चन्द्रा कँडेल
सुर्खेत, ८ मंसिर । लेकवेशी–७ सुर्खेतकी एक किशोरीले दुई वर्षअघि १७ वर्षको उमेरमा अन्तरजातीय विहे गरिन् । विहे गरेको चार महिनामै पतिले सवारी चालकका रुपमा काम थाले । काम थालेपछि राति अबेर आउने उनका पतिले एक महिनामै घरखर्च बन्द गरे । त्यसको अर्को महिनादेखि शुरु भएको पतिको कुटाइ अहिले पनि नरोकिएपछि उनी न्यायका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिन पुगेकी छन् ।
कनकासुन्दरी गाउँपालिका—६ लुड्कु जुम्लाकी झनमाया रोकायालाई ६ वटा छोरी मात्रै जन्माएको भन्दै उनका पति गंगाराम रोकायाले घरबाट निकाले । हरेक पटक सुत्केरी हुँदा छोराको आश गरेका परिवारको अपेक्षा अनुसार छोरा नजन्मेपछि परिवारको दबाबमा झनमाया घरबाट निकालिनु प¥यो ।
आफै भागेर विवाह गरेकी सोरु गाउँपालिका–५ की अर्की २४ वर्षीय किशोरी महिलाले पतिको कुटाइ खाएको निन्तर ६ वर्ष भयो । हरेक दिन छोड्छु, अर्की विवाह गर्छु, मेरो घरमा नबस् भन्दै पतिबाट अनेक यातना पाएपछि उनले मंसिर २ गते स्थानीय प्रहरी चौकीमा सँगै बस्न नसकिने भन्दै लिखित निवेदन दिएकी छन् ।
लामो प्रेमपछि सँगै बस्ने कसम खाएर विवाह बन्धनमा बँधिएकी जुम्लाकी झनमाया, सुर्खेत र मुगुकी किशोरी हरेक दिन आफ्नै पतिबाट मानसिक र भौतिक यातना पाउने कर्णालीका महिलाका प्रतिनिधि पात्र मात्रै हुन् । महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सचेतना कार्यक्रम र कडा कानून ल्याइए पनि कर्णाली प्रदेशमा यस्ता घटना वर्षेनी बढ्दै गएका छन् ।
सरकारले महिलालाई मुक्ति दिने कानून ल्याएको भन्ने जानकारी पाए पनि त्यसको महसुश नहुँदा गाउँमा आफूजस्तै पिंडा पाउने महिलाको संख्या उल्लेख्य भएको लेकवेशी–७ सुर्खेतकी किशोरीले बताइन् । ‘शुरुमा आफूलाई पतिले पिट्दा ठिकै छ, पछि सुध्रेलान् अहिले नै बाहिरभन्दा किन आफ्नै बेइज्जत गर्नु भन्ने लाग्यो ।’ न्यायका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगेकी बुढा थरकी उनले भनिन्, ‘दुइ वर्षसम्म हरेक दिनको कुटाइ नहट्ने भएपछि अलग हुने निधो गरँे ।’
हरेक दिनको पतिको कचकच र कुटाई खानुलाई आफ्नै भाग्यको खोट सम्झेकी सोरु गाउँपालिका–५ मुगुकी दलित महिलाले आफ्ना सन्तानको भविष्यका लागि भए पनि आफूले कसैसँग पिंडा नदेखाएको उल्लेख गरिन् । आफ्नो नाम नखुलाउन आग्रह गरेकी उनले गाउँका अधिकांश पुरुष राति रक्सी सेवन गरेर श्रीमतीलाई गाली, गलौज र कुटपिट गर्ने गरेको बताइन् । आजदेखि शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका बारेमा खासै जानकारी नपाएकी उनले भनिन्, ‘जस्ता कानून/कार्यक्रम आए पनि शहरका महिलाका लागि मात्रै हुन् । हाम्रोमा न त कानून आउँछ न न्याय पाइन्छ ।’
