वसन्त भण्डारी
सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेको वीरेन्द्रनगर नगरपालिकाभित्रका ३४ वटा सडकमध्ये हाल तीन वटा सडकको मात्र काम शुरु भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले नगरभित्र गत आर्थिक वर्ष र यो वर्ष गरेर ३४ वटा सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकोमा चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म जम्मा तीन वटा सडकको काम शुरु भएको हो ।
गत वर्षका शुरु हुदैँ
गत आर्थिक वर्ष टेण्डर भएका नगरभित्रका आठमध्ये तीनवटा सडकको स्तरोन्नतिको काम शुरु भएको छ भने पाँच वटा सडक स्तरोन्नतिका लागि सम्झौता अभैm हुन सकेको छैन । निर्देशनालयका अनुसार उपत्यका सडक योजनाअन्तर्गत करिब चार करोडको लागतमा प्रदेश अस्पताल जाने बाटोको एक हजार एक सय मिटर सडक, प्रदेश महत्वको सडकअन्तर्गत चार करोड ११ लाखको लागतमा मंगलगढी काँक्रेविहार सडक खण्डको एक हजार ८ सय मिटर ग्रावेल गर्ने काम र एक करोड ५२ लाखको लागतमा चक्रपथ सडकअन्तर्गत बांगेशीमलदेखि फलाटेसम्म एक हजार तीन सय मिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ । गत वर्ष बजेट विनियोजन भएर पनि नगरभित्रका शिवालय चोकदेखि बसपार्कसम्म, जिल्ला प्रशासन कार्यालय लाइन, शिवालय चोकदेखि प्रदेश प्रहरी कार्यालयसम्म, गुरुङ चोकको पूर्व–पश्चिम र नेपाल टेलिकम हुँदै खारखोलीसम्मको सडक स्तरोन्नतिको काम अझै शुरु हुन सकेको छैन । ती पाँचवटा सडकको टेण्डर गत आर्थिक वर्षमै भएको तर हालसम्म सम्झौता नभएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अधिकृत शर्माका अनुसार गत आर्थिक वर्षको असार ३१ गते टेण्डर प्रक्रिया शुरु भए पनि मूल्याङ्कन र विदाका कारण यो महिना मात्रै सम्झौताको प्रक्रिया बढेको छ । आगामी पुस ११ भित्र निर्माण कम्पनीलाई सम्झौता गर्न पत्र पठाइएको शर्माले जानकारी दिए ।
चालु आर्थिक वर्षमा २६ थपिए, १९ सम्झौताको चरणमा
नगरभित्र चालु आर्थिक वर्षमा प्रदेश सरकारले २६ वटा सडकको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । जसमा प्रदेश राजधानी सडक र निर्वाचन प्रदेश सडकअन्तर्गत गरी वीरेन्द्रनगरका विभिन्न २६ वटा सडकका लागि बजेट विनियोजन गरिए पनि निर्माणको काम शुरु हुन सकेको छैन । यस आर्थिक वर्ष बजेट विनियोजन गरिएका २६ वटा मध्ये १४ वटा सडकको टेण्डर प्रक्रिया भई सम्झौताको चरणमा रहेको, सात वटा सडकको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको चरणमा रहेको र बाँकी प्रारम्भिक मूल्याङ्कनको प्रक्रियामा रहेको निर्देशनालयले जनाएको छ ।
५ वट पुल निर्माणको क्रममा
प्रदेश सरकारको बजेटमा वीरेन्द्रनगर नगरपालिकाभित्रका पाँचवटा साना पुलको निर्माण कार्य शुरु भएको छ । जसमध्ये वडा नम्बर ६ मा रहेको खारखोली खोलाको पुल, खोर्केखोला, नेवारेखोला, वडा नम्बर ९ मा रहेको इटौराखोला र गेरुवानी खोला गरि पाँचवटा पुल निर्माणको चरणमा रहेका छन् । जसमध्ये खोर्केखोलाको पुल र नेवारे खोलाका पुल गत आर्थिक वर्षबाटनै शुरु भएका हुन भने बाँकी पुलहरु यो आर्थिक वर्षमा मात्रै शुरु भएको अधिकृत शर्माले जानकारी दिए । निर्माण चरणमा रहेका पुलमध्ये गत आर्थिक वर्षमा शुरु भएका दुईवटा पुलको निर्माण कार्य चालु आर्थिक वर्षको फागुन मसान्तसम्म र अन्य चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य रहेको अधिकृत शर्माको भनाई छ । ५ पुलको लागि प्रदेश सरकारले ८ करोड ३७ लाख बजेट विनियोजन गरेको अधिकृत शर्माले जानकारी दिए ।
ढिलोगरी काम सुरु भयो
यता पूर्वाधार निर्देशनालयका इन्जिनियर सूर्यबहादुर शाहीले गत आर्थिक वर्षमा ढिलो गरी काम सुरु भएकाले टेण्डर प्रक्रियामै सिमित रहेको बताए । कार्यालय स्थापना भई व्यवस्थापन हु्ँदै आधा समय भइसकेको थियो । उनले भने, ‘बाँकी सयममा टेण्डर प्रक्रियाको काम मात्रै सुरु भयो ।’ साथै उनले चालु आर्थिक वर्षको सुरुदेखि नै काम भइरहेकाले उल्लेखनिय काम हुने बताए । हाल विभिन्न ठाउँका सडकहरुको कसैको निर्माण प्रक्रिया, कसैको टेण्डर प्रक्रिया,कसैको डिपिआरको काम भइरहेकाले समयमा नै काम सकिने विश्वास व्यक्त गरे ।
गत आर्थिक बर्षमा सडक निर्माण तर्फ भौतिक प्रगति गर्न नसकेपनि चालु आर्थिक वर्षमा झण्डै ८० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य रहेको इन्जिनियर शाहीले बताए । गत आर्थिक वर्षमा पूर्वाधार कार्यालय स्थापना गर्नै मंसिर बितिसकेको थियो । उनले भने, ‘कर्मचारीको व्यवस्थापन हुनै फागुन महिना बितिसकेको थियो । त्यसपछिको बाँकी महिनामा टेण्डर प्रक्रियाको काम मात्रै गर्न सकियो ।’