जिल्ला सदरमुकाम खलङ्गाकोबीच बजार सञ्चालन भएको दिवा सेवा केन्द्र पछिल्लो समय जिल्लाका ज्येष्ठ नागरिकहरूको दिन काट्ने प्रभावकारी माध्यम बन्दै गएको छ । आफ्ना अनुभव साँटासाँट गर्ने, नाँचगान गर्ने र विभन्न विषयमा छलफल गर्ने भएपछि शारीरिक रुपमा काम गर्न नसक्ने, घर र आफन्तबाट प्रभावकारी स्याहार नपाएका पीडा भुलाउन उक्त केन्द्र सबै वृद्धवृद्धाको रोजाईको ठाउँ बनेको हो ।
चाउरी परेका अनुहार । कपाल फुलेर पूरै सेताम्य । झट्ट हेर्दा हिड्न पनि गाह्रो हुन्छ जस्तो लाग्ने जीवनको उत्तरार्धमा पुगेकाले मादल र हार्मोनीयमको तालमा नाच्ने गाउने गर्न थालेपछि आफ्ना सबै पीडा भुलाउने चौतारो बनेको जुम्लाका ज्येष्ठ नागरिकहरूले प्रतिक्रिया दिएका छन् । आफूहरू मादलको ताल र हार्मुनीयमको लयमा हलमा नाचेर जीवनभर आर्जेका दुःख र घरमा पाएका पीडालाई आफूबाट बाहिर निकाल्नकै लागि पनि संघको कार्यालयमा हरेक दिन आउने गरेको बताउँछन् ।
कोही तालीले साथ दिन्छौ कोही गलाले साथ दिन्छौं गुठिचौर–५ का ७० वर्षिय मीनबहादुर महतले भने, ‘यो त हाम्रालागि समय बिताउने ठाउँमात्रै नभएर जीवनको सहारा नै भएको छ ।’ हलमा आफूभन्दा अघि आएका जेष्ठ नागरिकसँग स्वरमा स्वर थप्दै सहभागिता जनाएका उनी भन्छन्, ‘गीत हाम्रो जीवन हो, संगित हाम्रो मनोरञ्जनको साथी हो भने जेष्ठ नागरिक संघ दमनका दुःख बिसाउने चौतारी हो ।’ बेलुका घरमा गएदेखि फर्किञ्जेलसम्म आफूले भोगेका पीडा, अभावले सम्झाएको विगत र विगतको यादमा तड्पिएको मनलाई लयमा फर्काउन पनि उनीजस्तै जुम्लाका जेष्ठ नागरिकहरू दिनको एक समय हलमा उपस्थित हुने गरेका छन् । ‘यहाँको हलभित्र पस्ने बित्तिकै म त बाहिर भोगेका र देखेका सबै दुःख बिर्सिन्छु ।’ गुठिचौर–५ कै ७० का मणिकृष्ण न्यौपानले भने, ‘साँच्चै भन्ने हो भने यो (जेष्ठ नागरिक संघको हल) एक दुःख बिसाउने साझा चौतारी नै बनेको छ ।’ कपाल फूलेर सेताम्य भएका न्यौपाने ढाकोबाट भित्र के छिरेका थिए । खैजडी बजाउदै गित गुनगुनाएः
कहिले ढल्छ थाह छैने, यो दुई दिने चोला,
नाचौं गाउँ रमाइलो गरौ, अब त जे सुकै होला
सँगै बसेका अन्य दौतरीलाई हौस्याउँदै अंगालो मारेका उनले मादलको धुनसँगै एकाकार हुन तान्दै गए । न्यौपानेको आग्रहलाई इन्कार गर्न नसकेका जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारती आफू बसेको ठाउँबाट जुरुक्क उठे । अनी सबैसँग छमछमी नाचेपछि हलमा भरिएका ज्येष्ठ नागरिक आफूलाई निकै तन्नेरी झैं गरेर कम्मर मर्काइ–मर्काइ नाचेँ । कहिले देउडा भाका त कहिले भ्mयारे, कहिले भजन गितमा नाच्ने उनीहरू बेला मौकामा जिल्लाको विकास, आफूले गरेका अनुभवदेखि पहिलेका इतिहासका बारेमासमेत निकै बेर कुराकानीमा भुल्थे । खलङ्गास्थित जेष्ठ नागरिक संघको कार्यालयमा दिवा सेवा सञ्चालनमा आएदेखि यहाँ सबैजसो वृद्धवृद्धा दिउसो जम्मा भएर यसरी नै रमाउने गरेका छन् ।
