सुर्खेत। बिहीबारदेखि शुरु भएको हिमपातले हिमाली क्षेत्रको जनजीवन निकै प्रभावित बनाएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण दोस्रो पटक परेको हिमपातले सिमकोटको वाल मन्दिर माध्यमिक विद्यालयमा आगो बालेर परीक्षा सञ्चालन गरिएको छ ।
शुक्रबारदेखि गाउँपालिकाका सबै विद्यालयमा शुरु भएको वार्षिक परीक्षामा सहभागी हुन विद्यालय आएका कक्षा १ र २ का विद्यार्थी चिसोले कामेपछि कक्षा कोठामै आगो बालेर परीक्षा सञ्चालन गरेको शिक्षिका पार्वती रावलले बताइन् । ‘आफ्ना अविभावकसँग विद्यालयमा आउने बित्तिकै सबै बालबालिका चिसोले रुन थालेपछि हामीले दाउरा खोजेर आगो बालेका हौं ।’ उनले थपिन्, ‘बीचमा आगो बालेर कक्षा १ का २५ र २ का १२ जना बालिकाहरूलाई पहिलो दिनको परीक्षामा सामेल गराइयो ।’ कक्षा कोठामा पुग्ने बित्तिकै पेन्सिल समात्नै नसक्ने अवस्था आएपछि आफू रोएको कक्षा १ मा अध्ययनरत सिमकोट गाउँपालिका–२ की सिम्रोन भण्डारीले बताइन् । मिसले आगो बालेपछि ताप्दै कापीमा लेखेकी भण्डारी यसरी नै हिउँ परेपछि अब स्कुल नआउने सोचमा छिन् ।
बिहानैदेखि एकनासले हिउँ परेपछि कक्षा ३ देखि माथिका विद्यार्थीलाई समेत लेख्न निकै गाह्रो भएको छ । बाहिर हिउँ परेपछि कक्षा कोठाभित्र लेख्न निकै समस्या भएको छ । हात कमाउँदै उत्तर पुस्तिकामा लेखिरहेका कक्षा ९ का सन्दिप जेठाराले भने, ‘चिसोले कापीमा कलमले समेत राम्रोसँग लेखिरहेका छैनन् ।’ लेख्दालेख्दै हातका औंला बाउडिने गरेको बताएका जेठाराले हातेपञ्जा, बाक्लो कपडा लगाएर पनि बेन्चमा बसेर परीक्षा दिन तीन घण्टाको समय निकै कष्टप्रद छ ।’
उता डोल्पा जिल्लाका विद्यालयले वार्षिक परीक्षा नै स्थगित गरेका छन् । हिमपातले अत्यधिक जाडो बढेपछि ठूलीभेरी नगरपालिकाअन्तर्गतका लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगति भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहानैदेखि लगातार परेको हिमपातले अत्यधिक चिसो बढेपछि परीक्षा स्थगित गरिएको हो ।
‘विद्यालयमै बाग्लो हिउँ जमेको छ, अत्यधिक चिसोका कारण विद्यार्थीलाई विद्यालय आउन सहज छैन । हिउँ निरन्तर परिरहेको छ । हिउँमै विद्यार्थी आइहाले पनि उत्तर पुस्तिकामा लेख्नसक्ने अवस्था छैन ।’ लक्ष्मी माध्यमिक विद्यालय थरगाउँका शिक्षक हरिस जोशीले भने, ‘चिसोमा परीक्षा सञ्चालन गर्न नसकिने बारेमा नगर शिक्षा शाखा, जिल्ला समन्वय समितिलाई जानकारी गराएपछि परीक्षा स्थगन भएको हो ।’ उनका अनुसार शुक्रबार स्थगित नेपालीको परीक्षा हिउँ पग्लेपछि आइतबार सञ्चालन गरिने छ ।
जाडो बढेपछि जुम्ला जिल्ला जिल्लाका आठवटै स्थानीय तहका विद्यालयमा सञ्चालन भएको वार्षिक परीक्षासमेत प्रभावित भएको छ । मंसिर १९ गतेबाट सञ्चालन भएको वार्षिक परीक्षा बीचमा रोक्न नमिल्ने भएपछि कक्षा कोठामा आगो बालेरै भए पनि परीक्षा सञ्चालन गरेको तिला गाउँपालिका–४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिए । निरन्तरको हिमपातले विद्यार्थीलाई लेख्न नसक्ने अवस्था भएकाले परिक्षालाई निरन्तरता दिने वा बीचमा स्थगित गर्ने भन्ने बारेमा छलफल शुरु भएको चन्दननाथ नमूना माध्यमिक विद्यालय खलङ्गाका प्रधानाध्यापक टङ्कबहादुर महतले बताए ।
जनजीवन प्रभावित
