असार २९, जनकपुर । अबिरल बर्षाले निम्त्याएको बाढीका कारण प्रदेश २ मा १० जनाको मृत्यू भएको छ भने, ४ जना हराइरहेका छन् ।
त्यसै गरि ५९ हजार मानिस विस्थापित भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार महोत्तरीमा १, धनुषामा २, सिरहामा १, रौतहटमा २ बारामा २ र पर्सामा २ जनाको ज्यान गएको हो । त्यस्तै महोत्तरी, धनुषा, सिरहा र रौताहटमा १र१ जना बेपत्ता छन् ।
धनुषामा कमला नदीको बाढीले बगाउँदा मृत्यू भएका तीन पुरुषको शव फेला परेको छ ।
रहाको कर्जन्हा नगरपालिका १ बस्ने ७५ बर्षीय भोला साहको शव धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ मा फेला परेको छ भने, गणेशमान चारनाथ नगरपालिका ४ मा फेला परेको अर्को शवको सनाख्त हुन नसेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै जनकनन्दनी गाउँपालिका १ इनरवामा पनि एक पुरुषको शव फेला परेको र पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
बाढीका कारण ठाउँ ठाउँमा बाटो काटिएपछि पूर्वी धनुषा र सदरमुकाम जनकपुरधामको सम्पर्क टुटेको छ । धनुषाको कमला नगरपालिका, शहीदनगर नगरपालिका ,जनकनन्दनी गाउँपालिका, विदेह नगरपालिकाको जनकपुरधामसंग सम्पर्कट टुटेको हो । सदरमुकाम मात्र होइन अधिकांश गाउँ क्षेत्रमा एक बस्तीबाट अर्को बस्ती पुग्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नकपुरधामबाट पूर्वी धनुषाका लागि चल्ने यातायातका साधनहरु ठप्प छन् भने, दुई पांग्रे सवारीसाधनको यात्रा जोखिमपूर्ण छ । यसका साथै गाउँमा बाढी पसेपछि पूर्वी धनुषाको जनजविन कष्टकर बनेको छ । खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुको अभाव, स्वास्थ्य समस्या, लामो समयदेखि विधुत नहुनु, मोबाईल नेटर्वक नहुनु लगायतका समस्याले जनजिवन कष्टकर बन्दै गएको हो । बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनासहितको टोली परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।
अविरल बर्षाका कारण डुबानमा परेपछि दुई दिनदेखि ठप्प रहेको जनकपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । आज बिहान यात्रु लिएर बुद्ध एयरको जहाज काठमाण्डौंका लागि उडान् भरेको हो । बाढी पहिरोका कारण पूल तथा सडकहरु भत्केका कारण हवाई यात्रा गर्ने यात्रुको चाप बढेको बुद्ध एयरका मैनेजर विजय सिंहले बताए । जनकपुरधामबाट बुद्ध एयर र यति एयरलाइन्सले सेवा प्रदान गर्दै आएको छ ।