बाँके – नेपाल हज समितिका केन्द्रीय अध्यक्ष शमशेर मियाँले यसपाली दुई हजारलाई मक्का–मदिना लैजाने उद्घोष गरेका छन् ।
सन् २०२० मा हज गर्न जाने इच्छा गरेका व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालयहरुले फाराम भरिरहँदा नेपालगञ्जमा आइपुगेका हज समितिका अध्यक्ष मियाँले सरकारी कोटा एक हजार दुई सय भए पनि दुई हजार जनालाई हज गर्न साउदी अरब लैजाने उद्घोष गरे । गतवर्ष हज समितिले एक हजार पाँच सयलाई मक्का–मदिना लगेको थियो । ‘बाह्र सय कोटा थियो । अन्तिममा मैले जोखिम मोलेर तीन सय जनालाई थपे, अध्यक्ष मियाँले भने, ‘यसपाली आठ सयसम्म थपेर दुई हजारलाई उडाउने योजना रहेको छ ।’
हज समितिलाई सरकारले दिने पैसा घट्दै गएकोमा अध्यक्ष मियाँले चिन्ता गरे । आर्थिक वर्ष २०७०/७१ देखि २०७२/७३ सम्म दुई करोड दिने गरेको सरकारले ०७३/७४ मा एक करोड ८५ लाख, ०७४/७५ मा एक करोड ५० लाख, ०७५/७६ मा एक करोड २० लाख दिएको थियो । ‘सरकारी सहयोग त बढ्दै जानु पर्नेमा सरकारले घटाइरहेको छ । यो मुस्लिम समुदायप्रति सरकारको हेपाहा दृष्टि हो, अध्यक्ष मियाँले भने, विगतमा हज समितिलाई बदनाम गरेकाले यस्तो भएको हुन सक्छ ।’ उनले आफू अध्यक्ष भएर आएपछि हज समितिलाई सम्मानित संस्था बनाउन लागि परेको र विगतका कमीकमजोरी सच्याउदै लगेको बताए ।
नेपालगञ्ज हज समितिले राखेको छलफलमा अधिकांशले हजमा गरीवको पनि पहुँच पु¥याउनु पर्ने, श्रीमान–श्रीमती या घरपरिवारका सदस्यलाई जहाजको एउटै सीट र एउटै होटलमा बसाउनु पर्ने सुझाव दिएका थिए । विगतमा हज गर्न गएको जहाजमा रहेका अन्यलाई मदिरा दिइएकाले जहाजमा हज टोलीमात्रै राखेर लैजान सुझाव दिइएको थियो । शहरका हुनेखाने मात्रै नभएर गाउँका जनतालाई पनि हज गर्न जाने मौका मिलाउन, खानामा सुधार गर्न, हज समितिमा जानेबुझेका व्यक्तिलाई राख्न बाँकेबाट सुझाव दिइएको छ ।
हज समितिका अध्यक्ष मियाँले सकेसम्म जहाजको एकै सीटमा श्रीमान–श्रीमती या आफन्तलाई राख्ने गरेको, मक्काबाट मदिनामा बसमा जादा प्राविधिक कारणले फरक गर्न गएकाले सच्याउने प्रयास थालेको, होटलमा आफन्तीलाई सँगै राख्ने रणनीति मिलाइसकेको आश्वासन दिए ।
हज गर्न जानेहरु आफ्नै पैसा खर्च गरेर जान्छन् । एकजनालाई दुई लाख ३० हजार रुपैयाँ खर्च लाग्छ । सरकारले उपलब्ध गराएको पैसालाई हज समितिका पदाधिकारीको भत्ता र व्यवस्थापनमा खर्च हुने गरेको छ ।
हज गर्न साउदी जानेमा बाँके पनि अगाडि नै पर्छ । यहाँबाट वर्षेनी डेढ सय बढी हज गर्न जाने गर्दछन् । हज गर्न जान इच्छुक व्यक्तिका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा फाराम खुलेको छ । मंसीर ३० गतेसम्म फाराम गर्न सकिन्छ । हज समितिका सदस्य मेराज अहमद हलुवाईका अनुसार, बाँकेमा अहिलेसम्म ५५ जनाले फाराम भरिसकेका छन् ।
हज सम्बन्धी छलफलमा पूर्वसांसद अब्दुल हामिद सिद्धिकी, नजिबुल्लाह अन्सारी, मो. सराफत अलि हलवाई, मो. फैरुल, मोविन सिद्धिकीलगायतले हज यात्रालाई व्यवस्थित र सेवा, सुविधा राम्रो बनाउन सुझाव दिएका थिए । मुस्लिम समुदायका व्यक्ति मक्का मदिनामा हज गर्न जानुलाई पवित्र मान्ने गर्दछन् ।