एक आपसका सुख दुःख साट्ने, आफ्नो लामो जीवनका भोगाई आदान–प्रदान गर्ने र वर्तमान राजनीतिक अवस्थाका बारेमा पनि उनीहरू लामो बहसमा समय बिताउछन् । ज्येष्ठ नागरिक संघ जुम्लाले कर्णाली प्रदेश सरकारको सहयोगमा थालेको दिवा सेवाले जुम्लाका वृद्धवृद्धालाई मनोरञ्जनसँगै दुःख बिसाउने काम गरेको छ । गएको साउन १ गतेदेखि सदरमुकाम खालङ्गामा दिवा सेवा सञ्चालनमा आएको हो । दैनिक २० देखि ६० जनासम्म जेष्ठ नागरिक भेला भएर हरेक विषयमा गन्थन गर्ने चौतारीकै रुपमा स्थापित भएको हो । '
हार्मोनियम, तबला, खैजडी, मादल सबै प्रकारका बाजा राखिएका छन् । हलमा कहिले देउडा र दोहोरी, कहिले साहित्य संगीत क्षेत्रको छलफल, कहिले राजनीतिकदेखि समसामयिक विषयमा छलफल हुने गर्छ । पहिले घरको पीढी, आँगन, बोटाघाटो, होटल, बजारमा अलपत्र अवस्थामा भेटिने जुम्ला सदरमुकाम खालङ्गाका ज्येष्ठ नागरिक अहिले संघले सञ्चालन गरेको कार्यालयको हलमा जम्मा हुने गरेका छन् । जिल्लाका ज्येष्ठ नागरिकका जीवनका पीडालाई उमंगमा बदल्न संघले गराएको जमघट सफल भएको अध्यक्ष भारती बताउछन् । उनी भन्छन, ‘सम्मानजनक अवस्थामा प्रक्रियावद्ध बसेर अन्तरपुस्तामा सीप हस्तान्तरण गर्न पाउँदा उपस्थित सबै वृद्धवृद्धा उत्साहित छौँ ।’ उनका अनुसार उमेरसँगै दुःख, कष्ट र पीडाले पाकेको जीवनलाई विषयान्तर गर्न र पुराना पीडाबाट ज्येष्ठ नागरिकलाई बाहिर निकाल्नकै लागि जुम्लामा पहिलो पटक यो प्रयत्न भएको हो ।
भारतले सीमा मिचेकोमा चासो
सँधै घरमा बस्दा हुने उराठ लाग्दो समयलाई रोचक ढंगले बिताउन शुरु गरेको जुम्लाका वृद्धवृद्धाहरू पछिल्लो समय भारतले नेपाली सीमा मिचेर बनाएको नक्साका बारेमा समेत चासो राख्ने गर्छन् । नाचगानबाट थकित भएको समयमा देशको सीमा उनीहरूको चिन्ता र चासोको विषय बन्ने गरेको छ । नाचगानबाट थकित भएपछि पढ्न जान्ने साक्षरले हलमा भएको पत्रिका समातेर सिलसिलेवार पढ्ने र पढ्न नजान्नेदेखि अन्य सबैले ध्यानपूर्वक सुन्ने गर्छन् । ‘पत्रिकामा आएको विषयदेखि भारतले मिचेको सिमानाका बारेमा पनि हामी निकै बेर छलफल गछौं ।’ संघका अध्यक्ष भारतीले भने, ‘हामीले सन्तानको जति माया लाग्छ त्यति नै हाम्रो मातृभूमिको माया पनि लाग्छ ।’ उनका अनुसार हलमा उपस्थित वृद्धवृद्धाबीच जिल्लाको कला, संस्कृति, आर्थिक, सामाजिक र राजनैतिक विषयमा सेमत छलफल हुन्छ । आफूहरूका बुढेसकालको अनुभव सुन्न पछिल्लो पुस्ता पनि आउने गरेको उनी बताउँछन् । रमाउछन् जान्छन् ।
छलफलकै बीचमा भारतले पहिले देखिनै नेपाललाई निकै दुःख दिएको प्रसंग निकालेका मणिकृष्णले सन्दर्भ उकास्दै भने, ‘१९५० को सुगौली सन्धीमा पूर्वमा टिष्टा र पश्चिममा काँकडासम्म नेपाल फैलिएको थियो । तर भारतीय मिचाइँ प्रवृत्ति र नेपालका नेताको अकर्मण्यताले नेपालको अस्तित्व संकटमा पर्दै गएको छ ।’ नेपाली नेताले न्याय निसाफ लिन नसकेको निष्कर्ष निकालेका उनले भारतको नक्सा नेपाली भूमिको मिचाइ गैरकानूनी भएको बताए । नेताहरूको भाषण र संविधानमा मात्र नेपाल सार्वभौमसत्ता सम्पन्न देश भनेर नपुग्ने बताएका वृद्धवृद्धाहरूले यसलाई व्यवहारमा कार्यान्वयन गर्न जोड दिए । सिमानाको विषयमा निकै गम्भीर बनेका जेष्ठ नागरिकहरूले एकैसाथ भने ,‘भारतले सहयोग गर्र्ने नाममा भूमि मिच्दैछ । जसका कारण सिमाना खुम्चिदँै गइरहेको छ । यो नेपाल र नेपालीका लागि सैह्य हुने विषय होइन ।’ ‘राष्ट्यिताको रक्षाका लागि चुनावमा म्याण्डेट दिएर जनप्रतिनिधि पठाइसकेका छौँ । उनीहरुले अनाज खानु प¥यो । हरेक क्षेत्रमा पक्षपात, ब्रह्मलुट भइरहेको छ । यो विषयमा हाम्रा नेताहरू दरो÷खरो बन्दिनु प¥यो ।’ भूतपूर्व नेपाली सेनासमेत रहेका चन्दननाथ–२ का ८० वर्षीय मनसुर भण्डारीले आक्रोश पोख्दै भने, ‘नेपाली भनेर कसैले हेप्न मिल्दैन । हडपेको जमिन तत्काल फिर्ता ल्याउनुपर्छ, यो हामी जुम्लाका सेतै फुलेकाको आग्रह हो ।’ राष्ट्र सञ्चालकको लापरबाहीले भारतले नेपाल माथि पटक–पटक दमन गरिरहेको आरोप उनले लागाए ।
बेथिति बढेकोमा चिन्ता
पछिल्लो समय देशका तीनवटै तहका सरकारले गरेको विकास निर्माणमा देखिएको अनियमितता, भ्रष्टाचार, कमिसनजस्ता विषयमा बेथिति बढेकोमा निकै चिन्ता व्यक्त गरेका छन् । ‘हाम्रो पालामा बाटोघाटो, कुला पदाँला, काठका लाप्का (पुल) आफै बनाउँथ्यौं । विकासे रकम कतैबाट आउँदैन थियो । आए पनि थोरै रकमले धेरै काम हुन्थ्यो । तर आज आएको बजेटको रुपैयाँ बिछ्याए बरु बाटो बन्छ तर काम गरेर केही हुँदैन ।’ गुठिचौर–३ का ८० वर्षीय लालसिंह बुढाले भने, ‘पहिले सिमित मान्छेले भ्रष्टाचार गर्थे, अहिले भ्रष्टाचार गर्ने मान्छे असिमित । पहिले जहाँतही अनुशासन थियो । अहिले जताजतै विकृति फैलिएको छ । सबैतिर छाडा भयो ।
जे काम शुरु हुन्छ अलपत्र अवस्थामै रहन्छ ।’ राणा, पञ्चायतका र अहिलेको शासनका बारेमा तुलना गरेका जुम्लाका ज्येष्ठ नागरिक शासन व्यवस्था अहिलेको राम्रो भए पनि त्यस अनुसार काम नभएको प्रति निकै दुखित छन् । बच्चा जन्मिदैं रकम आउने, घरकै ढोकामा उपचार पाइने अहिलेको व्यवस्था राम्रो भए पनि जुन रुपमा विकास निर्माणका काम अघि बढ्नु पर्ने हो त्यसो नभएकोमा व्यवस्थाको दिगो सञ्चालन प्रतिशंका समेत गर्छन् । लामो समय गोर्खालीलाई घ्यू, मह, देखि मार्सीको चामल माना उठाएर खुवाए पनि आफ्नो पालाको सरकारबाट कहिल्यै आफूले जस नपाएको अनुभव गरेका लालसिंह अहिलेको सरकार पहिलेको भन्दा निकै राम्रो भएको ठान्छन् । नेपालको भाषा, संस्कृतिको मुहान कर्णालीको जुम्ला नै भएको दाबी गरेका उनलाई पछिल्लो समय कर्णालीको रैथाने कला संस्कृति लोप हुन थालेकोमा निकै ठूलो चिन्ता छ । पछिल्लो समय ब्रम्हपुरी जुम्ला, देवपुरी हुम्लो भन्ने उखानको सार्थकता हराए झैं भाषा र संस्कृतिको उद्गम थलो कर्णाली हो भन्ने तथ्य पनि हराउनेमा चिन्ता व्यक्त गरेका मनसुरले कर्णालीको परम्परागत, रितिरिवाज र संस्कृति बचाउन स्थानीय र प्रदेश सरकारले गुरुयोजना निर्माण गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।