सुर्खेत । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने किटनाशक विषादी र दैनिक उपभोग्यका बस्तु एकै ठाँउमा राखेर बिक्री वितरण भएको सुन्दा आश्चर्य लाग्न सक्छ । तर यो आश्र्चय होइन, बजार अनुगमनको क्रममा भेटिएको यथार्थ हो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा पश्चिम सुर्खेत पुगेको टोलीले अनुगमनको क्रममा उपभोक्ता स्वास्थ्यमा गम्भीर हानी हुने यस्ता पसलहरु धेरै भेटाएको छ ।
चौकुने गाउँपालिका ८ बिशाल बजारमा सञ्चालन भइरहेको वीरेन्द्र एग्रोभेट एण्ड खुद्रा पसलमा किटनाशक औषधि र उपभोग्य वस्तुहरु एउटै ठाउँबाट बिक्री भइरहेको पाइएपछि अनुगमन टोलीले सामग्री जफत गरेको छ । किटनाशक औषधि र खाद्यान्न सामग्रीसँगै राखेर बिक्री गर्नु मानव स्वास्थ्य र कानूनी दृष्टिले गैरकानूनी भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले बताए । अनुगमन टोली पसलमा पुग्दा पसल सञ्चालक भीमबहादुर सिजापतिले आफूले वर्षोदेखि पसल सञ्चालन गर्दै आए पनि केही नभएको भन्दै पन्छिन खोजे । उनले यसलाई सामान्य रुपमा लिए पनि अनुगमन टोलीले पसलमा रहेका किटनाशक तथा भेटेनरीका सामानहरु जफत गरेको छ ।
वीरेन्द्र एग्रोभेट त एउटा उदाहरण मात्र हो । अनुगमनको क्रममा दर्तामा एउटा उद्देश्य तर व्यवसाय अर्को गरिरहेको पसलहरुको संख्या धेरै थियो । त्यस्तै अधिकांश पसलहरु दर्ता नभएका, दर्ता भएका एउटै पसलबाट उद्देश्य विपरीत म्याद नाघेका सामानहरु बेचविखन गरेको पाइएको हो ।
अनुगमनका क्रममा कतिपय व्यवसायीलाई दर्ता गरेर सञ्चालन गर्नुपर्छ भन्ने थाहा नै नभएको पाइएको प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए ।
अधिकांश पसलहरु कानूनी रुपमा मापदण्ड पूरा नगरेको पाइएको छ । उनले भने, ‘हामीले मापदण्ड विपरीत सञ्चालनमा आएका कानूनी कागजात नपुगेका आठ वटा पसललाई सातदिनभित्र जिल्ला प्रशासन कार्यालयमा तारिखमा हाजिर हुन निर्देशन दिएका छौँ । अव्यवस्थित रुपमा सञ्चालनमा आएका पसलहरुलाई हप्ता दिनभित्र व्यवस्थित गर्न आग्रह गरेका छौँ ।’ साथै उनले ढक तथा तराजु नापतौलमा दर्ता नभएका र दर्ता भएका प्रमाणपत्र नवीकरण नगरेका व्यवसायीलाई कानूनी प्रक्रिया पु¥याउन निर्देशन दिएको बताए ।
कानूनी प्रक्रियाको बारेमा अधिकांश पसल सञ्चालकहरु अनविज्ञ देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए । उनले व्यवसायीलाई कानूनी प्रक्रियाको बारेमा जानकारी नभएको र कतिपयले जानकारी भएर पनि अटेरी ब्यवहार देखाएको बताए । उनले भने, ‘पहिलो पटक अनुगमन भएकाले सामान्य कारबाही गरे पनि अर्को पटक जाँदा दोहोरिएमा कानून अनुसार कारबाही हुन्छ ।’