पुनम बिसी
सुर्खेत, १८ असोज । वीरेन्द्रनगरका जयबहादुर ओलीलाई दसैंको चिन्ताले सताएको छ । वीरेन्द्रनगर–८, मा रहेको बाढीपीडित क्याम्पमा बसोबास गर्ने ६५ वर्षीय ओली अहिले दसैंका लागि आवश्यक आर्थिक जोह गर्नमै लागेका छन् ।
‘दसैं आइसक्यो । अहिलेसम्म पनि खर्चको व्यवस्था भएको छैन,’ उनले भने, ‘हामी दुःखी गरिबलाई दसैंले सधैं समस्या मात्रै ल्याएर आउँछ ।’ चार छोरा र एक छोरीका बुबा जयबहादुरले दसैंका लागि दुई हजार खर्च गर्ने योजनामा छन्, तर उनीसँग पैसा नै छैन । उनले भने, ‘दसैं हो मासु खानै प¥र्यो,’ उनले भने, ‘छोराछोरी, नातिनातिना टीका थाप्न आउँछन्, दक्षिण पनि दिनुनै प¥यो ।’ ज्यालादारी काम गरिरहेका उनले असारयता खासै काम पाएनन् ।
‘बुढीलाई टिवी रोग भएको छ,’ उनी भन्छन्, ‘धेरै काम गर्न सक्दिँनन् । भारत काम गर्न जाऊ भने ६० वर्ष माथिकालाई काम पनि दिँदैनन् । अघिल्लो वर्ष त आफूलाई ५५ वर्ष भनेरै भारतमा काम पनि गरे ।’ बाढीपीडित तुलबहादुर सुनारलाई पनि दसैंका समयमा छोराछोरीलाई के खुवाउने भन्ने विषयले सताएको छ । केही समय पहिले अटो व्यवसाय सञ्चालन गरेका उनले त्यो पेसा पनि छोडेका छन् । यसैगरी बाढीपीडित क्याम्पमा बस्ने ५६ वर्षीय रामकुमारी खत्रीलाई दसैंमा के खाने भन्ने समस्याले सताएको छ । उनले भनिन्, ‘बुढाबुढी मात्रै छौं । सधैं खानकै समस्या हुन्छ । दसैंमा पनि समस्या छ ।’
२०७१ सालमा आएको बाढीले विस्थापित भएका उनीहरूले सरकारले हालसम्म सुरक्षित बसोबास गराउन नसकेको बताउँछन् । १६ घर भएको सो स्थानमा ८० जनाको हाराहारीमा बालबालिका आफ्ना अभिभावकसहित बसोबास गरिरहेका छन् ।
त्यतिबेलाको बाढीबाट सुर्खेतमा दुई हजार तीन सय २९ घरधुरीमा क्षति पुगेको थियो । जसमध्ये आठ सय ६४ घरधुरी पूर्ण र एक हजार चार सय ६५ घरधुरीमा आंशिक क्षति पुगेको थियो । बाढीका कारण एक सय २५ जना नागरिकको ज्यान गएको थियो ।