काठमाडौं । महाधिवेशनपछि असन्तुष्टि चर्किएपछि नेकपा एकीकृत समाजवादीमा नेताहरूको कार्यविभाजनमा विलम्ब भएको छ। अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित कार्यदलको बैठक निरन्तर बसेपनि अझै कुरा मिल्न सकेको छैन।
महाधिवेशनमा पार्टी नेतृत्वबाटै गुटबन्दी भएको भन्दै नेता जीवनराम श्रेष्ठको नेतृत्वमा विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले अध्यक्ष नेपाललाई पार्टी एकता जोगाउन भन्दै दुई बुँदे ज्ञापन पत्र बुझाएका थिए। त्यसले नेकपा एसमा ठूलो तरंग ल्यायो।
अहिले पनि नेकपा एसको ठूलो पङ्क्ति पार्टी छाडेर एमालेमा फर्किनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याइदिन आग्रह गरिरहेका छन्। नेकपा एसलाई लक्षित गरेर ओलीले अध्यादेशको तयारी गरे पनि कांग्रेसभित्र सहमति बन्न नसक्दा तत्काललाई रोकिएको छ।
असन्तुष्ट नेताहरूले आफ्नो प्रस्तावको पक्षमा १०० बढी नेताको समर्थन रहेको दाबी गर्दै ३४४ सदस्यीय केन्द्रीय कमिटी अवैध भन्दै पदाधिकारी र पोलिटब्युरो निर्वाचन खारेज हुनुपर्ने माग राखेका थिए।
तर, अहिले पार्टीभित्र देखिएको समस्या हल हुने दिशामा अघि बढिसकेको सचिव सोमप्रसाद पाण्डेले बताए।
उनले भने, ‘कार्यविभाजनको विषयमा कार्यदल र शीर्ष नेताहरूसँग निरन्तर छलफल भइरहेको छ। पार्टीभित्र देखिएको विवाद पनि समाधान भइसकेका छन्। अब नेतृत्वले सबैलाई समेटेर अघि बढ्छ। पार्टीमा कुनै समस्या छैन।’
उनले कार्यविभाजनबारे कार्यदलले छलफल अन्तिम चरणमा पुर्याइसकेको दाबी तिहारलगत्तै टुंग्याउने तयारी रहेको बताए।
उनले भने, ‘करिब करिब टुंगिन लागेको छ, कसरी सबैलाई समेट्ने भन्नेबारे निर्णयका लागि समय लागेको हो। अहिले सबै विषयमा सहमति बनिसकेको छ।’
उनले झलनाथ खनालले पार्टीलाई व्यवस्थापन गरेर जानुपर्ने कुरामा जोड दिएको सुनाए। कार्यविभाजनको विषयलाई मात्रै केन्द्रित गरेर नेता खनालले नयाँ प्रस्ताव नल्याएको जिकिर गरे।
महाधिवेशनको म्यान्डेट एकता, सहमति र रूपान्तरण भएपनि त्यसलाई ठीक ढंगले लागू नगरेर पदाधिकारी र पोलिटब्युरोको निर्वाचन गर्दा नै पार्टीमा असन्तुष्टि सिर्जना भएको नेता खनालले स्वीकारेका थिए।
उनले गत साता नेपाल प्रेससँगको अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘समस्या त्यही हो। त्यहाँ भएका गल्ती कमजोरीहरूलाई पार्टीले मूल्यांकन गरेर हटाउने प्रतिबद्धतासहित सबैलाई मिलेर स्थायी कमिटीमा ल्याउनुपर्नेलाई ल्याउने, पोलिटब्युरोमा आउनुपर्नेलाई पनि ल्याउने बित्तिकै यो समस्याको समाधान हुन्छ।’
नेताहरूको कार्यविभाजनबाटै अध्यक्ष नेपालले असन्तुष्ट नेताहरूलाई मिलाउने प्रयास गरिरहेकाले अहिले प्रक्रिया लम्बिएको हो। कार्यदलमा नेता खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन्।
नेकपा एसले पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भौगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी पनि गरेको छ। हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो। कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने तयारी गरेको छ।