नवलपरासी — माघे संक्रान्तिका अवसरमा यहाँको पवित्र तीर्थस्थल त्रिवेणीधाममा भक्तजनहरुको घुइँचो लागेको छ । सिमावर्ती क्षेत्रमा त्रिवेणी रहेका कारण नेपाल-भारतका हजारौं भक्तजन मंगलबार रातिदेखि नै यहाँ भेला भएका हुन् ।
स्वर्णभद्रा , पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीमा माघे संक्रान्तिमा नुहाएर पूजा गर्नाले मोक्ष प्राप्ति हुने भक्तजनहरु विश्वास गर्छन्। त्रिवेणीधाममा पौराणीककालका तथ्य जोडिएका एक सयभन्दा बढी मठमन्दिर, पाटीपौवा सत्तल र स्थानघाट छन्।
नारायणी नदीपारि रहेको वाल्मीकि आश्रममा पनि बुधबार बिहानैदेखि भक्तजनहरुको चाप उत्तिकै रहेको स्थानीय प्रेमचन्द्र रौनियारले जानकारी दिए। त्रिवेणीधामको उत्तरमा रहेको गजेन्द्रमोक्ष दिव्यधाममा हजारौं भक्तजनहरुले धुनी जगाएर रात बिताए। भारतीय सीमाबाट उत्तर २ किलोमिटर दूरीमा त्रिवेणीधाम रहेकाले भारतीय तीीर्थालुहरुको हरेक वर्ष भीड लाग्ने गर्छ।
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले मेला अवधिमा त्रिवेणीधाममा मदिराजन्य वस्तुको बिक्री वितरणमा रोक लगाएको छ। तिर्थालुहरु व्यवस्थित गराउन विनयी त्रिवेणी गाउँपालिका स्थानीय प्रशासन र मठमन्दिरहरुले स्वयंसेवक परिचालन गरेको गाउँपालिका अध्यक्ष डम्बर जिसीले जानकारी दिए।
सोमबार सुरु भएको त्रिवेणीमेला बुधबार राति सकिन्छ। माघे संक्रान्तिभन्दा ३ दिन अगावैदेखि टाढाटाढाका भक्तजनहरु त्रिवेणीधाममा आएर स्नान गर्ने र पूजाआजा गर्ने चलन छ।