गर्न संघ संस्थालाई अपिल
वडा अध्यक्ष भविन्द्रबहादुर सिंहले जेलमा रहेका युवाहरूको परिवारलाई सहयोग गर्न अपिल गर्नुभएको छ । चारैतिर भूकम्पले थला पारेको अवस्थामा वडाले हेर्न नसकेको भन्दै परिवारको अस्थायी टहरा निर्माण तथा खाद्यान्न सहयोगका लागि उहाँले सबै संघ संस्थालाई आग्रह गर्नुभएको हो । नगरपालिकाका मेयर डम्बरबहादुर रावत अन्य भूकम्प पीडितभन्दा युवा जेलमा रहेका पीडित परिवारलाई धेरै सहयोग गर्नुपर्ने अवस्था रहे पनि पालिकाले सोचेअनुसार सहयोग गर्न नसकेको स्वीकार गर्नुहुन्छ ।
यस्तो अवस्थामा पीडितको घाउमा मलम लगाउन सहयोगी दाताहरूलाई उहाँले अपिल गर्नुभयो । ‘अस्थायी टहरा निर्माणका लागि २५ हजार रकम वितरण गरेका थियौँ । तर, खान लगाउन नै धौ–धौ भएपछि उहाँहरूले टहरा निर्माण गर्न सक्नुभएको छैन,’ उहाँले भन्नुभयो, ‘पालिकाले भूकम्प प्रतिरोधी भवन निर्माण मापदण्ड बनाउँदै छ । तर, अस्थायी टहरा नै बनाउन नसक्ने अवस्थाका व्यक्तिले कसरी प्रतिरोधी घर बनाउँछन् रु चिन्ता र चासोको विषय हो । पालिकासँग स्रोत पनि छैन ।’