वैशाख १४, बाजुरा । बाजुरा जिल्लाको एक विकट गाउँपालिकाका रूपमा रहेको जगन्नाथ गाउपालिकाका पाँच वडाहरू सडक सञ्जालमा जोडिएका छन् । जगन्नाथमा कुनै दिन सडक पुग्छ र गाडी चढ्न पाउँछौँ भन्ने सपनासमेत नभएका स्थानीयवासी भने प्रत्येक वडामा सडक सञ्जालमा जोडिएपछि खुसी भएका छन् ।
कर्णाली करिडोरको बाजुरा खण्ड निर्माण भएपछि कर्णाली करिडोरलाई जिरो प्वाइन्ट मानेर गाउँपालिकाले हाल वडा–१, २, ३, ५ र ६ नं वडाका विभिन्न स्थानमा सडक पुगेको हो । गाउँपालिकाले बजेटको व्यवस्था गरेर प्रत्येक वडामा सडक सञ्जाल पु¥याउन हालसम्म ३ करोड ७७ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।
सडक सञ्जालमा जोडिनेमा जगन्नाथ गाउँपालिका उत्तरी क्षेत्रको पहिलो गाउँपालिका पनि हो । सडक सञ्जालमा जोडिएपछि गाउँसम्म जानआउन सहज भए पनि यातायातका साधन सञ्चालनका पहल गर्ने गाउँपालिकाका अध्यक्ष शाहीले बताए । सडक बाटोले अहिले मोटरसाइकल र खच्चडलाई सहज भएको वडा–३ का अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।
गाउँपालिकाले यो आर्थिक वर्षमा सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । कर्णाली करिडोरदेखि मालिकासम्म जानका लागि सो सडकको समेत सर्भे भएर ठेक्काको काम सुरु गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले बताएका छन् ।
सडकसँगै गाउँपालिकाले प्रत्येक टोलटोलमा खानेपानी व्यवस्था गर्न तीन वटा वडाका टोलमा धाराहरू समेत निर्माण गरिएको गाउँपालिकाका सूचना अधिकारी गोकर्ण रेग्मीले बताए । रेग्मीले भने गाउँपालिकाले स्थानीय स्तरको सहजै महसुस गर्नका लागि सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षाजस्ता अति आवश्यक पर्ने पूर्वाधारलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको जनाए ।