सुर्खेत । कर्णालीमा कुनै पनि बेला ठूलो भूकम्प जानसक्ने जोखिम बढ्दै गएकाले यसको पूर्व तयारीमा लाग्न भूकम्प सम्बन्धी जानकारहरूले आग्रह गरेका छन् । गएका ५ सय १६ वर्ष यता नेपालको लमजुङ्ग–रामेछाप जिल्लायताको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलभन्दा ठूला भूकम्प नगएकाले पनि यस क्षेत्रमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्ने भन्दै यसतर्फ कर्णालीमा समेत भूकम्पीय सुरक्षाको पूर्व तयारीमा ध्यान दिन भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख तथा भूकम्पविद् दीपक बस्नेतले सुझाव दिए ।
‘स–साना भूकम्प गए पनि कर्णाली क्षेत्रमा ठूलो रेक्टर स्केलका भूकम्प नगएको ५ सय १६ वर्ष भईसकेको छ ।’ उनले भने, ‘कर्णालीमा कुनै पनि बेला ठूलो भूकम्प जानसक्छ हामीले आवश्यक पूर्व तयारीमा ध्यान दिन जरुरी छ ।’
उनका अनुसार ५ सय १६ वर्षअघि नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
बस्नेतले भने, ‘नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प नगएको ५१६ वर्ष भईसकेको तथ्यांक छ ।’ सयौँ वर्ष लामो समयसम्म पनि ठूलो भूकम्प नजाँदा पृथ्वीको गर्भमा भूकम्पीय शक्ति संचय भईराख्ने र ठूलो भूकम्प जुनसुकै समयमा पनि आउन सक्ने खतरा भएकाले यसबाट हुने क्षतीलाई कम गराउन हामीले अहिले देखिनै पूर्व तयारी थाल्नुपर्ने सुझाव उनले दिए ।
९ महिनामा ७ भूकम्प
कर्णाली प्रदेशका जिल्लाहरुलाई केन्द्रविन्दु बनाएर चालु वर्षको पुससम्म ९ महिनामा ७ वटा साना भूकम्प गएका छन् । खासगरी कर्णालीका मुगु, हुम्ला, जाजरकोटलगायतका जिल्लालाई केन्द्रविन्दु बनाएर वैशाखदेखि पुससम्म ५ रेक्टर स्केलसम्मका साना भूकम्पहरु आएका हुन् ।
९ महिनाको समयमा मुगु र हुम्लामा दुई पटक तथा रुकुम, जाजरकोट र दैलेख जिल्लालाई केन्द्रविन्दु बनाएर एक–एक पटक ५ रेक्टर स्केलसम्मका साना भूकम्प गएका छन् । ६ रेक्टर स्केलभन्दा तलका भूकम्पमा मानवीय तथा भौतिक क्षति एकदम न्यून हुने भूकम्पविद्हरुको भनाई छ ।
वैशाखमा दैलेख, जेठमा मुगु र जाजरकोट, भदौमा हुम्ला, असोजमा रुकुम र हुम्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएका छन् । यसैगरी, कात्तिकमा मुगुलाई केन्द्रविन्दु बनाएर कर्णाली प्रदेशमा वैशाख यता ७ वटा ५ रेक्टरस्केल क्षमताका साना भूकम्पहरु गएका हुन् ।
भूकम्पीय जोखिमका रुपमा नेपाल ११औँ स्थानमा छ । लमजुङ्ग–रामेछाप जिल्ला यताको नेपालको पश्चिमी भू–भागलाई भूकम्पीय जोखिम क्षेत्रका रुपमा लिइन्छ ।
‘नेपालको पश्चिमी भू–भाग भूकम्पीय जोखिममा छ’, भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख तथा भूकम्पविद् दीपक बस्नेतले भने, ‘नेपालको पश्चिमी भू–भागलाई केन्द्रविन्दु बनाएर यहाँ सयौँ वर्षयता ६ रेक्टर स्केलभन्दा ठूलो भूकम्प गएको छैन । त्यसैले पनि पश्चिमी क्षेत्र जोखिम मानिन्छ ।’
भूकम्पका कारण मानवीय क्षति नहुनेमा प्रष्ट पार्दै उनले भने, ‘भूकम्पले मानवीय क्षति गर्दैन । भूकम्पका समयमा हामीले बनाएका कमजोर भौतिक संरचनाहरुले मानवीय क्षति पु¥याउने हुन्छ ।’ भूकम्पबाट पहिल्यै सावधानी अपनाउँदै भवनहरु आचारसंहितापूर्वक बनाउनुपर्ने उनले बताए ।
उनले भने, ‘भवन आचारसंहितालाई कडाइका साथ नियमपूर्वक लागू गरिनुपर्छ ।’ स्थानीय निकायहरुले समेत नागरिकले घर–भवन निर्माण गर्दा कडाईका साथ भवन आचारसंहिता पूरा गरेनगरेको बारेमा अवलोकन गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘भूकम्पको क्षति न्यूनीकरणको एक मात्र उपाय पूर्व तयारी हो । हामीले क्षति न्यूनीकरण गर्न सक्छौ, रोक्न सक्दैनौँ ।’
साथै भूकम्पीय विषयमा लगानीको पनि आवश्यक रहेको उनले बताए । भुकम्पीय क्षति न्यूनीकरणका लागि विभिन्न योजनाहरुमा लागि लगानी गरिनुपर्छ,’ उनले भने ।
नेपालमा २०७२ वैशाख १२ गते लगभग ३४ किमी (२१ माइल) पूर्व–दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । करिब ९ हजार भन्दा धेरैको ज्यान लिने गरी गएको भूकम्प पश्चात् नेपालमा ४५ हजारभन्दा धेरै पटक भूकम्पका साना ठूला पराकम्पहरुका गएका छन् ।