हिमपातले हुम्ला जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा हिउँ परे पनि खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाको जनजीवन निकै प्रभावित बनेको छ । सिमकोटमा एक फिट बढी हिउँ जमेको छ भने नाम्खाको लिमि, याल्वाङ्ग, मुचुमा झण्डै तीन फिट हिउँ जमेको छ ।
निरन्तर परेको हिउँले घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिका मुचुका लाप्का लामाले जानकारी दिए । उनका अनुसार मुचुमा यो समाचार तयार पारुञ्जेल साढे २ फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्किनसमेत समस्या भएको हो ।
हिउँले जिल्लाको लिमि, मुचुको तापक्रम माइनस १० पुगेको हुनपर्ने दाबी गरेका लामाले भने, ‘आज (शुक्रबार) बिहानैदेखि हिउँ परेर चिसो एकाएक बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाटसमेत बाहिर निस्कन पनि सकिएको छैन ।’ उनका अनुसार जाडोले पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।
त्यस्तै हिमपातले मुगु, जुम्ला र डोल्पाका उपल्लो क्षेत्रका पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न समेत कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसि डोल्पाका स्थानीय जुनराज रोकायले बताए ।
समिट एयर डोल्पामै रोकियो
हिमपातले शुक्रबार बिहान नेपालगञ्जदेखि डोल्पा उडेको समिट एयरको विमान जुफाल एयरर्पोटमै थुनिएको छ । नेपालगञ्जबाट शुक्रबार ६ः४० मा जुफालका लागि उडेको विमान मौसममा आएको परिवर्तनका कारण डोल्पामै थुनिएको समिट एयर नेपालगञ्जका प्रमुख सरोज उप्रेतीले जानकारी दिए । बिहान मौसम राम्रै भएकाले उडाइयो’ उनले भने, ‘विस्तारै नेपालगञ्जमा पानी प¥योपछि डोल्पामा हिमपात भएपछि जहाज डोल्पामै रह्यो ।’
हिमपातले जुम्ला, हुम्ला र मुगुमा बिहिबारदेखि कुनै विमानले उडान भर्न सकेका छैनन् । बिहीबार बिहानदेखि निरन्तर परेको हिमपातले हुम्लामा उडान भर्दै आएका तारा, सीता र समिट एयरका सबै उडान प्रभावित भएपछि स्थानीयलाई जिल्ला बाहिर जान र आउन समस्या भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।
जुम्ला र मुगुको हवाई सेवा समेत ठप्प भएको छ । जिल्लाबाट चल्ने लामो तथा छोटो दूरीका यातायातका साधन समेत हिमपातकै कारण ठप्प भएका छन् । हिउँसँगै अएको पानीले बाटो हिलो भएपछि सुर्खेतदेखि चल्ने जुम्ला र मुगु चल्ने गाडीसमेत अवरुद्ध भएका छन् । हिलो सडकमा गाडी गुडाउन नमिल्ने भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने यात्रुलाई समस्या भएको कर्णाली यातायात समितिका अध्यक्ष मिनबहादुर थापाले जनाकारी दिए ।
किसान खुशी
हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसानलाई भने खुशी बनाएको छ । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्यांग्राले सकाएको चिन्ता मानेका हुम्लाको अदानचुली, ताँजकोट, चंखेली र सर्केगाड, मुगुको शोरुकोट, खत्याडका किसान खुशी भएको शोरुकोट गाउँपालिका मुगुका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए । गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेमा दुःख मनाउ गरेका कृषकलाई यो हिमपातले धेरै राम्रो काम गरेको अदानचुली गाउँपालिका– १ का प्रिमे महतराले बताए । उनका अनुसार यो पटकको हिमपातले थोरै भए पनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।