कर्णालीपत्र,
सिमकोट । विद्यालय व्यवस्थापन समितिको गठनमा विवाद भएपछि ताला लागेको जिल्लाको हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसीय विद्यालयमा लागेको ताला अँझै खुलेको छैन् ।
जिल्लाका बहिरा तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूकालाई संरक्षण गरेको साहारा समुह नामक गैरसरकारी संस्थाले गरेको तालाबन्दी ९ दिन बित्दा समेत नखोलेपछि वार्षिक परिक्षाको तयारीमा जुटेका फरक क्षमता भएका विद्यार्थीहरूको पढाई अवरुद्ध भएको हो । ‘वार्षिक परिक्षा आउन थोरै समय मात्रै बाँकी छ ।’ विद्यालयको कक्षा ५ मा अध्ययनरत सिमकोट ८ यांगुका पवन शाहीले सांकेतिक रुपमा भने, ‘तालाबन्दी भएपछि हाम्रो सबै पठनपाठन ठप्प भएको छ ।’
सिमकोट गाउँपालिकाको शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सिमकोट–५ का वडा अध्यक्ष कृष्ण बहादुर रोकायाले विदालय व्यवस्थापन समितिको गठन मनपरी रुपमा गरेको भन्दै कात्तिक २३ मा विद्यार्थीका लागि छात्रावासको व्यवस्थापन गर्दै आएको साहार समुहले विद्यालयमा तालाबन्दी गरेको थियो । विद्यालय व्यवस्थापन समितिको गठन एकलौटी भएको आरोप लगाएका सहारा समुहका अध्यक्ष सुर्य पौडेलले समिति गठनलाई समावेश गराउन माग गरेका छन् । ‘५७ जना विद्यार्थीहरूलाई सरक्षण दिएको साहार समुहलाई समेत वेवास्ता गरेर समिति गठन गर्ने काम भयो ।’ उनले भने, ‘यसमा पुर्नबिचार गरिने होइन भने विद्यालयको ताला खोलिदैन् ।’ विद्यालयले सिमकोट गाउँपालिकाको शिक्षा नियमवली विपरीत गैरकानुनी तवरले सरकारी विद्यालयलाई व्यक्तिगत सम्पती जसरी आफुखुसी सञ्चालन तथा व्यवस्थापन गर्न खोजेको आरोप समुहका पदाधिकारीले लगाएका छन् । विद्यालयले आर्थिक वर्ष २०७५।७६ को सार्वजनिक परिक्षण नगरेको अभिभावक भेला नगरेको, विद्यालयका सम्पुर्ण कागजात विद्यालयका प्रधानाध्यापकको घरमा राखेर अध्यक्षले आफु खुशी सञ्चालन गरेकाले बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको उनीहरूको दावी छ । तर साहारा समुहको आरोपलाई विद्यालय व्यवस्थापन समितिले गलत भएको बताएको छ ।
विद्यालय नियमसंगत रुपमा सञ्चालन भएको कुरालाई गैरसरकारी संस्थाले आफूखुशी चलाउन खोजेको भन्दै संस्थाको पछि लागेर विद्यालयलाई व्यक्तीगत बनाउन नसकिने प्रतिक्रिया दिएको छ । स्थानीय शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिको गठन भएको दावी गरेका अध्यक्ष रोकायाले केही दिनमा विद्यालयको ताला नखोलिए प्रशासन लगाएर हस्तक्षप गर्ने चेतावनी दिए ।
तालिम नलिएका शिक्षक पढाउदै
जिल्ला सदरमुकाम सिमकोटको तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालयमा सांकेतिक भाषाको तालिम नलिएका शिक्षक प्रकाश जैसीलले पढाउने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिको एकल निर्णयबाट राजनीतिक रुपमा सिमकोट –५ कै भिमसेन आभारभुत विद्यालयबाट सुरुवा भएर तालिम नलिएका शिक्षक जैशी एक वर्षदेखि कार्यरत रहेका हुन् । आफू सांकेतिक भाषको तालिम नलिएको स्विकारेका शिक्षक जैसीले शिक्षा समन्वय इकाईको निर्णयका कारण आफू उक्त विद्यालय आएको बताए । उनले भने, ‘आफ्नो स्थानमा अर्को कोही सरुवा भएर आएमा म तत्कालै सरुवा भएर जान्छु ।’