बैशाख १, मलंगवा । सर्लाहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने ४१ जना घाइते भएका छन्।
आइतबार बिहान लालबन्दी नगरपालिका १ नवलपुरको बागवानी नजिक यात्रु बस पल्टिँदा तीन जना, मध्यान्ह लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जना र दिउँसो सलेमपुरमा टाटाभिट्टा दुर्घटना हँदा एकजना गरी तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा बस पल्टिँदा सुनसरीको रामधुनी नगरपालिका ९ का ४० वर्षीय श्रीकान्त चौधरी, मोरङको बुढीगङ्गा गाउँपालिका ६ का २२ वर्षीय बबी उराउ र ठेगाना नखुलेका ८ का २३ वर्षीय अनिल उराउको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट सुनसरीका लागि छुटेको ना ३ ख १३१८ नम्बरको बस तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ। सुनसरीको रामधुनी नगरपालिका ५ का ३२ वर्षीय केशरी चौधरी र ठेगाना नखुलेका २६ वर्षीय सुनिल चौधरीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकस्थित एक हाइड्रोपावरमा काम गर्ने मजदुरहरू काठमाडौंबाट बस रिर्जभ गरी घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार बसमा ३७ जना यात्रु सवार थिए। तीव्र गतिमा रहेको बस चालक निदाएका कारण अनियन्त्रित भइ पल्टिएको हुनसक्ने जिल्ला ट्रफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक रजकुमार शाहीले बताएका छन्।
दिउसो नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत कविलासी नगरपालिका १०, सलेमपुरमा सदरमुकाम मलङ्गवाबाट नवलपुर आइरहेको भारतीय नम्बर प्लेट बी आर ०१ पी बी ५९५१ टाटाभिट्टा गाडी दुर्घटना हुँदा बागमती नगरपालिका ८ का ४५ वर्षीय चिरञ्जीवी पोखरेलको मृत्यु भएको छ।