जेष्ठ २४, काठमाडौ । सिमरा बाराको डुमरवानामा सिलिण्डरबाट ग्यास लिक भई आगलागी हुँदा जलेर घाइते भएका एकै परिवारका तीन सहित पाँच जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ।
आगलागीले शरीरको अधिकांश भाग जलेका पाँचै जनाको अवस्था गम्भिर बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टर र बुद्ध एयरको विमानबाट काठमाडौं ल्याईएको हो। डुमरवाना स्थित स्याउली बजारमा शुक्रबार बिहान ग्यास लिक भई आगलागी हुँदा एकै परिवारका चार सहित सात जना घाइते भएका थिए।
घाइते मध्ये सेनाको हेलिकप्टरमा ल्याएका वीरगन्जस्थित नेशनल मेडिकल कलेज र विमानमा ल्याईएकाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थियो। ६७ वर्षीय नजरमान थिङ र ३२ वर्षीया बहुतमान थिङलाई बुद्ध एयरबाट काठमाडौं ल्याईएको छ भने हेलिकप्टरमा ५२ वर्षीया दिलमाया स्याङतान, २८ वर्षीया ज्ञानीमाया मोक्तान र २८ वर्षीया सुकुमाया थिङलाई वीरगन्जबाट काठमाडौं ल्याईएको छ ।
काठमाडौं ल्याईएका घाइतेमा एकै परिवारका तीनजना रहेका छन्। नजरमान सहित उनका साइलो छोरा बहुतमान र काइली बुहारी सुकुमायालाई कीर्तिपुर बर्न सेन्टरमा ल्याईएको छ। घाइते सुकुमाया चार महिनाकी गर्भवती हुन्।
घटनामा घाइते भएकी नजरमानकै साइली बुहारी २८ वर्षीया अनिता थिङ र २६ वर्षीया कमलीमाया थिङको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको आईसियुमा राखेर उपचार भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन्।
प्रहरीका अनुसार नजरमानकी बुहारी सुकुमायाले बिहान खाजा बनाउने क्रममा सिलिण्डरबाट ग्यास लिक भई आगलागी भएको थियो। सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र चुलो बाल्ने क्रममा भान्सामा आगो फैलिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिए।
भान्सामा आगो फैलिएपछि सुकुमाया चिच्याएको र उनलाई बचाउन जाने क्रममा अन्य ६ जना जलेर घाइते भएको प्रहरीको भनाइ छ। घटनालगत्तै घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए। आगलागी हुँदा घरको भान्सा कोठामा समेत क्षति पुगेको छ।