हुम्ला । हिमाली जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । कर्णाली कोरिडोर अन्तरगत निर्मार्णाधिन हुम्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने कवाडी खोलाको बेलिबिज्रको निर्माणको काम सकिएपछि औपचारिक रुपमा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।
दुई जिल्लाको सिमानाको उक्त पुल बनेसँगै देशका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । गएको असोज महिनामा काम सम्पन्न हुने गरी बेलिबिज्र पुल निर्माण भए पनि वर्षात्मा सामान ढुवानी गर्न र पुल जडानका काममा समस्या भएकाले अहिले पुल निर्माण सम्पन्न भएको हो ।
कवाडी नदिमा बेलिबिज्रको कामसम्पन्न भएर हुम्लाको दक्षिणी क्षेत्रमा गाडि पुग्ने भएपछि स्थानीय नागरिकमा खुशी छाएको अदानचुली गाउपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए । हुम्ला र बाजुराको सिमानामा पर्ने अदानचुली गाउँपालिकाका स्थानीय वासिन्दासमेत भएका अध्यक्ष फडेराले भने, ‘कवाडीको बेलिब्रीज बनेपछि वास्तवमै हामी काठमाडौंसँग सिधा सम्पर्कमा जोडिएको अनुभव भएको छ ।’
उत्तरी छिमेकी मुलुक चिनको स्वाशाशित क्षेत्र तिब्बतबाट जोडिएको हिल्सा–सिमकोत र लिमि–लाप्चाको सडक निर्माण भएर जिल्ला सदरमुकाम सिमकोट सडक पहुँचमा जोडिएर गएको केही वर्षयता ट्रयाक्टर र ससाना जिप सञ्चालनमा आएको भए पनि जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन । कर्णाली राजमार्ग अन्तरगत गमगढी–दार्मा–देउली सडक खण्डमा ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माण काम गरिरहेको बेला कवाडीको पुल बनेर जिल्लाका तीन वटा गाउँपालिका औपचारिक रुपमा राष्ट्रिय राजमार्गसँग जोडिएको सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाको तिथिचौर क्याम्पका सह–सेनानी शंकर सिलवाले वताए । उनका अनुसार पुल निमाण कार्य सम्पन्न भएसँगै अबको एक महिना भित्र हुम्लाको अदानचुली गाँउपालिकाको गल्फागाडसम्म यातायात सञ्चालन हुनेछ ।
कवाडी नदिमा बेलिबिज्र बनेपछि हुम्ला र बाजुराको सिमानादेखि कम्तीमा १६ किलोमिटर यातायात सञ्चालनमा आउँछ ।’ सेनानी सिलवालले भने, ‘बाँकी सडक निर्माणको काम तीब्र गतिमा अघि बढिरहेको छ ।’
टुट्ने भयो पैदल यात्रा
हुम्लाको दक्षिण क्षेत्र राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि लामो समय पैदलमै आवतजावत गरिरहेका स्थानीय वासिन्दाको पैदल यात्रा टुट्दै जाने भएको छ । घरबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौंदेखि कामको खोजिमा मुग्लान जान पनि ३÷४ दिनको पैदल हिड्नैपर्ने आफ्नो बाध्यता सडक बनेसँगै अन्त्य हुने अदानचुली–१ का जकती लुवारले बताए ।
अस्पताल पुग्ने यातायात नहुँदा विष सेवन गरेकी आफ्नी श्रीमती गुमाएका लुवारले कर्णालीपत्रसँग भने, बाटो भनेपछि अब कम्तीमा अकालमा हामीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेभयो ।’ उपचारका लागि सुविधा सम्पन्न अस्पताल जान २÷३ दिनको पैदल हिडेर बाजुरा र कालीकोट जानु पर्ने महंगो जहाज चढ्न ३ दिनको पैदल दुरीमा सदरमुकाम सिमकोट र २ दिनको पैदल दुरीमा बाजुराको कोल्टी जानु परेको बताएका अदनचुली—४ का दिबहादुर रोकायाले ढिलै भए पनि आफ्नो सडकको सपना पूरा भएकोमा खुशी व्यक्त गरे ।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोरको कालीकोटको लालुदेखि हुम्लाको सलिसल्ला सडक खण्डको दूरी १ सय ४५ किलोमिटर छ । जसमध्ये कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सडक निर्माणको जिम्मा २०७१ चैतबाट निर्माण शुरु गरेको थियो ।
यो सडकको लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटतालगायतका कारण देखाउँदै सरकारले २०७१ मा विशेष परिस्थितिको सडकका रुपमा परिभाषित गर्दै यसको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । यस सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।