जुम्ला – लामो समयमो चर्चापरिचर्चा पछि एमबीबीएस र एमडीजीपीको पढाइ अब जुम्लामै हुने भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौँ सिनेट बैठकले जुम्लामा एमबीबीएस र एमडीजीपीको कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको सहमतिमा स्वास्थ्य जनसङ्ख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाण्डौमा बसेको बैठकले कर्णाली प्रतिष्ठानमा एमबीबीएस र एमडीजीपी सञ्चालन गर्ने निर्णय गरको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए ।
उहाँका अनुसार प्रतिष्ठानले उठाएको प्रस्ताव नम्बर ५ को निर्णयअनुसार कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु एमबीबीएस, एमडीजीपी जनरल, एम एस अर्थोपेडिक्स, एमडी इन एनेस्थियोलोजी, एमडी एण्ड पेड्यिाडिक्स, एमडी गाइनोकोलोजी, एमएसी इपिडिमियोलोजी, ब्याचलर न्युट्रेसन र फारमेसीका कार्यक्रमहरु सञ्चालनगर्ने निर्णय गरिएको हो ।
यसैगरी उच्चस्तरका शैक्षिक कार्यक्रमहरुसहित १२ वटा प्रस्तावहरु सहमति पारित गरिएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लले बताए । उनका अनुसार प्रतिष्ठानको संशोधित नियमावली बजेटसहित पारित भएका छन् । यसैगरी प्रतिष्ठानको बहुवर्षीय योजनासमेत पारित भएको प्रतिष्ठानका रजिस्ट्रार काफ्ले थपे ।
प्रतिष्ठानले एमबीबीएस र एमडीजीपीको अध्ययन सुरु गर्ने निणर्यपछि कर्णालीवासी खुशी भएका छन् । प्रतिष्ठानको यो सिनेट बैठकले अब कर्णालीको विकासमा अर्को आयम थपिएको प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिक्रिया दिए । यद्यपि शैक्षिक उच्च तहका कार्यक्रमलाई भने चिकित्सा शिक्षा आयोगले स्वीकृति दिनुपर्दछ ।
यसअघि एचए, स्टाफनर्सिङ, बीपीएच लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसैगरी प्रतिष्ठानको सिनेट बैठकले छनोट समितिको अध्यक्षमा प्रा। डा। गणेश गुरुङ र सदस्यमा डा। तरुण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।