सुर्खेत । ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका एक हजारभन्दा बढी कागजात सम्बन्धित व्यक्ति लिन नआएपछि कार्यालयमै थन्किएका छन् । सवारी नियम उल्लंघनको आरोपमा विभिन्न समयमा कारबाहीमा परेका चालकले कागजात लिन नआएपछि ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा ती कागजातहरु थन्किएका हुन् ।
ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ५ हजार २ सय ४६ सवारी चालक कारबाहीमा परेका थिए । जसमध्ये हालसम्म ८ सय २० वटा कागजपत्र लिन सम्बन्धित सवारी चालक र सवारी धनी आएका छैनन् । त्यस्तै अघिल्लो आर्थिक वर्षका २ सय १६ वटा कागजपत्र लिन पनि सम्बन्धित व्यक्ति नआउँदा कार्यालयमै थन्किएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
किन आउँदैनन् कागजात लिन ?
सवारी नियम उल्लंघनको आरोपमा कागजात ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि लिन नआउनुको प्रमुख कारण नयाँ बनाउनु रहेको ट्राफिक प्रहरी बताउछन् । पुरानो कागजात लिँदा जरीवाना तिर्नुपर्ने हुँदा पनि धेरैले प्रतिलिपि लिने गरेको जिल्ला टा«फिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख तथा प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर सिंहले जानकारी दिए । ‘सुर्खेतमा कागजात समातिए काठमाडौँ, नेपालगञ्ज, बुटवललगायतका अन्यत्र ठाउँबाट प्रतिलिपि लिन्छन् ।’ उनले भने, ‘हराएको जानकारी दिए निवेदनको आधारमा नयाँ लिन पाइन्छ । त्यसैले पनि नआएका होलान् ।’ सिंहले लामो समयसम्म कागजात लिन नआए सम्बन्धित यातायात कार्यालयमा पठाउने बताए ।
अनलाइन प्रणाली नहुँदा समस्या
ट्राफिकले नियन्त्रणमा लिएका कागजपत्र अनलाइनमा राख्ने प्रणाली नहुँदा पनि समस्या पर्ने गरेको पाइएको छ । नियन्त्रणमा लिएका कागजात अनलाइनमा राख्दा हराएको बहानामा अर्को प्रतिलिपि लिन नपाउने टा«फिक प्रहरी नायव निरीक्षक सिंहले जानकारी दिए । उनले भने, ‘कतिपयले जरीवाना तिर्नुभन्दा नयाँ बनाउने हुनाले पुराना कागजात पेन्डिङमा हुन्छन्, अनलाइन प्रणालीमा जान सके कागजात भएर पनि नयाँ बनाउने गलत काम रोकिन्छ ।’
धेरै मोटरसाइकल र अटो
कागजात नलिनेमा अधिकांश मोटरसाइकल र अटो रिक्सा रहेका छन् । तथ्यांक अनुसार सुर्खेतमा कारबाहीमा परेका मोटरसाइकलमध्ये २ सय ७९ वटाको चालक अनुमति पत्र, बिलबुक ट्राफिक कार्यालयमा थन्किएको छ । जहाँ २ सय २४ चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मका छन् भने बाँकी ५५ वटा गत आर्थिक वर्षका छन् । मोटरसाइकलपछि अटो रिक्साका कागजातहरु धेरै थन्किएका छन् । तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कारबाहीमा परेका अटो रिक्साहरुमध्ये १ सय ७२ वटाले आफ्नो कागजपत्र नै लिएका छैनन् । भने ७ वटाले गत आर्थिक वर्ष २०७५/०७६ बाट नै लिएका छैनन् ।
६ लाख राजश्व उठ्न बाँकी
ट्राफिक प्रहरीले कारबाही गरेका सवारीले आफ्नो कागजपत्र समयमा नलिँदा ६ लाख बढीको राजश्व समयमा नै उठ्न सकेको छैन । तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कागजात नलिएका सवारीबाट ६ लाख १० हजार ५ सय रुपैयाँ उठ्न बाँकी छ । जसमध्ये कात्तिक महिनामा सबैभन्दा धेरै रहेको छ । कात्तिकमा ३ लाख ६४ हजार, असोजमा १ लाख ५४ हजार, भदौमा ५६ हजार ५ सय र साउन महिनामा ३६ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ ।