जेठ १४, काठमाडौं । भारतको लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० ले बहुमतसहित जित हासिल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको तयारी भइरहेको छ।
मोदीले पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा सार्क राष्ट्रका सरकार प्रमुखलाई साक्षी राखेका थिए। नयाँ दिल्लीमा सार्क राष्ट्रका सरकार प्रमुखहरूको उपस्थितिमा शपथ लिएका उनले यस पटक पनि विदेशी सरकार प्रमुखको उपस्थितिमा शपथ लिने छन्। तर, यस पटक पाकिस्तानका प्रधानमन्त्री भने शपथमा निम्ताइएका छैनन्।
पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिँदा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ उपस्थित थिए। सरिफ अहिले जेलमा छन्। इमरान खान प्रधानमन्त्री छन्।
पछिल्लो पटक दुई देशबीच तनाव बढ्दै गर्दा भारत सार्कदेखि टाढिँदै छ भने बिम्स्टेकलाई नजिक्याउँदै छ। यसैको परिणाम स्वरूप यस पटकको शपथ समारोहमा मोदीले बिम्स्टेकका प्रधानमन्त्रीहरूलाई नयाँ दिल्लीमा बोलाएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार मोदीको शपथ ग्रहण समारोहमा बिम्स्टेकका सदस्य राष्ट्रहरू नेपाल, बङ्गलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटानका प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको छ। यी देशका सरकार प्रमुखका अलावा किर्गिस्तानका राष्ट्रपति र मरिससका प्रधानमन्त्रीलाईसमेत निम्तो गरिएको छ।
३० मेमा हुने शपथ समारोहमा बिम्स्टेकका सदस्य राष्ट्रका प्रमुखहरूलाई निम्तो गरिएको भारतीय विदेश मन्त्रालयलेसमेत पुष्टि गरेको छ। ुभारत सरकारले बिम्स्टेक राष्ट्रका नेताहरूलाई शपथ समारोहमा निमन्त्रणा गरिएको छ। यो सरकारको छिमेक प्रथम नीति अनुसारको कार्यक्रम हो,ु विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्।
शपथ समारोहमा सांघाइ कोअप्रेसनको अध्यक्षसमेत रहेको किर्गिस्तानका राष्ट्रपतिलाई पनि बोलाइएको प्रवक्ताले जानकारी दिएका छन्। त्यस्तै यसै वर्ष आयोजित प्रवासी भारतीय समारोहका प्रमुख अतिथिको रूपमा रहेका मोरिससका प्रधानमन्त्री पनि शपथ समारोहमा सहभागी हुने प्रवक्ताले बताएका छन्।
आफ्नो विदेश नीतिमा ुछिमेक प्रथमु नीति लिएको भारतले सीमा जोडिएको पाकिस्तानलाई निम्तो नगरेर पाकिस्तानसँग दूरी बढाउने स्पष्ट सङ्केत दिएको टाइम्स अफ इन्डियामा उल्लेख छ।
शपथ समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्। त्यस्तै भुटानका नयाँ प्रधानमन्त्री लोटे छिरिङसमेत सहभागी हुनेछन्।
शपथ समारोहमा बंगलादेशका राष्ट्रपति अब्दु हमिद सहभागी हुने छन्। यस पटकको शपथ समारोहमा पनि प्रधानमन्त्री हसिना आउन पाउने छैनन्। हसिना मंगलबारदेखि चार देशको भ्रमणमा निस्किँदै छिन्। उनको स्थानमा राष्ट्रपति सहभागी हुनेछन्।
त्यस्तै म्यानमारबाट त्यहाँकी स्टेट काउन्सिलर आङ साङ सुची वा राष्ट्रपति विन मिन्टमध्ये एक नेता सहभागी हुने बताइएको छ।
त्यस्तै थाइल्याण्डबाट त्यहाँका सरकारका प्रधानमन्त्रीका विशेष दूतका रूपमा कुनै एक मन्त्री सहभागी हुनेछन्। थाइल्याण्डमा प्रधानमन्त्रीको निर्वाचनको चरणमा रहेको हुँदा प्रधानमन्त्री प्रयुट चान ओ चाले आफ्ना मन्त्री पठाउन लागेका हुन्।
पाकिस्तानबाहेक अघिल्लो शपथ समारोहमा सहभागी भएर छुटेका देश हुन माल्दिभ्स र अफगानिस्तान। माल्दिभ्स र अफगानिस्तान बिम्स्टेकका सदस्य राष्ट्र होइनन्।
भारतले सार्कलाई छायामा पार्दै बिम्स्टेकलाई अगाडि बढाउँदै लगेको छ। मोदीको यो निम्तोले पनि यसलाई स्पष्ट पारेको छ।
सन् २०१६ मा पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन अझै हुन सकेको छैन। भारतले सहभागिता नजनाउने भएपछि सम्मेलन स्थगित भएको छ। २०१६ को पठानकोट, उरी आक्रमणले अनिश्चित बनेको सार्क शिखर सम्मेलन गत अप्रिलमा पुलवामामा भएको आक्रमण पछि झन् अनिश्चित बनेको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा मोदी पुनः प्रधानमन्त्री भए दुई देशबीचको वार्ता सहज हुने बताएका थिए। उनले मोदी निर्वाचित भएसँगै आइतबार नै टेलिफोन गरी बधाई दिएका थिए।