सिमकोट ११ मंसिर । नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट सामान ढुवानी गरीरहेको लु ४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
नेपाल खाद्य संस्थानको चामल र अन्य दैनिक उपभोग्य सामाग्री सहित सदरमुकाम सिमकोट आउँदै गरेको ट्रिपर सिमकोट ७ को डाँडालाग्नामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षिय छिरिङकार्मा लामा, ३५ वर्षिय नरी लामा र खार्पुनाथ गाउँपालिका–१ प्युसका बबरजंग शाही रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घाइते हुनेमा सर्केगाड–३ उनापानीका अंग फडेरा, सिमकोट–६ का खगेन्द्र रावत, रामकुमार सुनार, नरविर सुनार, अकिल रोकाया, कमल भण्डारी, भक्त रोकाया, सिमकोट ७ डाडाँफायाका सन्तोष सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयाव उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । यसैगरी नाम्खा गाउँपालिका–१ हेप्का नुटुप लामा, नाम्गेल तामाङ, सिउधर तामाङ, खार्पुनाथ–५ का धनसिंह सुनार पनि घाईते भएका छन् ।
‘ट्रिपर सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ ।’ प्रहरी प्रमूख घर्तिमगरले भने,‘दुर्घटनामा घाइते भएका सबैलाई जिल्ला अस्पताल हुम्लाम ल्याएर उपचार भैरहेको छ ।’
दुर्घटनामा घाइते भएका नौ जना घाइतेलाई गाडीमा उद्धार गरिएको थियो भने तीन जनालाई स्टेचरमा ल्याईएको थियो । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूलो संख्यामा स्थानीय समेत घटनास्थलमा पुगेका थिए ।
त्यसै गरि गाडी चालक आनन्द तामाङ, एक जा महिला डिचिन तामाङ र निजकी छोरी सन्ध्या पाण्डे सामान्य घाईते भएकी छन् । उनीहरू तीनै जना घटना स्थलबाट हिडेर सिमकोट आएको बताइएको छ । ट्रिपर चालक चालक तामाङलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सिधा उकालो आई रहेको ट्रिपरले बटुवालाई साइट दिनखोज्दा ट्रिपर पल्टीएको प्रत्यक्षदर्सी सिमकोट–७ डाँडाफयाकी स्न्यायी शाहीले बताईन । उनका अनुसार दुर्घटना भएको ट्रिपर सडकबाट दुई पटक पल्टिएर १५ मिटर तल खसेको थियो ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा यो गरी अहिलेसम्म तीनवटा दुर्घटना भएका छन् । यस अघि असार ३ गते बोलेरो जीप कर्णाली नदीमो दुर्घटना हुँदा ११ जनाको ज्यान गएको थियो भने गएको कार्तिक २३ मा सिमकोट गाउँपालिका–५ को सार्कीबाडामा दोस्रो दुर्घटना भएको थियो ।