सुर्खेत, १७ असोज। पारिवारिक नीजि वन संघ नेपाल (एफोन) को कर्णाली प्रदेश अध्यक्षमा विनोद शाही चयन भएका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको प्रथम अधिवेशनले शाहीको अध्यक्षतामा २४ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा पदमबहादुर मल्ल चयन गरेको छ भने सचिवमा बिन्दुलाल रेग्मी, सहसचिवमा शोभा विक र कोषाध्यक्षमा मञ्जु भुषाललाई सर्वसम्मत्रूपमा चयन भएका छन् । यस्तै सदस्यहरूमा हरिबहादुर सिंह, अमृता शर्मा, भरतराज अधिकारी, देवेन्द्र आचार्य, मीरा स्वर्णकार, रेखा शाही, कमल छत्याल, राजकुमारी खत्री, फौन्दबहादुर बस्नेत, रामबहादुर विष्ट, इन्द्रबहादुर खड्का, भरतबहादुर शाही, नविन शाही रहेका छन् । त्यस्तै सीता रेग्मी, गगनबहादुर शाही, कमल अधिकारी, पे्रमबहादुर खड्का, जागुराम चौधरी र जगत महतारा पनि सदस्यमा चयन भएको संघले बताएको छ ।
बिहीबार भएको संघको प्रथम अधिवेशनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संघीय वन ऐन नबनेकाले प्रदेश सरकारले प्रदेश वन नीति र आवश्यक कानून निर्माण गर्न नसकेको बताए । संघीय वन नीति र ऐनका आधारमा कर्णालीको वन क्षेत्रको संरक्षण, संर्वद्धन र उद्यमशीलता बढाउने एवम् रोजगारी सिर्जना गर्ने खालको नीति बनाउने उनको भनाइ छ । मन्त्री बुढाले प्रदेश सरकार वन नीति र आवश्यक कानून तर्जुमा गर्दा पारिवारिक निजी वन संघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले आफ्नो नीजि जमिनमा उत्पादन गरेका काठ तथा जडीबुटीजन्य उत्पादनको बिक्री वितरणमा सहज कानूनी व्यवस्था नहुँदा साना वन किसानहरू मर्कामा परेको बताए । ५६ जिल्लामा संगठन विस्तार भएको संघमा पाँच हजार बढी सदस्य रहको साथै पारिवारिक नीजि वनले वन क्षेत्रको ११ प्रतिशत भूभाग ओगटेको उनको भनाइ छ ।