काठमाडौं । सर्लाहीमा मिटर ब्याजको अर्को घटना सार्वजनिक भएको छ ।
ब्याजमा घरजग्गाको कागज बनाउने र नगद समेत लिएर झन्डै ५ सयभन्दा बढी मानिस पीडित भएका छन् ।
सर्लाही बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय शाह रौनियारले ऋण दिए बापत जग्गा बन्धक राख्नेमात्र होईन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका पाइएको हो ।
सर्लाहीका ५ सयभन्दा बढी मानिसलाई ब्याजमा ऋण दिएर घरजग्गा फिर्ता नगर्दा उनीहरु पीडित भएका हुन् ।
एकजना पीडित रविन्द्र कुशवहाले ब्यापार गर्नका लागि सञ्जय साह रौनियारसँग जग्गा धितो राखेर व्याजमा ऋण लिएको र पछि पैसा फिर्ता गर्न जाँदा साहुले फिर्ता नगर्दा आफूहरु समस्यामा परेको बताए ।
आज बिहान कुराकानी गर्दै सर्लाहीका कुशवाहले भन्भने, ‘मैले सञ्जय कुमार रौनियारसँग एक करोड रुपैयाँ ऋण लिएको थिए । ऋण लिएको एक वर्ष नपुग्दै मैले धितोमा राखेको जग्गा उनले बेच्न थाले । त्यसपछि मैले उनलाई सम्पर्क गरेँ । मैले उनको व्याज पनि तिरिसकेको थिएँ । उनले जग्गा बेच्न जरुरी नै थिएन ।’
कुशवाहले अगाडि भने, ‘मैले तमसुक गरेर उनीसँग ऋण लिएको थिएँ । मलाई ऋण दिंदा ३६ प्रतिशत मात्र ब्याज भनिएको थियो । एक वर्षपछि उनको पैसा तिर्न जाँदा उहाँले प्रत्येक महिनाको ब्याजलाई साँवा बनाएर हिसाब गर्नुभयो । एक वर्षमा उहाँले एक करोड ऋणको दुई करोड ८६ लाख पु¥याए । मैले उहाँलाई यति धेरै ब्याज हुँदैन यो त डेढसय प्रतिशत ब्याज भयो त भनेर भनें तर उहाँले मेरो सिस्टम नै यहि हो भने।’
कुशवाले आफूमात्रै नभइ महोत्तरी, धनुषा लगायतका जिल्लाका अन्य नागरिक पनि ठगिएका बताए । नजेपानलबोटको सम्पर्कमा आएका अर्का पीडित शत्रुधन साहले भने, ‘मैले डेढ करोड ऋण उहाँसँग लिएको थिएँ । मेरो घरजग्गा सबै डुब्यो । म अहिले सडकमा आईपुगेको छु ।’
पीडितका अनुसार यसरी ठगीने सर्लाही जिल्लाका मात्रै १५ सयजना रहेका छन् । साहुले घरजग्गा खोसिदिएपछि करिब सयजना पीडित हिजो काठमाडौं आइपुगेका छन् ।
नेकपाका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको पहलमा काठमाडौं आएका पीडितहरूले आफ्ना गुनासा प्रधानमन्त्री केपी ओली र विभिन्न दलका नेताहरूलाई सुनाउने योजना बनाएका छन् ।
हिजै खुमलटार पुगेर उनीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । त्यस्तै उनीहरूले गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि भेटेका थिए ।
आज गृहमन्त्रालयमा गुनासो लिएर जाने पीडितको तयारी छ । यसअघि सर्लाहीकै श्याम परदेशी भन्ने साहुले झन्डै ५ सय जनालाई मिटर ब्याजमा ऋण दिएर करोडौं रकम ठगी गरेको घटना सार्वजनिक भएको थियो ।