जुम्ला । यसै पनि विमानस्थलमा सुरक्षा व्यवस्था चेकजाँच निकै कडा हुन्छ । कानूनले बर्जित गरेका कुरा सजिलै ओसारपोसार गर्न कसैले सक्दैनन् । तर जुम्ला विमानस्थलबाटै प्रहरीले लागूऔषध ब्राउन सुगर बरामद गरेको छ । विमानबाटै लागू औषध ओसार–पोसार हुने गरेको गुनासो आएपछि प्रहरीले गत हप्ता विमानस्थलमा निगरानी बढायौं, डिएसपी लालबहादुर धामीले भने, जुम्ला जस्तो हिमाली ठाउँमा लागूऔषध विमानबाट भित्रिन्छ भन्ने कुरा पत्यारो लागेको थिएन । तर, पनि जनगुनासोलाई मध्यनजर गर्दै हामीले निगरानी गरिरहेका थियौँ ।
अन्तत, गतहप्ता जुम्ला विमानस्थलको टर्मिनल भवन भित्रबाटै लागू औषध (ब्राउन सुगर) बरामत गर्न सफल भएको बताए । कार्टुनमा सुन्तलाभित्र राखेर ब्राउन सुगर भित्र्याएको प्रहरी पत्ता लगाएको हो ।
गएको बुधबार अपरान्ह ४ः३० बजे सीता एयरलाइन्सको जहाजमार्फत् शिलबन्दी गरी जुम्ला ल्याइएको कार्टुनमा लागूऔषध भेटिएको थियो डिएसपी धामीले भने शिलबन्द १२ दाना सुन्तला, साबुन र स्याम्पुका डिब्बा राखिएको र डिब्बाभित्र कण्डमको टुक्राभित्र ८ वटा कालो प्लाष्टिकको पुरिया बनाइ लुकाईछिपाइ राखिएको ६ ग्राम लागूऔषधि ब्राउन सुगर प्रहरीले विषेश सूचनाको आधारमा फेला पारेको हो ।
सोमबार पत्रकार सम्मेलनमार्फत् जुम्लामा पछिल्लो समय विमानबाटै लागू औषध भित्रिने गरेको सार्वजनिक गरिएको हो । भने विमानमार्फत् लागूऔषध ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । शिलबन्दी सामान पठाउने, जुम्लामा उक्त सामान संकलन गर्नेलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उनीहरूको नाम भने गोप्य राखिएको छ ।
त्यसअघि प्रहरीले मंसिर १७ गते तीला गाउँपालिका–३ कुडारीस्थित सडकखण्डमा एक ग्राम लागूऔषध ब्राउन सुगरसहित एकजना बालकलाई प्रहरीले पक्राउ गरेको गरेको थियो । ती बालकको बयानका आधारमा थप तीनजनालाई पक्राउ गरेको डिएसपी धामीले बताए ।
हाल लागू औषध ओसार पोसार तथा प्रयोकर्ताका रुपमा चारजना व्यक्ति पक्राउ गरिएको छ । तर, यो विषयलाई अनुसन्धान गरी थप १० जनाजति प्रकाउ पर्ने सम्भावना रहेकाले अभियुक्तहरूको नाम सार्वजानिक नगरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय हिमाली जिल्ला जुम्लामा लागूऔषध विमानबाटै भित्रिने गरेको छ । यो निकै खतरा हो, जुम्लामा लागू औषधको बढ्दो प्रयोगले युवामा लत लागेको छ । जुम्लामा लागूऔषध भित्र्याउन तरिका पनि फरक हुने गरेको भेटिएको छ । जुम्लामा लागूऔषध फलफूलको काटुनमा लुकाएर ल्याउन गरेको डिएसपी धामीले बताए ।
लागूऔषध सुन्तलाको कार्टुनमा नेपालगञ्ज हुँदैं जुम्ला विमानस्थलमा आइपुग्दो रहेछ डिएसपी धामीले भने, फलफुलका कार्टुनमा प्याक गरी पठाउने ठुलै गृह छ । भने, प्रहरीले लागूऔषधसहित उनीहरूले बिक्री गरेर साथमा राखेको ५० हजार नगद पनि बरामत गरेको छ ।