भदौ १६, अस्ट्रेलिया । एक श्रीलंकन शरणार्थी परिवारलाई आफ्नो देश फिर्ता पठाउने अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध सयौँले प्रदर्शन गरेका छन् । ७ वर्षअघि डुंगाबाट अस्ट्रेलिया आएका श्रीलंकास्थित तमिल परिवारलाई अस्ट्रेलियाले केही दिनदेखि उनीहरुकै देश फिर्ता पठाउने प्रयास गरिरहेको छ । तर उनीहरुलाई अस्ट्रेलियामै बस्न दिइनुपर्ने माग गर्दै अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरिएको छ ।
अस्ट्रेलिया आएपछि ब्रिसबनको दुर्गम क्षेत्र बाइलोइयामा बसोबास गर्दै आएका उनीहरुले अस्ट्रेलियामा स्थायी रुपमा बस्न पाउनका लागि दिएको निवेदन खारेज भएपछि फिर्ता पठाउने प्रक्रिया थालिएको हो ।
गत शुक्रबार उनीहरुलाई फिर्ता पठाउन लागिएको भएपनि अदालतले तत्काल उक्त प्रक्रिया रोक्न आदेश दिउपछि डार्बिनमा राखिएको थियो । तर उनीहरुलाई डार्बिनबाट शरणार्थीलाई राख्ने स्थान क्रिसमस आइल्याण्डमा पुर्याइएपछि विरोध प्रदर्शन थप चर्केको छ । उक्त परिवारलाई अस्ट्रेलियामा नै बस्न दिनुपर्ने माग गर्दै मेलबर्न, एडिलेडलगायत मुख्य शहरमा प्रदर्शन जारी छ ।
सञ्चारमाध्यमका अनुसार उनीहरुलाई आफ्नो देशमा असुरक्षा महसुस गर्दै नादेशालिंगम र उनकी श्रीमती प्रिया सन् २०१२ र १३ मा अलगअलग डुंगामार्फत् अस्ट्रेलिया आएका थिए । अस्ट्रेलिया आएपछि उनीहरुको २ र ४ वर्षका २ सन्तानसमेत जन्मिइसकेका छन् । उनीहरुले अस्ट्रेलियामा बस्न पाउनुपर्ने माग गर्दै गरेको प्राय सबै दाबीहरु असफल भएपछि सरकारले फिर्ता पठाउने प्रक्रिया सुरु गरेको थियो । तर उनीहरुलाई फिर्ता पठाउन नहुने भन्दै उनीहरुको समर्थनमा विभिन्न पहलहरु भइरहेको छ ।
अस्ट्रेलिया सरकारले भने उनीहरुको मुद्दा लामो समयदेखि व्यापक रुपमा मुल्यांकन गरिएको जनाउँदै उनीहरु अस्ट्रेलियाको सुरक्षा दायित्वभित्र नपर्ने बताएको छ । गृहमन्त्री पिटर डट्टनले उनीहरुलाई आफूहरु शरणार्थी नभएको स्वीकार गर्न आग्रहसमेत गरेका छन् । विपक्षी दल लेबर नेता एन्थोनी अल्बानिजले प्रधानमन्त्री स्कट मरिसनलाई तमिल परिवारलाई फिर्ता नपठाउन आग्रहसमेत गरेका छन् । उनले प्रधानमन्त्री मरिसनलाई यस मामिलामा अध्यागमन मन्त्रीले हस्तक्षेप गरेर समस्याको सही निकास दिन आग्रह गर्दै मानवता नगुमाईकनै दह्रो सीमा राख्न सकिने बताएका छन् ।
यसैगरि तेस्रो ठूलो दल ग्रिनका नेता रिचार्ड डि नटालीले पनि मेलबर्नमा गरिएको प्रदर्शनमा सहभागि हुँदै तमिल परिवारको पक्षमा आवाज उठाएका थिए । उनले यो क्रुर र असभ्य भएको दाबी गर्दै यसलाई अन्त्य गर्न आग्रह गरेका छन् । अस्ट्रेलियामा रहेका शरणार्थीहरुलाई उनीहरुको अवस्था हेरेर यहाँको सरकारले शरणार्थी मान्यता दिने वा नदिने विषयमा निर्णय गर्ने गरेको छ । सोही प्रक्रियाअनुसार नै उनीहरु पनि शरणार्थी नभएको र उनीहरु आफ्नो देश फर्किएको खण्डमा कुनै असुरक्षा नरहेको सरकारले बताउँदै आएको छ ।
तरपनि उनीहरुबाट दुई बच्चा यहीं जन्मिएका र उनीहरुलाई आफ्नो देशमा असुरक्षा हुनसक्ने भन्दै सो परिवारलाई यहीं रहन दिनुपर्ने आवाज उठाइएको छ । क्रिसमस आइल्याण्ड पुर्याएपछि प्रियाले प्रधानमन्त्री स्कट मरिसनलाई आफूहरुलाई अस्ट्रेलियामा नै बस्न दिन आग्रह गरेको सञ्चारमाध्यमले जनाएका छन् ।