सुर्खेत । पूर्वी सुर्खेतको मेहलकुना अस्पताल ५० शैया बनाउने निर्णय भएको तीन वर्ष पूरा हुदैँछ । तर व्यवहारमा भने अझै १६ बेडमा सिमित छ । तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र रहेको सो अस्पताललाई संघीय सरकारको २०७३ पुस २० गतेको निर्णयबाट ५० शैयामा स्तरोन्नति गरिएको थियो । तीन वर्ष पुग्दा पनि पूर्वाधारको अभावमा अस्पतालमा शैया थपिएको छैन ।
अस्पतालमा बिरामीको चाप बढे पनि आवश्यक पूर्वाधार विकास नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिए । हेल्थ पोष्टबाट अस्पतालमा रुपान्तरण भए पनि आवश्यक पूर्वाधार विकास नुहँदा कागजी रुपमामात्रै ५० शैयाको रुपमा विकास भएको उनको भनाई छ । अहिले अस्पतालमा भौतिक पूर्वाधार मुख्य समस्याको रुपमा रहेको छ । पर्याप्त भौतिक संरचना नहुँदा बिरामीलाई चाहे अनुसारको सेवा सुविधा दिन नसकिएको अध्यक्ष खत्रीले बताए । उनले भने, ‘हाल अस्पतालमा १५ देखि १६ वटा बेड मात्रै छ । त्यतिले मात्रै बिरामीको उपचारको लागि पुग्दैन । संरचना अभावकै कारण कतिपय सेवा सुविधाहरु रोकिएका छन् ।’
हाल अस्पतालको नयाँ भवन निर्माणको क्रममा रहेको छ । भवन निर्माण ३० महिनामा बनिसक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भए पनि सम्झौता अनुसार काम नभएको अध्यक्ष खत्रीले बताए । २०७७ असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने अस्पताल भवनको हालसम्म ३० देखि ४० प्रतिशत काम पूरा भएको छ । अस्पतालमा दैनिक २ सय ५० बिरामी आउने गरे पनि भवन अभावका कारण समयमा नै सबैलाई उपचार गर्न नसकिएको उनको भनाई छ । उनले भवन अभावककै कारण अपरेशन थिएटर (ओटी) सेवा समेत सञ्चाल गर्न नसकिएको बताए । ओटी सेवा सञ्चालको लागि तिन वटै सरकारसँग पहल भइरहेको समेत उनको भनाई छ ।
कर्मचारी समस्या उस्तै
अस्पतालको अर्को मुख्य समस्या कर्मचारी अभावको हो । हाल अस्पतालमा कर्मचारी प¥याप्त छैनन् । अस्पतालमा सबै तहका कर्मचारीको समस्या रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. मनिष कुमार मिश्रले जानकारी दिए । अस्पतालमा ५३ जना कर्मचारीको दरवन्दी हो तर पनि हाल ३० जना मात्रै छौँ । उनले भने, ‘भएका कर्मचारी पनि सबै करारका हुन् । कर्मचारी अभावकै कारण कतिपय काम रोकिएका छन् ।’ हाल अस्पतालमा आफू बाहेक अरु सबै करारका कर्मचारी रहेको भन्दै उनले प¥याप्त जनशक्ति व्यवस्थापन भएको अवस्थामा राम्रो सेवा सुविधा दिन सकिने बताए । गत एक वर्षमा मात्रै हामीले ३९ हजार १ सय ७८ बिरामीले सेवा दिएका छौँ । उनले थपे, ‘दैनिक बिरामीहरुको संख्या बढिरहेको छ । तर भने अनुसारको सेवा दिन सकेका छैनौँ ।’ अस्पतालमा पूर्व सुर्खेतसहित जाजरकोट, रुकुम, डोल्पा सम्मका बिरामीहरु उपचारको लागि आउने गरेका छन् ।
२ वर्षदेखि एम्बुलेन्स थन्कियो
अस्पतालको एम्बुलेन्स अहिले दुई वर्षदेखि बिग्रिएर थन्किएको छ । तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र हुँदाको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा परिणत भएको दुई वर्ष बित्दासम्म नयाँ एम्बुलेन्स खरिद भएको छैन । भारत सरकारको सहयोगबाट सञ्चालनमा आएको एम्बुलेन्स किनेको दुई वर्षभित्रै बिग्रिएर काम नलाग्ने अवस्थामा परिणत भएपछि हाल अस्पतालमा एम्बुलेन्स नभएको अध्यक्ष खत्रीले बताए ।
अहिले अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । उनले भने, ‘गत वर्ष प्रदेश सरकारबाट एम्बुलेन्स खरिदको लागि बजेट छुट्याएको थियो । हामीले सबै प्रक्रिया पु¥याएर खरिदका लागि केन्द्रमा जाँदा २०७५ असार मसान्तसम्म खरिद प्रक्रिया रोकिएको सूचना जारी भएको कारणले किन्न सकेनौँ । त्यो पैसा त्यतिकै फ्रिज भयो ।’ साथै उनले यो वर्ष पनि प्रदेश सरकार र केन्द्र सरकारसँग एम्बुलेन्सका लागि पहल गरे पनि हालसम्म कुनै सुनुवाई नभएको जानकारी दिए । अस्पतालको आफ्नै एम्बुलेन्स नहुँदा बिरामीलाई अन्य क्षेत्रमा रिफर गर्दा संघसंस्थाका, प्रहरीका तथा सार्वजनिक गाडि माग्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।