सिरहा। डोजर लगाएर जमिन्दारले घर भत्काएका सिरहा नगरपालिका-६ बसपिट्टाका दलित परिवार आन्दोलित भएका छन्। स–साना बालबालिकासहित उनीहरूले आज सिरहा सदरमुकाममा प्रदर्शन गरेका छन्।
घर भत्काएपछि बिच्चलीमा परेका परिवारसँगै दलित अगुवाहरूले सदरमुकाममा पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले यसरी उठिबास हुने अवस्थाको अन्त्य हुनुपर्ने, दलितमाथिको छूवाछूत र भेदभाव हट्नुपर्ने लगायतका मागसहित नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।
उनीहरूले सिरहा नगरपालिकाका मेयर अशेश्वरप्रसाद यादव र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।
अत्याधिक चिसोले जनजीवन कष्टकर बनेका बेला सिरहा नगरपालिका–६, बसपिट्टाका पाँच दलित परिवारको घर जमिन्दारले डोजर लगाएर भत्काइदिएपछि उनीहरू बिचल्लीमा परेका छन्। बसपिट्टाका समतोलिया महरा, रामजी महरा, फुलचो महरा, राजकुमार महरा, रामवृक्ष महराको घरमा डोजर चलाइएको हो।
स्थानीय शोभितकुमार पासवानले जमिन्दारले प्रहरीको सहयोगमा दलित बस्तीमा डोजर चलाएको बताए। “प्रहरी र अदालतको सहयोगमा यो जाडोको समयमा दलित परिवारलाई घरवारविहीन बनाएर बिचल्लीमा पारिएको छ,” उनले भने, “यस्ता अमानवीय कामको विरुद्धमा आन्दोलन गर्नु परेको हो।”
अर्का दलित अगुवा अशेष गोइतले ‘भू-माफिया’ को योजनामा दलित परिवारको घरजग्गा खोसिएको बताए।
साभार देखापढी डटकम