बहुविवाह, सम्बन्ध विच्छेद, दाइजो, यौन दुराचार, बालविवाह, बालश्रम, अनमेल विवाह, सामाजिक अवहेलना, शारीरिक कुटपिट, सासु बुहारीको झगडा जस्ता कारणले महिलामाथि लैङ्गिक हिंसाका घटना हुने गरेको महिला अधिकारकर्मी पवित्रा शाहीले बताइनर । महिलाको चेतनाको स्तर उकास्ने, शिक्षा र रोजगारीका अवसर दिने काम गरेर आत्मनिर्भर नभएसम्म महिलामाथिका हिंसाको कमी आउन नसक्ने तर्क उनको छ । तर पछिल्लो समय बढ्दै गएका महिलामाथि हुने लैङ्गिक हिंसाका घटना बढ्नु भन्दा घटना सार्वजनिक हुने दर बढेको सरकारी निकायले दाबी गरेको छ । ‘लैङ्गिक हिंसाका घटनाको संख्यामा केही सुधार भएको देखिन्छ ।’ सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख विश्वमणि जोशीले भनिन्, ‘सञ्चार माध्यमको पहुँच गाउँगाउँमा पुग्नु र स्वयम् महिलामा चेतनाको विकास हुनुले महिलामाथि हुने हिंसाका घटनाको बाहिर आउनेक्रम बढी देखिएको हो ।’ सामाजिक सञ्जालको बढ्दो प्रयोगले लैङ्गिक हिंसाको प्रकृति भने पछिल्लो समय निकै परिवर्तन भएको निष्कर्ष जोशीको छ ।
उजुरी गर्नेको संख्या बढ्यो
आफूमाथि हुने हिंसा नरोकिएपछि न्यायका लागि प्रहरी पुग्ने महिलाको संख्या पनि बढ्दो क्रममा छ । नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनयता प्रदेशका दशवटै जिल्लामा घरेलु हिंसा सम्बन्धीका २ सय १७ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय ६३ मुद्दा मिलापत्र गरिएको छ भने बाँकी माथिल्लो निकायमा पठाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । आर्थिक वर्ष २०७३÷७४ मा गाउँमा नमिलेका ७ सय ९६ लैङ्गिक हिंसाका घटनामा प्रहरीमा दर्ता भएको बताएका तिम्सिनाले २०७५÷७६ मा उक्त मुद्दाको संख्या बढेर ८ सय ५८ पुग्नुले पनि महिलामाथि हुने हिंसामा कमी नआएको बताए ।
सुर्खेत जिल्ला अदालतमा ४३० मुद्दा
जिल्ला अदालत सुर्खेतमा महिला हिंसासँग सम्बन्धित चार सय ३० वटा मुद्दा दर्ता भएका छन् ।
दर्ता भएको मुद्दामध्ये गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएर यो आर्थिक वर्ष जिम्मेवारी सरेका १ सय ८८ छन् भने चालु आर्थिक वर्षको साउनयता २ सय ८२ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिए । उनका अनुसार दर्ता भएका मुद्दामा सबैभन्दा बढी सम्बन्ध बिच्छेदमा ३ सय दश मुद्दा अदालतमा दर्ता भएका छन् । यसैगरी जबरजस्ती करणीमा ६९, घरेलु हिंसामा २८, बहुविवाहमा १९ र वालविवाहमा ४ वटा मुद्दा अदालतमा छन् ।
१६ दिने अभियान आजै शुरु
हरेक वर्ष नोभेम्बर २५ बाट शुरु हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ ।
‘समानताको पुस्ताः बलत्कार विरुद्धको ऐक्यबद्धता’भन्ने नाराका साथ मंसिर ९ गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिने अभियान आजदेखी विश्वभर शुरु भएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
यसै सन्दर्भमा कर्णाली प्रदेश सरकारले समेत विभिन्न कार्यक्रम गरी १६ दिने अभियान मनाउन लागेको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख विश्वमणि जोशीले जानकारी दिइन् । उनका अनुसार आज कर्णाली प्रदेशसभाका महिला साँसदहरूसँग महिला तथा बालवालिका सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम र लैङ्गिक हिंसा सम्बन्धी सडक नाटक कार्यक्रमको आयोजना गरिने छ । आगामी डिसेम्बर १० सम्म कर्णाली प्रदेशका दशवटै जिल्लामा विभिन्न संघसंस्था र स्थानीय तहसँग मिलेर अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको प्रमुख जोशीले बताइन् ।