सिमकोट । हुम्लामा गएराति ८ बजेदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा झण्डै फिट हिउँ जमेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका अधिकांश गाउँमा तीन फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन्।
हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस १० भन्दा तल झरेको सिमकोट विमानस्थलमा भएको तापक्रम मापनले संकेत गरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ।
हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाविसमा अत्याधिक जाडो बढेको छ। केही दिनदेखि हावाहुरीसमेत चल्न शुरु गरिरहहेको बेला हिमपात भएपछि जाडो झन बढेको जिल्लाका विभिन्न स्थानमा भएका प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रमुख कमलप्रसाद नेपालले बताए।
गएको मंसिरदेखि यता तेस्रो पटक परेको हिउँले चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिकाका लिमी, मुचु, चालाका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका छेपाल लामाले जानकारी दिए। उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै साढे २ फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्किन कठिनाइ भएको हो।
दिउसै माइनस पुगेको सदरमुकाम सिमकोटको तापक्रम माइनस १० पुग्ने अनुमान गरिएको छ। हुम्लाका प्रहरी प्रमूख कमलप्रसाद नेपालका अनुसार बिहानैदेखि परेको हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना भने नभएको छैन।
अत्याधिक जाडोले सिमकोटदेखि उत्तरतिरका प्रहरी चौकीमा भएका सुरक्षाकर्मीलाई ड्युटी गर्नसमेत समस्या भएको जिल्ला प्रहरी ककार्यालय हुम्लाले जनाएको छ।