साउन ८, राजविराज । सप्तरिको सप्तकोशी नदी र खाँडो खोलामा आएको बाढीले बगाएर दुईजना बेपत्ता भएका छन् । बाढीले हजारौ प्रभावित भएका छन् ।
पानीको बहाव बढेपछि दाउरा, काठ निकाल्ने क्रममा रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाले बगाएर सोही ठाउँका नसिर मियाँ बेपत्ता भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
खाँडो खोलाको बाढीमा बगेर आएको दाउरा र काठका मुढा निकाल्ने क्रममा मियाँ बेपत्ता भएको इलाका प्रहरी कार्यालय रुपनीका सइ सुरेश ठाकुरले बताए ।
यस्तै भैंसी चराउन गएका तिलाठी कोइलाडी गाउँपालिका–४ का ५५ वर्षीय बालेश्वर मुखिया सप्तकोशी नदीमा बगेर बेपत्ता भएका छन् ।
भैंसी चराएर घर फर्किरहेका बेला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित नदी पार गर्ने क्रममा मुखिया बेपत्ता भएको तिलाठी कोइलाडी गाउँपालिका विपद् जोखिम न्यूनिकरण अधिकृत राजेश झाले बताए ।
मुखिया र मियाँको खोजी कार्यका लागि नेपाल र भारतका विभिन्न स्थानमा नाउ (डुङ्गा( हरु परिचालन गरिए पनि हालसम्म फेला नपरेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए ।
मंगलबार रातिदेखि आएको अविरल वर्षाका कारण सप्तकोशी नदी, खाँडो, महुली, जिता खोलामा आएको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाका करिब दुई हजार पाँच सय परिवार प्रभावित भएका छन् ।
खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किँदा तिलाठी कोइलाडी गाउँपालिका १ को पूरै बस्ती डुवानमा परेको छ । गाउँपालिकाको वडा नम्बर १ जलमग्न हुँदा स्थानीयबासी प्रभावित भएका छन् । त्यहाँका आठ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
डुबानबाट जोगिन स्थानीयवासी घर छाडेर उँचो र सुरक्षित स्थानतर्फ लागेका छन् ।